भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् ।

शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।”

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको छ । यसका निम्ति अस्पताल समिति, कर्मचारीहरू एवं अस्पताल परिवारमा हार्दिक बधाइसहित धन्यवाद ज्ञापन गर्दछु ।

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ । यो हामी सबैका निम्ति खुसीको कुरा हो ।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिका लगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुनेछ । तसर्थ, भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहन्छ । यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने नै छ ।

मेरो नेतृत्वको वर्तमान सरकार संविधानप्रदत्त “स्वास्थ्य सम्बन्धी हक”लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् । अर्कोतर्फ संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको छ । यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, नवनिर्मित भवनको उद्घाटनपश्चात आँखा सम्बन्धी रोगको उपचार, अध्ययन, अध्यापन र व्यवसायिक तालीममा थप प्रगति हुने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग गर्नुहुने समस्त दातृ निकाय, भरतपुर महानगरपालिका, सामाजिक संघसंस्था एवं सामाजिक व्यक्तित्वहरूमा फेरि एकपटक धन्यवाद व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

भरतपुर भ्रमण वर्ष :  उद्घाटनको तयारी अन्तिम चरणमा, ५० हजार जना सहभागी हुने

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्। भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताइन् । भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्र्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्।  भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।

उकृष्ट र्‍याली सहभागी वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट र्‍याली  सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत र्‍यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्‍यालीमा सहभागिहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ । भरतपुरका २९ वटाका याली समुह मध्ये प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । ¥यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै ¥यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ । उत्कृष्ट समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार र प्रमाण–पत्र प्रदान गर्नु हुनेछ । यस्तै उत्कृष्ट ¥याली प्रस्तुत गर्ने ३ विद्यालयका विद्यार्थी समुहलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट ¥याली प्रर्दशन गर्ने विद्यार्थी समूहलाई क्रमशः रु २० हजार, रु १५ हजार र १० हजार पुरस्कार राशी रहेको छ । उद्घाटन समारोहमा उत्कृष्ट प्रर्दशन गर्ने जातिय झाँकी, वडाको पहिचान, संस्थागत, सहकारी र समूहले रु २० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ । महानगरपालिकाले ¥यालीको व्यवस्थापन गर्न वडागत अध्यक्षलाई जिम्मेवारी यसअघि नै जिम्मेवारी तोकिसकेको छ । ¥यालीमा प्रयोग हुने व्यानरको आकार एउटै हुने पर्नेछ । महानगरका अनुसार ब्यानरको साईज ७ मिटर चौडाई र ३ मिटर उचाईको हुनुपर्ने छ । सहभागिले आफ्नो फहर आफैले व्यवस्थापन गर्नुपर्ने छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य बनाउन नारायणी किनारमा ५० हजारभन्दा बढीको सहभागिता गराउने गरी महानगरपालिकाले तयारी गरिरहेको छ । ठुलो जनमानसको बीचमा भ्रमण वर्षको उद्घाटन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा भरतपुरलाई परिचित बनाउने महानगरले लक्ष्य लिएको छ । उद्घाटन समारोहका दिन नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, नेपालका शिर्ष नेतृत्व, बुद्धिजीवि, कर्मचारी, राष्ट्रिय कलाकारको उपस्थिति रहने छ । भ्रमण वर्षको औपचारिक उद्घाटनपछि वर्षभरि नै पर्यटकीय गतिविधिहरु हुनेछन् । यसका लागि महानगरपालिकाले पाटेबाघ देखाउन ओपन जू, संग्रालयका रुपमा दियालो बंगलालाई सञ्चालनमा ल्याउन लागेको छ । महानगरपालिकाका मुख्य ७ वटा प्रमु्ख पर्यटकीय गन्तव्यसहित ३५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरिसकेको छ । भ्रमण वर्ष २०२४ लाई सफल बनाई भरतपुरलाई देशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ ।

भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।

भरतपुर–१० वडावासीलाई उपचारमा ५० प्रतिशत छुट

चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै, वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको वडाध्यक्ष खनालले जानकारी दिए । वडा कार्यालय र अस्पतालबीच भएको सम्झौता २०८४ चैत ३० गतेसम्म लागू हुनेछ । वडा कार्यालयले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउदै

भरतपुर । नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउने भएको छ । केन्द्रले २०८० फाल्गुन १४ देखि २१ गतेसम्म विविध कार्यक्रम गर्दै सहिद सप्ताह मनाउन लागेको माओवादी केन्द्र चिवनले जनाएको छ । जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.स)को अध्यक्षतामा फाल्गुन ११ गते जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सप्ताहको पहिलो दिन फाल्गुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं  महिला तर्फ ३ किलोमिटर दुरिको 'शहिद स्मृर्ती रोड रेस प्रतियोगिता' र  शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गर्ने, फाल्गुन १६ गते  'जेल (हिरासत) बसेका योध्द्धाहरुलाइ सम्मान' कार्यक्रम गर्ने, फाल्गुन १७ गते   'जेष्ठ कम्युनिष्ट सदस्य सम्मान कार्यक्रम  गर्ने, फाल्गुन १९ गते  'जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मानू कार्यक्रम गर्ने, फाल्गुन २० गते  बृहत् खुल्ला 'रक्तदान कार्यक्रमू कार्यक्रम  गर्ने माओवादी केन्द्र चिवनले जनाएको छ । भने फाल्गुन २१ गते अन्तिम दिन 'बलिदान राष्ट्रका लागी अन्र्तक्रिया' कार्यक्रम गर्ने जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।  भरतपुर महानगरको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ पनि यसै सहिद सप्ताहकैबीच  हुन लागेको हुँदा फाल्गुन १८ गते हुन गैरहेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ कार्यक्रममा सहभागी हुँदै पाहुनाहरुको स्वागत सम्मानमा सम्पूर्ण पार्टी पंक्ति लाग्ने समेत निर्णय गरीएको माओवादी केन्द्र चितवनले जानकारी दियो । सहिद सप्ताहलाई सफल बनाउन सम्मान पत्र लेखन समिति, मंच व्यवस्थापन समिती तथा आर्थिक व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाइएको जिल्ला सचिव द्रोणबाबु सिवाकोटीले जानकारी गराए ।

अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताएकी छिन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।  नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन्।विगत र अहिले केही परिवर्तन भएपनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने बताइन्। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने उल्लेख गरे ।अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरु हस्तान्तरण गरे । विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।

परिवर्तन त्यसै सम्भव भएको होईन, उल्टिँदैन : सांसद माझी

मकवानपुर, ७ फागुन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले नेपालको राजनीति सामाजिक परिवर्तन त्यसै सम्भव नभएको बताएकी छिन् ।  माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्वोधन गर्दै मोर्चाकी महासचिव समेत रहेकी सांसद माझीले गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले वलिदान गरेको बताइन् ।  अहिले मानिसहरूले परिवर्तन त्यत्तिकै आएको र यत्तिकै उल्टिने कुरा गरिरहेकोमा आपत्ति जनाउँदै उनले परिवर्तन र गणतन्त्र कुनै हालतमा नउल्टिने बताइन् ।  उनले गणतन्त्र, संघियता, समानुपातिक समावेशी व्यवस्थासहितको नयाँ नेपालको स्थापनाको लागि माझी समुदायले गरेको त्याग, बलिदान र सौर्यको  कदर गर्दै आफुलाई माओवादी पार्टी र अध्यक्ष प्रचण्डले सांसद बनाएको उल्लेख गरिन् ।  हिजो एकात्मक सामन्ती राजतन्त्रले अत्यन्तै उत्पीडनमा पारेको माझीलगायतका समुदाय, महिला, दलित, आदिवासीजनजातिले  गणतन्त्र र परिवर्तनको कारण नै राज्यको मुल प्रवाहमा र नीति निर्माण तहमा प्रवेश पाएको तथ्यलाई विर्सन नहुने बताइन् । उनले माझी समुदायले माओवादी र जनयुद्धको पक्षमा निरन्तर लाग्न र प्रतिक्रियावादी र परिवर्तनविरोधीको भण्डाफोर गर्न कार्यकर्तालाई  निर्देशन पनि दिइन् । उनले अहिलेको गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइन् ।  उनले माझी समुदायले राजनीति सामाजिक चेतनामा विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले माझी समुदायको प्रमुख चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदा दिनुपर्ने कुरामा केन्द्र सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै बागमती प्रदेश सरकारले सुचिकृत गरि विदा दिएकोमा धन्यवाद दिइन् । उनले बागमती प्रदेश सरकारले माझी समुदायलाई मात्रै नभई सबैलाई सार्वजनिक विदा दिन माग पनि गरिन् ।   भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन सम्मेलनबाट भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा भुपु माझी र  मिरा माझी चयन भएका छन् भने  सचपवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् ।    सम्मेलनमा विषेश अतिथिको रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, केन्द्रिय सदस्य कृष्ण बहादुर माझी, दन्तलाल माझी, किरण माझी,  बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी,  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो।

भरतपुरमा शिक्षाको विकास सोचेको भन्दा राम्रो भएको छ : मेयर रेनु दाहाल

शुक्रनगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् ।  उनले भनिन, ‘अबको शिक्षा वैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ, गुणस्तरिय शिक्षा दिन जरुरी छ, विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ, यसमा महानगरले जोड दिइरहेको छ।’ भरतपुर महानगरले शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजाने उनको भनाइ थियो ।  भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले पर्याप्त पर्यटकीय पूर्वाधार र प्रचार प्रसारको अभावमा पर्यटकीय हब नै बन्ने यो ठाउँ ओझेलमा परेको बताए। उनले यस क्षेत्रमा केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको छ भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढेको उनले बताए । प्रधानाध्यापक होमनाथ भण्डारीले विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको वताए। विध्यालयको अर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेका छन ।  सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुने वताए। उक्त कार्यक्रमका लागि संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई १० लाख उपलब्ध गराएको र सोही रकमबाट ब्लक इँटा बनाउने मेसिन खरिद गरेर विद्यार्थीहरुलाई उत्पादनसँग जोडेको प्रधानाध्यापक भण्डारीले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आयआर्जन पनि गर्ने योजनाका साथ यो कार्यक्रम लागू गरिएको उनले बताए ।  वि.सं.२०२८ सालमा स्थापना भएको विध्यालयमा विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको हो। उनका अनुसार कक्षा ९ मा २७ जना, कक्षा १० मा ३७ जना, कक्षा ११ मा १८ जना र कक्षा १२ मा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरु कक्षा १२ उत्तीर्ण गर्दैगर्दा सब–इन्जिनियर हुन्छन् ।

भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित

चितवन,फागुन ६ । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ । उनीहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सशस्त्र प्रहरीका एसपी शशी पाण्डे, चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीलगायतले दीक्षित गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निपक्ष, इमान्दार र कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिए । भरतपुर महानगरपालिका हरेक क्षेत्रमा अब्बल रहेको र नगर प्रहरीले पनि देशकै उत्कृष्ट परिचित भएकाले नगर प्रहरीले शान्ति, सुरक्षा, फुटपात व्यवस्थापन गरी उदाहरीण काम गर्न शुभकामना दिए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले महानगरका हरेक गतिविधिमा नगर प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरी सुन्दर, शान्त महानगर निर्माणमा सहयोग पुराउनुपर्ने बताए । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरका निर्णयलाई अक्षरस पालना गराउनु नगर प्रहरीको दायित्व भएकाले बिना कुनै त्रास काम गर्न अनुरोध गरे। विस २०५२ सालमा ५ जना नगर प्रहरीको दरबन्दी लागु भएको महानगरपालिकामा क्रमशः दरबन्दी थप भई हाल संख्या ७३ जना  पुगेको छ । गत पुस ६ गतेदेखि महानगरपालिकाको नगर प्रहरी प्रमुखको कमाण्ड कृष्णहरि ढकालले सम्हाल्नु भएको छ । नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ । नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।