२५ वर्ष देखि फरार अभियुक्त पक्राउ

स्याङ्जा । ज्यान मार्ने उद्योग मुद्धामा संलग्न २५ बर्ष देखि फरार व्यक्ति पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योग मुद्धामा स्याङ्जा जिल्ला अदालतको मिति २०५५ सालको फैसलाले ३ बर्ष ८ महिना ४ दिन कैद तोकिई फरार रहेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका हुन् । 
स्याङ्जाको बिरूवा गाउँपालिका वडा नं. ७ सपौदी बस्ने बर्ष ४८ को दुत प्रसाद गुरूङलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै, वस्तु बिक्रि करार मुद्धामा स्याङ्जा जिल्ला अदालतको फैसलाले २ बर्ष कैद तोकिई फरार रहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. १५ सातदोबाटो बस्दै आएका बर्ष २८ को राम प्रसाद पराजुलीलाई काठमाण्डौंबाट पक्राउ गरी आज नै स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डबाट 'पर्यटनको राजधानी घोषणा' गर्ने खबरले पोखराका व्यवसायी उत्साहित

पोखरा। गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिदै छ ।गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका यस वरपरका पालिकाहरू र सम्पूर्ण संघसंस्थाहरूको संयुक्त पहलकदमीमा आयोजनामा हुने कार्यक्रममा पोखरालाई पर्यटनको राजधानी घोषणा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे गर्ने छन् ।पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने छ। शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति पाए पनि अरु बजार राति १० बजेपछि बन्द हुने गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र २४ घण्टा खुला राख्ने निर्णय भएको जानकारी दिए।  “अहिले मापदण्ड पूरा भएका मुख्य बजार क्षेत्र खुला गर्ने र विस्तारै पूरै पोखरालाई नै २४ सै घण्टा खुला गर्दै जाने निर्णय भएको छ,” उनले भने। आइतबारबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्र बैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ घण्टा खुला हुने छन्।  व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यवसायिक फर्मले केही मापदण्ड भने पूरा गर्नुपर्ने सर्त राखिएको छ।गृह मन्त्रालयले नै २४ सै घण्टा खुला राख्नका लागि तोकेका शर्त उनीहरुले पूरा गर्नुपर्ने छ। ती मापदण्ड पर्यटकीय राजधानी घोषणा कार्यक्रममा आइतबार सार्वजनिक गरिने क्षेत्रीले जानकारी दिए । सरकारको यो निर्णयबाट पर्यटन व्यवसायीले आफुहरुलाई उत्साहित बनाएको बताएका छन्। एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार हुने  र अर्थतन्त्र चलायमान हुने उनीहरुको भनाई छ ।

वालिङ नगरपालिकाले कृषकलाई दुधमा १० रुपैया अनुदान दिने

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।  स्थानीय अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुकमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउने उनले जानकारी दिए । सम्झौता अनुसार नमुना कृषि सहकारीले नगरपालिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको  फ्याट र एसएनएफ को आधारमा निर्धारण हुनेछ । सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गरे ।  वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी उनले दिए । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् ।  कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दुध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दुधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिए ।  वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ/भैसी पालेर औषतमा दिनको ५०० लिटर दुध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको पशु सेवा शाखाले अनुमान गरेको छ ।  स्याङ्जाको गल्याङ नगरपालिकाले पनि दुधमा प्रतिलिटर १५ रुपैयाँ कृषकलाई अनुदान दिदै आएको छ ।

कृषक प्रोत्साहनका लागि आलु तथा कृषि प्रदर्शनी

गल्याङ । कृषकलाई प्रोत्साहन गर्नका लागि भन्दै स्याङ्जामा आलु तथा कृषि प्रदर्शनी आयोजना गरिएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहामा ‘दोश्रो आलु तथा कृषि   प्रदर्शनी २०८०’ आयोजना गरिएको हो ।  प्रदर्शनीमा आलु तथा कृषिका अन्य विउविजनहरु प्रदर्शनी तथा विक्री गरिएको छ ।  यस्तै, आलुका विभिन्न परिकारहरुका साथै स्थानीय उत्पादनका परिकारहरु पनि विक्री तथा प्रदर्शनीमा राखिएको गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पुर्णबहादुर रानाभाट ‘अर्जुन’ ले जानकारी दिए । आलु तथा कृषि प्रदर्शनीबाट कृषक र उपभोक्तालाई सिधा फाइदा पुग्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको उनले स्पष्ट पारे ।  कृषि सामाग्रीहरुको स्टल मात्रै राखिएको प्रदर्शनीमा निशुल्क स्टल तथा निशुल्क प्रबेशको व्यवस्था गरिएको थियो । ‘दोश्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य बिउमा आत्मनिर्भर’ भन्ने नारा सहित सञ्चालन भएको आलु प्रदर्शनीको शनिबार गण्डकी प्रदेश सांसद महेश भट्टराईले उद्घाटन गरेका थिए । शनिबार सुरु भएको प्रदर्शनी तीन दिन सम्म सञ्चालन भएपछि आज सोमबार समापन हुँदैछ । प्रदर्शनीमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् । गल्याङ चेम्बर अफ कमर्सले यसअघि कृषि महोत्सव तथा कृषि प्रदर्शनीको आयोजना गरेको थियो ।  पाँच सय रोपनीमा सामुहिक उत्पादन  स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमूहाका ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका छन् । आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमुहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष रुमलाल कँडेलले बताए । ‘व्यक्तिगत रुपमा भन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ’, अध्यक्ष कँडेलले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ ।’ स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहलकदमी थालेको सहकारीका अध्यक्ष कँडेलले बताए । यहाँ जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत आलु सामूहिक र व्यक्तिगतरुपमा लगाइएको छ ।  आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ आलु स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा बिक्री हुने गरेको छ । आलुलाई लामो समयसम्म राख्नका लागि जिमुहामा नै शित भण्डारको स्थापना पनि गरिएको छ ।

तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन

पोखरा । गण्डकीको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका छन् । फागुन १६ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ । राजनीतिक समीकरण फेरिएपछि संसद अधिवेशन अन्त्य गर्नुलाई फरक हिसाबले हेरिएको छ ।  

मनाङमा हिमपहिरो : तल्लो र माथिल्लो मनाङ जोड्ने सडक अवरुद्ध

मनाङ। मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ।आइतबार राति परेको हिमपातले सोमबार हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङ जाने सडक अवरुद्ध भएको छ । ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको जिल्ला प्रशासन कार्यालयल मनाङले जनाएको छ । ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक समस्यामा परेका छन् । 

गण्डकीका मुख्यमन्त्रीले खोसे माओवादीतर्फका मन्त्रीको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । त्यसलाई उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा (एमाले) सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो । 

पर्वतका पदम गिरी एमालेबाट सरकारमा जानेः को हुन् गिरी ?

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरी पर्वत जिल्लाबाट दोश्रो पटक मन्त्री बन्न लागेका छन्।

६ महिनापछि गण्डकीको संसद बैठक बस्दै

पोखरा, १६ फागुन । गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो । संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ । सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ । यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको  संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरु समेत काम विहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।

युवतीको अश्लील भिडियो खिच्ने डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टमा खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।

दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ

नवलपुर। खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा बयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।  एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि बयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।  त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। सो बाघको भोलि पोष्टमार्टम गरिने उनले जनाकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको छ । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताए ।  स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ ।  बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाईगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले जानकारी दिए ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।   “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस

हिमपातले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित

बाग्लुङ, ११ फागुन। बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो। हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ। ‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’ अदैले भने, ‘एक साता जति गर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’ गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्। ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए।

मित्रमिलन सहकारी ठगी प्रकरणः पत्रकार गिरी पुर्पक्षका लागि थुनामा

पोखरा, १० फागुन । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । पोखराको ताण्डव न्यूज डटकमका प्रधान सम्पादकसमेत रहेका गिरीलाई मित्रमिलन सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमा समेत लगाएको आरोप थियो । गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएको थियो भने बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबारमात्र पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसको लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो । पछिल्लो समय मित्रमिलन सहकारी ठगी प्रकरणमा एकपछि अर्को धरौटीमा छुटिरहेका थिए । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएपछि ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो । मित्रमिलन सहकारी प्रकरणमा गिरीसहित ७ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।

गण्डकीको हिउँदे अधिवेशन १६ फागुनदेखि सुरु हुने

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । गण्डकीको बजेट अधिवेशन गएको असोज ११ गते स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन बोलाएको हो । गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् । यसबाहेक सरकारले थप दुईवटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्‌मा पेस गर्ने निर्णय गरेको छ । प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते

तनहुँ । आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्ड बरादी–हिलेखर्कमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।  मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।