मन्त्रिपरिषद् बैठक नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले यस वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मन्त्रिपरिषद बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ ।

२४.३९ अंकले बढ्यो नेप्से, कारोबार कति?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ। नेप्से १.२३ प्रतिशतले वृद्धि भएर १९९८.८९ विन्दुमा बन्द भएको हो। यस दिन तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भयो। बढेको बजारमा कम सेयर मूल्य भएका बैंकप्रति लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ता वाणिज्य बैंकमा आकर्षित हुँदा उक्त समूहको परिसूचक सर्वाधिक बढेको छ। वाणिज्य बैंक समूहको परिसूचक ३.२१ प्रतिशतले वृद्धि भएको छ। कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ। 

गणतन्त्र स्थापनापछि राजतन्त्रकालिन २५० वर्षमा भन्दा कयौँ गुणा बढि विकास भएको छ :  प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन्। नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताएका हुन्।  “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारिता लगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।” पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए। “विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।” सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको बताए। “काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेक–थ्रु’ भएको छ । त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेक–थ्रु’ गरिएको छ,” प्रधानमन्त्रीले भने, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।”  अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्रीको भनाइ छ । उनले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

करका दर हेरफेरमा मनोमानी हुँदैन : अर्थमन्त्री पुन

 काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ट पारेका छन्।  आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको बताउँदै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने बताएका हुन्। “कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुशी जे मन लाग्यो त्यही गर्दिनँ। करसम्बन्धी व्यवस्था पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महलेसहित आर्थिक ऐन आउँछ”, अर्थमन्त्री पुनले भने, “एउटा अर्थमन्त्रीको सनकले निजीको वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन। जनताले र राज्यले विश्वासपूर्वक दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ। त्यसमा हाम्रो प्रतिबद्धता छ।” अर्थमन्त्री पुनले नेपालले लोकतान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको बताए। विकास तथा समृद्धि यात्रामा सरकार निजी क्षेत्रलाई अघि लगाएर हिँड्न चाहेको उनको भनाइ छ।  आर्थिक विकासका लागि नीतिगत निरन्तरता जरुरी रहेको उल्लेख गर्दै उनले  सरकारका नीति तथा कानुनमा रहेका कमजोर पक्ष हटाउने र राम्रा सिकाइलाई दीगो बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे। अहिले निर्माण क्षेत्र चलायमान हुन नसकेकोबारे आफू जानकार रहेको भन्दै अर्थमन्त्री पुनले ती अप्ठ्यारा फुकाउन लागि परेको बताए। आफूले मन्त्रालयको नेतृत्व सम्हाल्दा अघिल्ला ४ आर्थिक वर्षदेखिका ६ खर्ब रुपैयाँभन्दा बढीको आर्थिक दायित्व सिर्जना गरिएको अवस्था रहेको भन्दै उनले पुराना दायित्व बोक्नुपर्दा धेरै स्वतन्त्र नरहेको पनि उल्लेख गरे।  “अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा ३र४ वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब रुपैयाँ बराबरको दायित्व बोक्नेपर्ने अवस्थामा छु। एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री ४ वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन‚” उनले भने।

बैंकहरूको व्याजदर जेठका लागि अझै घट्यो

काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर अझै घटेको छ ।  वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएर नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।  वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा झरेको छ। सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् । ९ वटा बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ३ बैंक वटा बैंकले भने व्याजदर बढाएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले ब्याजदर बढाएका हुन् । जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत बनाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह कमी भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था रहेको छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर नदिने भएका छन् । त्यस्तै रेमिट्यान्स मुद्दती खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्ने व्यवस्था छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको हो । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जाने हुन्छ । राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।  वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३१ गते सोमबार सन् २०२४ मे १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

नेप्सेमा ८.२६ अंकको वृद्धि, तीन अर्ब १५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्से ८.२६ अंकले बढेको छ। नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० को विन्दुमा पुगेको छ। यस दिन ३११ धितोपत्र (कम्पनीलगायत)का ७८ लाख ५७ हजार ३१ कित्ता सेयर तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८.४३ रुपैयाँमा कारोबार  भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर छ। आइतबार सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । तीनवटाको परिसूचक घटेको छ।

चैतसम्मको आर्थिक अवस्था  नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

काठमाडौं। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरू सुधारोन्मुख देखिएका हुन्। राष्ट्र बैङ्कका अनुसार चैतमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो। चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२ दशमलव ६४, तरकारीको १६ दशमलव ९९, दाल तथा गेडागुडीको १० दशमलव ९४, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैर मदिराजन्य पेय पदार्थको छ दशमलव ०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १० दशमलव १० प्रतिशतले घटेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकाङ्क १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ३३ प्रतिशतले घटेको छ। गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ। राष्ट्र बैङ्कका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार चार सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ। चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ। वि.सं.२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ। चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। यो अवधिमा सरकारको कुल खर्च नौ खर्ब नौ अर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब चार करोड रुपियाँ रहेको छ। त्यसैगगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ। चैतमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव दुई प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ। तेस्रो त्रैमासिक अवधिसम्ममा आयात दुई दशमलव आठ, निर्यात तीन दशमलव सात र कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ। रासस

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३० गते आइतबार सन् २०२४ मे १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २९ गते शनिबार सन् २०२४ मे ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

बिहीबारको तुलनामा घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं। बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको सटही दर घटेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर १ को खरिद १३३ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ९१ पैसा निर्धारण छ। बिहीबार अमेरिकी डलर खरिद १३३ रुपैयाँ ३४ पैसा तथा बिक्री १३३ रुपैयाँ ९४ पैसा रहेको थियो। शुक्रबार युरोको सटही दर पनि घटेको राष्ट्र बैंकले जानकारी दिएको छ। बिहीबार खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसामा भएको युरोको शुक्रबार खरिद दर १४३ रुपैयाँ ४ पैसा तथा बिक्री दर १४३ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै पाउन्ड स्टर्लिङको सटही दर पनि शुक्रबारका लागि घटेको छ। बिहीबार खरिद १६६ रुपैयाँ ५६ पैसा बिक्री १६७ रुपैयाँ ३१ पैसामा भएको पाउन्ड स्टर्लिङ शुक्रबार खरिद १६६ रुपैयाँ ८ पैसा तथा बिक्री १६६ रुपैयाँ ८३ पैसामा हुनेछ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ। बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रम बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन  प्रशासनिक, आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको जानकारी दिए। मन्त्री पुनले लगानी सम्मेलनअघि कानुनी अप्ठ्यारो हटाउन ८ वटा कानुन संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको बताए। सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजी क्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाइ छ । मन्त्री पुनले निजी क्षेत्रको सहभागिता बिना कानुनहरु नबनाएको बताए। उनले औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजिकरण गर्ने बताए। उनले सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएको उल्लेख गरे। उनले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिबद्ध रहेको बताए। मन्त्री पुनले स्वायत्त निकाय राष्ट्र बैंकलाई अर्थमन्त्रीले दैनिक कार्यमा चासो दिनुपर्छ भन्ने पक्षमा आफू नभएको बताए। उनले सरकारको नीतिभन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे। उनले राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले सहकार्य गरेर नीतिहरु ल्याउने काम गरिरहेको बताए। अर्थमन्त्री पुनले नीति कार्यक्रम एकातिर लाग्ने, बजेट अर्कोतिर लाग्ने र मौद्रिक नीति तेस्रो बाटोमा लाग्ने कुराको अन्त्य गर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रम निबन्ध नहोस् भनेर अर्थ मन्त्रालयले सहभागिता जनाएर काम गरिरहेको बताए। उनले सरकारले पुँजीगत खर्च बढाउने कोशिस गरिरहेको बताए। स्रोतमा सिमितता भएकाले सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा सरकारको रहेको उनको भनाइ छ । ‘‘सरकारले पुँजीगत खर्च बढाउने कोशिस गर्छ । खर्च बढाउँदा पनि सरकारको योगदान पुँजीगत खर्चमा २५ प्रतिशत हो । बाँकी पुँजीगत खर्च निजी क्षेत्रकै छ। निजी क्षेत्रका लागि राम्रो स्पेस बनाइदिन्छौँ । सरकारसँग स्रोतमा सिमितता छ । सरकार र निजी क्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने हो । तीन वर्ष सात प्रतिशत कसरी बढ्योभन्दा भूकम्प आउँदा वैदेशिक ऋण बढी नै लियौं ।,’’ मन्त्री पुनले भने, ‘‘पुँजीगत खर्च बढ्यो । तीन वर्ष लगातार सात प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको छ । त्योभन्दा बाहेक ४.२ भन्दा बढी भएको छैन । हाम्रो अपेक्षा दोहोर अङ्कको आर्थिक वृद्धि हो । सात प्रतिशतको आर्थिक वृद्धि हुन आवश्यक छ । वैदेशिक लगानी बढाउन र आन्तरिक लगानी पनि बढाउन सक्दा सात प्रतिशतको आर्थिक वृद्धिदर भएर अर्थतन्त्र चलायमान हुन्छ । आशा जगाउन सकिने सरकारको विश्वास छ ।’’ अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानी र आन्तरिक लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिदरलाई बढाउने वातावरण बनाउने गरी ल्याउने बताए। उनले बैंक, घरजग्गा, कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत् र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना रहेको बताए।

सोह्र देशका कर प्रशासक नेपालमा

काठमाडौं। आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई)को क्षेत्रीय प्राविधिक बैठक नेपालमा सुरु भएको छ । राजधानीमा जारी बैठकमा एटिआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी भएका छन् ।  काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रमको आयोजना गरेको हो ।   कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ ।  कार्यशालाका क्रममा अर्थ मन्त्रालयका सचिव (राजस्व) डा.रामप्रसाद घिमिरेले बैठकले सदस्य मुलुकबिचको सहकार्य थप बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन ताथ  वित्त परिचालनमार्फत समावेशी र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न कार्यशालाले मार्गदर्शन गर्ने बताए ।  राजस्व  परिचालन र कर छुटसम्बन्धी नीतिमा समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीतिबारे सामूहिक धारणा बनाउन उनको सुझाव थियो।  कार्यशालामा एडिस कर सञ्चालक समितिका एलिस्टेयर लोबोले सदस्य राष्ट्रले दिगो विकास लक्ष्य हासिल गर्न सहयोगी हुने कर प्रणाली अपनाउनुपर्नेमा जोड दिए। एटिआईको घोषणापत्र अनुसार कर खर्चको पारदर्शिता बढाउन, लागत लाभ मूल्याङ्कन सहज बनाउन तथा कर दातामाथिको कर भार घटाएर उनीहरूको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।   नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय निर्देशक आयशानी मेडागाङ्गोडा लाबेले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक वित्त परिचालनका लागि कार्यशालाले प्रभावकारी भूमिका खेल्ने  विश्वास व्यक्त गरे। एटिआईले सदस्यका बिचमा राजस्व परिचालनसम्बन्धी एजेन्डामा सहकार्य गर्दै आएको छ।  कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन क्षमता विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभव सदस्य राष्ट्रलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताए ।

हेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख २७ गते बिहीबार सन् २०२४ मे ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर