कोरोना संक्रमणबाट अमेरिकामा नेपालीको मृत्यु

काठमाडौंः अमेरिकामा बस्दै आएका एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ ।

ज्यान गुमाउनेमा पाँचथर घर भएका रमेश (लीली) सम्वाहाङ्फे रहेका छन् । उनी कोरोना संक्रमण भएपछि केही दिअघि अस्पताल भर्ना भएका थिए ।

सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए ।

मृतक सम्वाहाङ्फेकी श्रीमती र दुई छोरा पनि अमेरिकामै बस्दै आएका छन् ।

दोस्रो इच्छा अवार्ड–२०१९ यूएईमा सम्पन्न

यूएईः गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले सुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए । दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सिताराको उपाधि प्रदान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भूसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भुसालसहित वरिष्ठ गायिका देविका बन्दनालाई भने यस वर्ष कदर सम्मान प्रदान गरिए पनि गत वर्ष अनर अवार्डका अवसरमा क्रमशः विशिष्ट अभिनेत्री सम्मान एवं विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो । साथै दोस्रो अनर अवार्डसका अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद समापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान एवं सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको थियो । सोही अवसरमा गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो भनेपत्रकार÷चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो । कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने, गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर÷संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले प्राप्त गरे । कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भीत्र–बाहिर रहेका नेपाली विचमा सांस्कृतिक उर्जा थप्ने बताइन् । कार्यक्रम यूएईको वर दुबइ स्थित एभरेष्ट क्लवमा सम्पन्न भएको थियो ।

अमेरिकामा नेपाली टेनिस खेलाडी शर्भानीले जितिन् ४ पदक

विजय थापा, डिसीः काठमाडौँको सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छिन् । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा ४ वटा पदक जितेकी हुन् । लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनी टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् । सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् । १३ औँ बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पामबीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता सञ्चालन भएको थियो । शर्भानीले आफ्ना उमेरका अन्तर्राष्ट्रिय किशोर–किशोरीहरुसँग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनलाई आयोजकले मुक्त कण्ठले प्रशंसा गर्दै पहिलो पटक नेपालबाट टेनिस खेल्न आएकोमा खुशी व्यक्त गर्दै बधाई दिएका छन् । शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी) मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान (रजत पदक) हासिल गर्न सफल भएकी छिन् । यसै गरी १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनलाई चोथौ स्थान हासिल भएको छ । उक्त प्रतियोगितामा अन्तर्राष्ट्रियबाट आएका करिव ५ सय जना मध्ये उनको उत्कृष्ट खेललाई उच्च सम्मान गर्दै उनलाई समग्र खेलको लागि उच्च प्रतिष्ठित पुरस्कार कृपा (काईण्डनेस) पुरस्कार प्रदान गरिएको छ । यसरी यो लगायत ४ वटा पदक जित्ने शर्भानी पहिलो टेनिस खेल्ने नेपाली किशोरी भएकी छिन् । उनकी आमा योगिता प्रधान श्रेष्ठका अनुसार शर्भानीले १० बर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेको बताइन् । १४ बर्ष मुनिको उमेरको खेलाडीमा नेपाल भित्र आयोजना हुने खेलमा सक्रिय रुपमा सहभागी हुने गर्छिन भने शर्भानीले नेपालमा भएको बिभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । उनलाई यस खेलमा तालिम दिलाउन शर्भानीका मातापिता अन्य देशमा उनलाई लाने गर्छन । चीन, भारत लगायत यस पटक अमेरिकामा टेनिस खेल्न अमेरिका मातापिताको साथमा फ्लोरिडा आएका हुन् । शर्भानीले गत बर्ष सन् २०१८ मा सम्पन्न पोखरा ट्रेकर्स इन यू–१४ जुनियर एटिएफ टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा शर्मानीले भारतकी प्रियांसी चौहानलाई पराजित गरेकी थिइन् । यस्तै नेपालमा सम्पन्न एटिएफले आयोजना गरेको प्रतियोगिता पनि उनी प्रथम भएकी थिइन् ।

टिपरको ठक्करबाट भारतमा पूर्व नेपाल प्रहरीको मृत्यु

दैलेखः भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–१० गमौडीका महेन्द्र खत्री रहेका उनका आफन्त सूर्यबहादुर थापाले बताए । थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिँएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए । उनी पूर्व नेपाल पुलिस रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए ।

कुवेत गएको ६ महिनामा कम्पनीमै मृत फेला

कुवेतः रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन् । आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका र काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी  लडेको अवस्थामा भेटिएको कुवेत प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको कुवेतस्थित नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु

काठमाडौंः नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यु भएको हो। कम्पनीमा काम गर्ने कामदारहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् सबैले आफ्नो सतर्कता आफैले अपानाउनु पर्छ। हर्रे, सुर्खेत निवासी हाल दक्षिण कोरियामा कार्यरत ज्ञानु केसी र रवि मगरले नेपाल पब्लिकलाई जानकारी दिएका छन्। यस्ता घटना यहाँ काम गर्नेहरुका लागि कुनै नौलो कुरा त होईन तर अहिले हाम्रै जिल्ला निवासीलाई प¥यो भनी साथै यो घटनाले कोरियामा काम गर्ने सबैलाई मर्माहित बनाएको छ। त्यसैले यहाँ काम गर्नेहरु सबैको ज्यान ठूलो जोखिमा छ, दक्षिण कोरिया नेपालीहरुको रोजगारीको लागि आकर्षणको केन्द्र मात्र होईन त्यो भन्दा अझ हाम्रो ज्यान जोखिममा छ। धेरै सतर्कता अपनाउनु पर्छ, के नयाँ के पुराना सबैलाई गाह्रो हुन्छ, मेरो पनि हातको दुवै औला काटिएको छ, त्यसैले सबैजना होशियारी हुनु जरुरी छ ज्ञानु केसीले थपे। कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्ने साथै घटनास्थल सम्म पुगेर लास नेपाल पठाउने प्रक्रियामा जुटेकाहरुलाई कठिनाई भएको बताईएको छ। स्रोतः नेपाली पब्लिक

प्रवासी नेपालीको दुखको मूल्य स्वदेशमा लगानी गर्न ‘पसिना फण्ड’को घोषणा

काठमाडौँ — खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको ससानो बचत पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन् । “पसिना फन्ड” नामक सो कोषमा जम्मा भएको रकम नेपालको हितका साथै लगानीकर्तालाई पनि मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने उनको योजना छ । “कोषको संचालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ । यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसंग समन्वय गरेर मैले काम गर्ने छु,” एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले भने। स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले देशको अर्थतन्त्र थेगेको उनले बताए । तर विप्रेषणको रुपमा आएको अधिकांश रकम उपभोगमा खर्च हुने गरेको अनुसन्धानहरुले देखाएका छन्। “महँगो व्याजमा ऋण लिने र २,३ वर्ष त्यही सावां र ऋण तिर्न हाम्रा धेरैजसो युवाको समय खर्च हुने गरेको छ। तीन वर्ष काम गरेर घर फर्के पछि फेरी ऋण खोजेर विदेश जानु पर्ने अवस्था छ । यस्तो अवस्थामा एकातिर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नु पर्ने आवश्यकता छ भने अर्कोतर्फ नेपाली युवाहरुले पसिना बगाएर बचत गरेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,” आचार्यले भने। “आजको अर्को जल्दो बल्दो समस्या भनेको नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा हो । यसैगरी हाम्रा दिदी-बहिनीहरू विदेशमा घरेलु तथा यौन हिंसाको शिकार हुँदै आएका छन् । हाम्रा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा सुनिश्चिति पनि ठूलो मुद्दा हो । त्यसैले नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सञ्जालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ मैले काम गर्नेछु,” आचार्यले भने। आप्रवासी कामदार कल्याण कोषलाई दोब्बर गर्ने आचार्यले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा रहेको रकमलाइ आगामी दुई वर्षमा कम्तिमा दोब्बर गर्ने र विद्यमान कार्यविधि पुनरावलोकन गरी कोषको सञ्चालन पारदर्शी ढंगले गर्ने पनि जनाए । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने तथा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर विदेशमा अलपत्र परेका पीडित कामदारहरुलाई सहयोग गर्न सुरक्षित गृहको व्यवस्था मिलाउन पहल गर्ने पनि उनले बताए। खासगरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीपबीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनले बताए। वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनेबारे हालै कतार, बहराइन, कुवेत, मलेसिया लगायतका मुलुकमा कार्यरत नेपालीहरुसंग आचार्यले बृहत् अन्तरक्रिया गरेका थिए। “पसिना फन्ड” स्थापन गर्ने उनको योजना गैर आवासीय नेपाली संघकै इतिहासमा एक फड्को हुने जानकारहरु बताउंछन्।

युएईमा एक नेपालीको मृत्यु

युएई,असोज १९। युएईमा सनिवार एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। लामो समय देखि युएईको जावेल अलिमा बस्दै आएका झापाका ३८ बर्सिय घनश्याम प्रधानको मृत्युु भएको हो । दिउँसो काम सकेर कोठामा फर्किएका प्रधानले एक्कासि छाती दुख्यो भनेपछि साथीहरूले हस्पिटल लैजान एम्बुलेन्स बोलाएको भए पनि उनी तुरुन्तै बेहोस भएका थिए । एम्बुलेन्सले तत्कालै उनलाइ दुबईस्थित एनएमसी हस्पिटलमा पुर्‍याए पनि १० बजेतिर चिकित्सकहरुले प्रधान लाई मृत घोषित गरेका थिए । मृत्युको मुख्य कारण हृदयाघात नै भएको हस्पिटलले पुष्टि गरेको छ । दुबईको बोर्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्दै आएका प्रधान ३ महिना अगाडि मात्र कम्पनीको छुट्टी सकेर नेपाल बाट फर्किएका थिए । मृतक प्रधानको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

रामेछाप दोहा सम्पर्क समाज कतारको शुभकामना आदान प्रदान कार्यक्रम

रामेछाप दोहा सम्पर्क समाज कतारले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्धव मगर दोहा कतार– मिती २०१९÷१०÷०४ का दिन जिल्ला संस्था रामेछाप दोहा सम्पर्क समाजले २०७६ सालको विजय दशमी तथा शुभ दिपावलीको पावन अवसमा दोहाको रोयल नेपाल रेष्टुरेण्ट नजमामा कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रम समाजका प्रथम उपाध्यक्ष उद्धव मगरको अध्यक्षता र संस्थाका सचिव निर्मल नेवा खडगीको सञ्चालनमा रहेको कार्यक्रमलाई सु–सम्पन्न पार्नका लागी उपस्थित समाजका द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, महासचीव नर बहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, कोषाध्यक्ष निर बहादुर मगर, संस्थाका प्रमुख सल्लाहाकार राम हरी खत्री, तथा सदस्यहरु ः– आशीस मुक्तान, विनीता घिसिङ्क, विक्रम योञ्जन,अशोक बल, शुभराज सुनुवार, अरुन सुनुवार, विकास सुनुवार, लाल बहादुर सुनुवार, गंगा मुक्तान,अन्जु मुक्तान, हेमा थापा, रहनु भएको उक्त कार्यक्रमलाई विधिवत रुपमा अगाडी बढाउदै उपस्थित सम्पूर्णलाई अशोक बल तामाङ्कले स्वागत मन्तव्य राख्दै शुभकामना पनि दिनु भएको थियो । उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखीसकेपछी कार्यक्रमका अध्यक्ष उद्धव मगरले पनी आफ्ना भनाईहरु राख्दै भन्नु भएकोछ नेपाल बहुजातीय, बहुधार्मिक,बहुसांस्कृतिक, मुलुक हो यहाँ प्रत्येक जातजातीका मानिसहरु बसोबास गर्दछन् र आ–आफ्नै परम्परा र चाडपर्व छन् । बडा दशैं त्यो चाड हो जुन प्राय सबै जातजाती र जनसमुदायले मनाउछन् । नेपालीहरुको महान चाड भएकैले यसलाई बडा दशैं भनिएको हो भन्दै यस पर्वको धार्मिक आध्यात्मिक,सामाजीक, पारिवारिक, सांस्कृतिक एवं राष्ट्रियताको हिसाबले पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्दै यस शुभकामना कार्यक्रमले रामेछाप दोहा सम्पर्क समाजमा आवद्ध हरेक व्यक्तिलाई अझै नजीक र सदभाव बढाउदै आगामी दिनहरुमा अझ जिल्ला बासीहरुको भेटघाट प्रगाड बनाई राख्ने आशा गर्दै यस कार्यक्रम अत्यन्तै साहद्रपुर्ण वातावरणमा समापन भएको घोषणा गर्नु भएको छ ।

युएईमा ४ नेपाली अलपत्र

युएई,असोज १९।रोजगारीका लागि युएई आएका चार नेपाली कामदार करार अवधी पूरा गरेर पनि स्वदेश फर्किन नपाउदा भोकभोकै बस्न बाध्य भएका छन् । दुई बर्ष अघि युएईको शार्जहा स्थित मस्को इन्टरनेशनल टेक्निकल शर्भिस नामक सप्लाइ कम्पनीमा काम गर्न आएका उनिहरु सम्झौता अनुसारको करार अवधी पूरा गरेर पनि कम्पनीले स्वदेश नफर्काउदा अलपत्र परेका हुन्। हाम्रो भिषा सकिएको ३ महिना भयो कम्पनीले नयाँ भिसा पनि लगाउदैन बाकी तलब पनि दिदैन नेपाल जान्छौ भन्दा पैसा छैन जहिले पैसा हुन्छ त्यहिले पठाउछु भन्छ दसैंमा पनि घर जान सकिएन पीडित मध्यका एक डडेल्धुराका बहादुर खत्रीको गुनासो छ। यता पीडितहरुले अलपत्र परेको गुनासो गरेपछि इनास युएईका राम तामाङले केहि दिनको लागि रासनको ब्यबस्था गरेको र उनिहरुको समस्या गराउन पहलका लागी गैर आवासीय नेपाली संघ युएई र युएई स्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको पीडितहरु बताउँछन् । तीन महिना देखि भिसा सकिएर अवैधानिक बनेका उनिहरुलाइ समस्या समाधान गरि तत्काल नेपाल फर्काउन सम्बन्धित कम्पनी संग कुराकानी चलिरहेको दूतावास स्रोतले जानकारी दिएको छ।

आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदार घर फर्काइए

काठमाडौं। रोजगारदाता कम्पनीका कारण युनाइटेड अरब इमिरेट्स( यूएई) को आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, त्यहाँका रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा कामदारलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेस (एलएलसी)मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका ती कामदारमध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउने प्रक्रिया थालिएको जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । सो कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सयभन्दा धेरै कामदार समस्यामा छन् । गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो । समस्यामा परेपछि कामदारहरूले तीन महिनाअघि दूतावासलाई जानकारी गराएका थिए । ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुवातमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा पीडितको दबाबपछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि अन्य क्षेत्रमा रहेका पीडितहरू सम्पर्कमा आउन थालेका थिए । अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । नेपाली कामदारको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत इरफान आलमलाई जिम्मेवारी दिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ

नवनिर्वाचित एनआरएनए एनसीसीलाई पत्रकार महासंघद्वारा सम्मान

दोहाः नेपाल पत्रकार महासंघ कतार शाखाले एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितीलाई सम्मान गरेको छ । एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशनबाट सन् २०१९–२०२१ कार्यकालको लागि निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच स्वागतसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आफुहरु सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । उनले पत्रकार महासंघ समाजको अभिन्न अङ्ग रहेकोले एनसिसि कतार सदैव समन्वय गरेर अगाडि बढ्ने भन्दै साथ सहयोगको लागि आग्रह गरे । एनसिसीले गर्ने हरेक गतिविधिलाई जस्ताको त्यस्तै समाजमा ल्याउने काम पत्रकारको भएको भन्दै अध्यक्ष मुसलमानले आफूले अधिकतम साथ सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बकस मियाले एनसिसि कतारको कार्यकाल सफलता र असफलता दुबैमा पत्रकारको अहम भूमिका हुने भन्दै आग्रह पूर्वाग्रह नराखी महासंघसँग समन्वय गर्न अनुरोध गरे । बिगतमा एनसिसिको पत्रकार महासंघसंग सन्तोषजनक समन्वय नभएको भन्दै अध्यक्ष मियाले विभिन्न उप–समिती गठन गर्ने क्रममा सबैलाई समेटेर अगाडि बढन सुझाव दिए । पत्रकार महासंघ पनि समाजको अभिन्न पाटो भएको भन्दै उनले एनसीसीले गर्ने हरेक गतिविधिमा महासंघसँग समन्वय गरेमा ती कार्यहरु प्रभावकारी बन्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघको आचारसंहिता अनुगमन समितीका सदस्य एवं कतार शाखाका सल्लाहकार क्रान्ति सिंह, एनआरएनए आइसिसी सदस्य केबि हमाल, युवराज शर्मा, एनआरएनए एनसिसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी लगाएतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष नवराज बिकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार श्रेष्ठले गरेका थिए ।

काँग्रेसको छल: कार्यक्रममा सहभागी पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेस पत्र

भारत,भदौ २५ ।नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारतले एक कार्यक्रममा पत्रकारलाई सम्मानपत्र भनेर पार्टी प्रवेशपत्र दिए पछी त्यसको बिरोध भएको छ। मंग्लवार दिल्लीमा आयोजित १०६ औं विपि जयन्ती एवं नेपाली काँग्रेस दोस्रो जागरण अभियानको सुभारम्भ कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका पत्रकारद्वय इन्द्रकमल जैरु र अर्जुन खनाललाई सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएपछी त्यसको बिरोध सुरु भएको हो । दिल्लीको आइटिओ स्थित गान्धी पिस फाउन्डेसनको भवनमा काँग्रेसका केन्द्रिय नेताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा समाचारमा लागि आफुहरु पुगेको र मञ्चमा बोलाइ सम्मानपत्र भन्दै पार्टी प्रवेश पत्र दिएको जारी बिज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको समय राती भएको हुँदा पत्रमा के लेखिएको भन्ने बारे राम्रो अध्यन गर्न नपाएको र पछी हेर्दा पार्टी प्रवेश पत्र रहेको बुझेपछि आफुहरुले यस्तो कार्यको बिरोध गरेको पत्रकारद्वय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । पत्रकारले उनसुकै बिचारधारामा आस्था राखेपनि कुनैपनी राजनीतिक पार्टीको सदस्यता लिनु निस्पछ्य पत्रकारिताको नैतिकता बिपरित हुने भन्दै आफ्नो ब्यक्तिगत स्वतन्त्रता माथी नै हनन गरेको उनिहरुको भनाइ छ । यस्तो छ बिज्ञप्ति  

मलेसियामा रोजगारी विवादबारे बैठक: भोलि ‘डेडलक’ खुल्ने सम्भावना

काठमाडौं, मलेसियामा नेपाली कामदार पठाउने विषयमा १५ महिनादेखि जारी डेडलक खुल्ने संकेत देखिएको छ । आज बसेको दुई देशबीचका श्रम अधिकारीहरुको बैठक भोली बस्ने गरी टुंगिएको छ । आज सहमति जुटन नसकेको विषयहरुमा भोली सहमति जुटनसक्ने एक अधिकारीले जनाए । आजको बैठकमा मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा कुरा मिल्न सकेन । श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ। घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संयुक्त प्राबिधिक समितिको बैठ्क गतिरोध तोड्ने तर्फ अगाडि बढेको वताए। ‘दुई दिनसम्म बिषयमाथि निकै गहन र विस्तुतरुपमा छलफल भयो,’ उनले भने। नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्रअनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ। नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो। मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ। ‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’

एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

काठमाडौंः  गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’ सापकोटाले भने । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एन.सी.सी पोर्चुगलको कार्य समिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह(कोषाध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले समप्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन् । मौजुदा कार्यसमितिमा निडर, क्रियाशिल र उद्देश्य प्राप्तिमा लाग्ने सापकोटा गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसका उद्देश्यमा केन्द्रित भएर लाग्ने थोरै व्यक्तिमा पर्छन् । संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए । वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन् । नेपालको पर्यटन प्रावधनमा पनि सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ । २५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पुरा गरेका छन् । उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए ।

हङकङेली नेपालीको दुःख देखेर भावेश बिदाइमा धरधरी रोए

काठमाडौंः नेपाली साहित्यमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन एक बिदाइ कार्यक्रम आयोजना गरी हङकङबाट बिदा गरिएको छ । भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङका लागि अगस्त १७ तारिख हङकङ पुगेका भुमरी सबै कार्यक्रम सफल पारी सेप्टेम्बर ३ का दिन नेपाल फर्किसकेका छन् । मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेश भुमरीले हङकङेली नेपाली मान्यजन, दाजुभाइ, दिदीबहिनी र साथीहरूले दिएको मायालाई अन्तर्मनदेखि सम्झे । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीहरूको दैनिकीबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए । आफूले विगतमा कल्पना गरेको भन्दा नितान्त फरक पाएको हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । यता नेपाली हङकङ निर्माणमा १४ घन्टा काममा खटिन्छन्, उता नेपाली दिनभरि चिया गफमा नेपाल निर्माणका फजुल कुरा गर्छन् । देश निर्माण चिया गफले होइन, योजना र काम गर्नुपर्ने कुरा हङकङले सिकाएको छ भन्दै भुमरीले हरेक दिन दक्ष जनशक्तिले विदेश निर्माणमा देश छाडिरहेको वास्तविकता कोट्याए । भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङहङेली नेपालीले पाँच छपटक आफ्नो शरीरको कपडाबाट पसिना निचोरेको वास्तविताले आफूलाई द्रविभूत बनाएको कुरा राखे । त्यसरी कमाएको पैसा भए पनि नेपाल र नेपालीका दुखहरूमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् हुन् भन्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । आफूलाई हङकङसम्म ल्याएर बस्ने, खाने र घुम्नेसहति एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गरे । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेश भुमरीलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व र पश्चिमलाई जोड्ने काम पनि भएको कुरा राखे । आफू पूर्व संखुवासभाको साहित्यकारले मध्य पश्चिम प्यूठानका साहित्यकार भावेशलाई हङकङमा बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु हो भने । मध्य पश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आउनुभएका दाजुभाइ दिदीबहिनीहरू बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ भन्दै राईले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्न एकजुट हुनुपर्ने विचार राखे । एउटा साहित्यकार अर्थात् भावेश हङकङ आउँदा भावेशले हङकङेली नेपालीहरूका दैनिकी, दुःख र वास्तविक जीवन देखेको र भित्रैदेखि अनुभूत गरेको कुराले आफ्नो लक्ष्यमा सफल भएको कुरा राख्दै राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन सकेन भने । उनले थपे, एउटा कलाकार आएको भए हाम्रा सुख मात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चारपाँचचोटि निचोरेको वास्तकिता देखे । चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा भोलामा राखी काममा कुदेका नेपालीले पसिना पुच्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु । भावेशले हङकङेली नेपालीहरूको वास्तविक जीवनबोध गराउने छन् पाठकहरूलाई । यस्तै कारण अबका दिनमा भावेशजस्ता साहित्यकारहरूलाई ल्याउनुपर्छ र बौद्धिक विकासमा ध्यान दिनुपर्छ । राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत राखे । बिदाइ कार्यक्रम साहित्यकार जीतकर्ण राईले सञ्चालन गरेका थिए भने साहित्यकार किराती जेबी राई, सुशिला राई, विशु सम, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना, सोही संघका सचिव नन्द राना, महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापा, पुनमगर समाज हङकङकी अध्यक्ष गोमा पुन, समाजसेवी मनोज सूर्यवंशी, शिला राना, झलक पल्ली, जगत् अम्बु, मातृदीप राई, विनोद सुनारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । भावेश राजकुमार राई, विशु सम, युगमाया राना, जीतकर्ण राई, जयप्रकाश गुरुङ, नेत्र पहराई, मेख आले आदिको आर्थिक प्रायोजनमा हङकङ पुगेका थिए । गत अगस्त २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो । सो एकल साँझ अत्यन्त सफल र भव्य भएको थियो ।