बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए ।

लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ ।

हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

संसद सञ्चालनको प्रयास : कांग्रेस नेताहरुसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन् । संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्रीले समस्याको समाधान खोज्ने प्रयास गरेका हुन् ।

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।हिजोदेखि जारी बैठकमा आज बोल्न बाँकी रहेका नेताहरूले धारणा राख्नेछन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ। पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हिजोको बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा धारणा राखेका थिए। यस्तै, महासचिव घनश्याम भुसालले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए। यसैबीच, स्थायी कमिटी बैठक पछि आजै साँझ पोलिटब्यूरो बैठक पनि बोलाइएको छ।

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताएका छन् ।शनिबार महालक्ष्मी नगरपालिका वडा नम्बर १० को नवनिर्मित भवन उद्घाटन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् । सभामुख घिमिरेले संघीयता मुलुकका लागि उचित छैन भन्नेहरुलाई जवाफ दिनेगरी पछाडि परेको समूदायलाई प्राथमिकता दिने खालको कामहरु मुलुकमा भईरहेको बताए। उनले ललितपुरको महालक्ष्मी नगरपालिका अन्तरगतको वडा नम्बर १० पछि परेको क्षेत्र भएपनि संघीयताका कारण सो क्षेत्रमा पनि प्राथमिकताका साथ विकास, निर्माणको कामले गति लिन सम्भव भएको स्पष्ट पारे। सभामुख घिमिरेले सघीयताले गरिवी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि कमी भएको ठाउँमा प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने कुरालाई अघि ल्याएको पनि स्मरण गराए त्यस अवसरमा सभामुख घिमिरेले संघीयताले दिएको अधिकार कार्यान्वयनमा महालक्ष्मी नगरपालिकाले खेल्दै आएको भुमिकाको प्रशंशा समेत गरे।

नक्सालमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिका शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा शुक्रबार प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नयाँपुस्तालाई कलामार्फत जोड्ने कामले समाजमा सकारात्मक परिणाम दिने विचार व्यक्त गरे । काठमाडौं महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम÷कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको उनले बताए ।   कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको जिकिर गर्दै समाजमा सचेत र सकारात्मक विचार प्रवाह गर्न कलाको भूमिका विशिष्ट रहने धारणा राखे । उनले भने, ‘शिक्षा र सिप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यसलाई अझै प्रभावकारी ढंगले लैजानुपर्ने दायित्य छ ।’ उनले राष्ट्र निर्माणमा कलाको भूमिका विशिष्ट रहने भएकाले यसमा महानगर र यसको नेतृत्वले लिएको सोचलाई व्यापक बनाउनुपर्ने जिकिर गरे । कुलपति हार्तम्छालीले यस कार्यक्रममा जोडिने सबैप्रति आभार व्यक्तसमेत गरे । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताए । उनले यस कार्यक्रमले कलाक्षेत्रमा मात्रै नभइ रोजगारी र अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरी परिणाम दिएको धारणा व्यक्त गरे । थुम्केलीले महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए ।  उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरुमा गाह्रो देखिए तापनि त्यसको नतिजा देख्दा खुसी लागेको बताइन् । उनले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद ।’ काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य ई.शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताए । उनले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक(बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला राखिएको बताइन् । उनले कार्यक्रम सफल बनाउन विद्यार्थी, प्रशिक्षक, सहप्रशिक्षक र विद्यालय परिवारलगायत सबैको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरिन् । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समाज रुपान्तरणमा कलाको भूमिका जहिले पनि विशिष्ट रहँदै आएको जनाए । उनले महानगरले लिएको योजनाले राम्रो परिणाम दिन सफल भएको बताए । सो समारोहमा प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, संजय वान्तवा राई, दिनेश्वर महतो, अरुणा हिङमाङ, नरेन्द्रप्रसाद भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दुर्गानारायण ढकाल, अग्रज कलाकार राधेश्याम मुल्मी, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कलाकार सम्झना राजभण्डारी, रसिक राज, सन्तोष राई, सोनी राई, उमा खड्कालगायतको उपस्थिति रहेको थियो ।   वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहिद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीले सिर्जना गरेका कलाकृति राखिएको छ ।  

लोकप्रिय