विदेशबाट गाई ल्याउन उपयुक्त नहुने विज्ञको सुझाव

विदेशबाट गाई ल्याउन उपयुक्त नहुने विज्ञको सुझाव

चितवन, चैत ३ । विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रुण वा विर्य ल्याएर यहीँको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यले सम्भवत सरकारले स्वदेशमै भ्रुण उत्पादनमा जोड दिनुपर्छ भने । गाईभन्दा भ्रुण विदेशबाट ल्याउँदा राम्रो हुने धारणा उनको छ । गाई बाहिरबाट ल्याउनु नश्ल सुधारको प्रविधि नभएको बताउँदै प्रमुख डा आचार्यले अहिले नेपालमा बाहिरबाट गाई ल्याउनुपर्ने अवस्था नरहेको भने । बाहिरबाट ल्याउने गाईको उत्पादन र आहार व्यवस्थापन के कस्तो छ ? त्यस्ता गाईका लागि आवश्यक पर्ने हावापानी यहाँ छ कि छैन ? यी सबै कुरा यहाँका विज्ञलाई थाहा नभएकाले गाई ल्याउँदा जोखिम हुन सक्ने उनले बताए ।

नेपालमा नै नश्ल सुधार गरेर उत्पादन बढाउन सकिने आचार्यको भनाइ छ । उनले भने, “बाहिरबाट गाई ल्याउने नै हो भने पहिलो चरणमा सरकारी फारममा राखेर दुई वर्ष हेर्न जरुरत छ ।” गाईले यहाँको वातावरणमा घुलमिल गर्न सक्छ या सक्दैन अनुसन्धान गरेर मात्र कृषक तहमा ल्याउनुपर्ने हुन्छ । आचार्यले जस्ता गाई ल्याउन खोजिएको छ, त्यस्तै गाई यही उत्पादन गर्न सकिने भएकाले ल्याउनुभन्दा यही काम गर्न लगाउनु उपयुक्त हुने पनि बताए ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोले बाहिरबाट गाई ल्याउनु दीर्घकालीन हुन नसक्ने बताए । नेपालकै गाई छनोट गरी थोरैमात्रामा स्थानीय गुण र बाँकी उन्नत गुण समायोजन गरेर राम्रो गाई उत्पादन गर्न सकिने उनी बताउँछन । यसो गर्दा स्थानीय हावापानीमा गाई बस्नसक्ने र राम्रो उत्पादन लिन सकिने उनले बताए । बाहिरबाट ल्याएका गाईले तत्काल धेरै दूध दिने अपेक्षा गरिए पनि यहाँको हावापानीमा बस्न सक्छ वा सक्दैन थाहा हुन नसक्ने उनले बताए ।

उनले भने, “स्थानीय गाईमा नै राम्रो नश्लको भ्रुण प्रयोग गरेर भोलिका दिनमा राम्रो गाई उत्पादन गर्नु नै महत्वपूर्ण र दीर्घकालीन हुन्छ ।” उनले सरकारले भ्रुण उत्पादनमा लगानी गरेमा नेपालका विज्ञ र वैज्ञानिकले यही भ्रुण उत्पादन गरेर राम्रा गाई निकाल्न सक्ने पनि बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका जैविक प्रविधि केन्द्र निर्देशक डा ईश्वरीप्रसाद कडरिया गाई किन्ने पैसाले धेरै भ्रुण वा विर्य ल्याएर ठूलो सङ्ख्यामा गाई उत्पादन गर्न सकिने बताउँछन । गाई ल्याउँदा तत्काल उत्पादन आउने अपेक्षा गरिएको भए पनि यहाँ घुलमिल हुन सकेन भने ठूलो नोक्सान हुने भन्दै उनले विज्ञ र वैज्ञानिकसँग परामर्श गरेर मात्र काम गर्नुपर्ने बताए । भ्रुण ल्याएर यहाँको गाईमा राख्दा आमा बन्ने गाईको भूमिका धाई आमाको जस्तो मात्र हुने भएकाले त्यसबाट जन्मिएको बच्चा बाहिरबाट ल्याउने गाईभन्दा कम नहुने कडरीयाको भनाइ छ । यस काममा नेपालका विज्ञ र वैज्ञानिक सफल भइसकेका छन् । कडरीयाले आफूले चीनमा विद्यावारीधि गर्दा भ्रुण उत्पादनमा काम गरेको बताए । रासस

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए। उनले भने “गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ ।” डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु १० करोड, जनकपुर क्षेत्रमा रु एक करोड, हेटौँडा क्षेत्रमा रु आठ करोड, लुम्बिनी क्षेत्रमा रु चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा रु एक करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड किसानको रकम भुक्तानी गरेको हो । डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

खडेरीले खेतबारीमै बाली सुक्न थाल्यो

म्याग्दी । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित् छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र मकै सुक्न थालेको छ भने जंगलमा लागेको डढेलोले वन जंगल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन् । हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए । “हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ,” विकले भने ।  “वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदेबाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ । यस्तै भयो भने त भोकमरीले मरिने भयो,” मंगला गाउँपालिका– ५ का किसान टीका पौडेलले गुनासो गरे ।  लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र  गर्मीले आलसतालस बनाइरहेको छ । किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्वअध्यक्ष समेत रहेका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताए ।  “विपत्ति सुरू भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । खेतमा छरेका मकै खेतमा नै सुकेको छ । बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका बिरुवा मर्न थाले । वनजंगल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहान सुकिराखेका छन् । स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ,” उनले भने । हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नांगिन थालेका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा परेको स्थानीयवासीको भनाइ छ । पर्याप्तमात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रंग उडेझैँ फिक्का देखिन थालेका छन् । हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै गएर हिमाल काला पहाडजस्ता देखिन थालेको र जंगली फूलमा समेत त्यसको प्रभाव देखिएको किसानले बताएका छन् । आकाश खुल्न सकेको छैन । जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विषाक्त बनेको छ । घाम नलागे पनि गर्मी बढेको छ ।  जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जंगली फूलमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । “मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्,” स्थानीय जनप्रतिनिधिको भनाइ छ । मकैबाली लगाउने याम घर्किसकेको छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्‍याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताए ।  म्याग्दीमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।  बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि धानका लागि बीउ राख्न समेत नपाएको किसानले गुनासो गरेका छन् । 

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच शनिबार भएको वार्तामा पाँचबुँदे सहमति भएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ गतेसम्म गरिसक्नेलगायत पाँचबुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए। वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरलगायत व्यक्तिको सहभागिता थियो। दूधको भुक्तानी रोकिएको भन्दै संघले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो । अध्यक्ष कुँवरले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।  यी हुन् पाँच सहमति १. दुध बिक्री गरेबापत दुग्ध उत्पादक कृषकले पाउनुपर्ने रकमलाई निरन्तरता दिँदै ०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीले २१ चैत ०८० सम्म गरिसक्ने। २. प्रत्येक उद्योगीले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने। ३. दुग्ध उद्योगीहरूले दुध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने, साथै दुध तथा दुग्ध पदार्थको निर्यात प्रवर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने। ४. सरकारले पशुपालक किसानलाई दिइरहेको कृषि तथा पशुपक्षी बिमा कार्यक्रमलाई निरन्तरता दिने। ५. केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले राखेका अन्य माग सम्बोधन गर्न पहल गर्ने।

मोही किसानका माग पुरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक सङ्घर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर सङ्घर्षरत किसानका मागहरु टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए। तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपुर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरु आन्दोलनमा उत्रिएका छन्।

लोकप्रिय