अमेरिकाको मध्य र पूर्वी क्षेत्रमा गर्मी विस्तार हुँदै, गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने गर्मी मध्य र पूर्वी क्षेत्रमा विस्तार हुँदैछ । मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन् ।

गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन् । गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन् । आइतवार, फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियस भन्दा बढी ताप मापन गरिएको र यो सन् १९७४ मा गरिएको तापमान रेकर्डभन्दा पनि बढी रहेको जनाइएको छ ।

हालसम्मको तापमान रेकर्ड अनुसार जुलाई अब पृथ्वीको सबैभन्दा तातो महिना हुने अपेक्षा गरिएको छ । गत अप्रिलयता मारिकोपा काउन्टी वरपर मात्र गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु भएको र अन्य ६९ जनाको पनि गर्मीकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

युक्रेनमा रुसी मिसाइल प्रहार, बालकसहित ४ जनाको मृत्यु

एजेन्सी । पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । उनले भने, हामी अहिले शहरमा घाइते र मृतकको संख्या निर्धारण गर्न काम गरिरहेका छौँ। यो शहरको केन्द्र हो। यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए, । अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ। हड्ताल सुरू भएलगत्तै आकस्मिक सेवाहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई सहयोग गरेका थिए। सन् २०२२ फेब्रुअरी, २४ मा सुरू भएको रुस–युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ।

ट्विटरको नयाँ सीईओ लिन्डा याकारिनोले पदभार ग्रहण गरिन

एजेन्सी । लिन्डा याकारिनोले औपचारिक रूपमा ट्विटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छिन् । उनले आफ्नो लिंक्डइन प्रोफाइलको बायोमा ट्विटरका सीईओलाई पनि अपडेट गरेकी छिन्। लिन्डाले एक पोस्ट सेयर गर्दै लेखेकी छन्, म लामो समयदेखि एलोन मस्कको दर्शनबाट प्रेरित छु। कार्यालयमा पहिलो दिन किताब पढेर बिताए । यसअघि एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपको अध्यक्षको रूपमा काम गरिसकेकी याकारिनोले एनबीसी युनिभर्सलका कार्यकारी उपाध्यक्ष जो बेनारोचेलाई उनीसँग ट्विटरमा काम गर्न नियुक्त गरेकी छिन्। बेनारोचे याकारिनोका भरपर्दो सल्लाहकार थिए। वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ट्विटरमा उनको भूमिका व्यापार सञ्चालनमा केन्द्रित हुनेछ। गत महिना नयाँ सीईओको बारेमा जानकारी दिँदै, ट्विटर मालिक एलोन मस्कले लेखेका थिए, म ट्विटरको नयाँ सीईओको रूपमा लिन्डा याकारिनोलाई स्वागत गर्न पाउँदा उत्साहित छु । लिन्डाले मुख्य रूपमा व्यापार सञ्चालनमा ध्यान दिनेछ, जबकि म उत्पादन डिजाइन र नयाँ प्रविधिमा ध्यान दिनेछु। एलोन मस्कले टेस्ला र स्पेसएक्समा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका छन्। ५९ वर्षीया लिन्डा एनबीसी युनिभर्सल मिडिया एलएलसीमा ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिपकी अध्यक्ष हुन्। २०२२ मा एनबीसी युनिभर्सल मिडियामा सामेल भएपछि, उनले कम्पनीको लागि एक प्लेटफर्म सिर्जना गरे। एउटा प्लेटफर्मले प्रिमियम भिडियो इकोसिस्टम परिवर्तन गर्‍यो। प्लेटफर्मले विज्ञापनदाताहरूलाई स्क्रिन र ढाँचाहरूमा दर्शकहरू पुग्न मद्दत गर्दछ। लिन्डा एप्पल, गुगल जस्ता ब्रान्डसँगको व्यावसायिक साझेदारीका लागि पनि परिचित छिन्। एकै समयमा, फर्च्यून, फोर्ब्स जस्ता प्रकाशनहरूले उनलाई प्रभावशाली र शक्तिशाली महिलाको रूपमा छानेका छन्। लिन्डाको शिक्षाको बारेमा कुरा गर्दा, उनले पेन स्टेट युनिभर्सिटीबाट लिबरल आर्ट्समा डिग्री गरेकी छिन्। लिन्डाले क्लाउड पिटर मड्राजोसँग विवाह गरिन्। दुवै इटालियन मूलका हुन् र न्यूयोर्कमा बस्छन्।

उडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

एजेन्सी । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ । एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ । दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार आजसम्ममा क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई रु १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ । आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् । यसैबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएका छन् । दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन् । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन ।

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि……..

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको छ । निर्धारित समयमा इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट आज सानफ्रान्सिस्कोतर्फ उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी उत्पन्न भएपछि रुसको मगदान विमानस्थलमा सुरक्षित अवतरण भएको एयर इन्डियाले एक विज्ञप्ति निकालेर जनाएको छ । “मगदानमा सबै यात्रुलाई हरसम्भव सबै सहयोग उपलब्ध गराइएको र चाँडोभन्दा चाँडो उनीहरूलाई गन्तव्यमा पुग्न वैकल्पिक विकल्प उपलब्ध गराइने छ । विमानको प्राविधिक परीक्षण भइरहेको छ । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । यसअघि यसै वर्षको अप्रिलमा खराब मौसम र आकाशमा विमानहरूको भीडभाडका कारण चेन्नईबाट सिङ्गापुरतर्फ प्रस्थान गरेको एयर इन्डियाको विमानलाई पथान्तरण गरेर मलेसियामा अवतरण गरिएको थियो ।

अफगानिस्तानमा विष्फोटमा परी डेपुटी प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा आज भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीले भने, फैजाबाद शहरमा भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन्। घाइते सबैलाई अस्पताल लगिएको छ। स्थानीय समयअनुसार बिहान ८ ः १५ बजे फैजाबाद शहरको चराही महकामा क्षेत्रमा कार बम विस्फोट भएको हो। घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन।

अफगानिस्तानमा एक हजार ५ सय मेगावाट विद्युतको आवश्यक : तालिबान

एजेन्सी । अफगानिस्तानलाई हाल एक हजार ५ सय मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ । अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन् । सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो । तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन । “यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो । यसको समग्र क्षमता १०५ मेगावाट छ । सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ’ स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए । अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ । यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ ।

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट आजदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौँपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ । एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालवाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो । यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन । आज  रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ ।

घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु

एजेन्सी । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि सो दुर्घटना भएको हो। रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन्। घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ। सो डुङ्गाका यात्रुको निश्चित सङ्ख्या पुष्टि हुन बाँकी छ।

कोइलाखानी विवाद हिंसामा परिणत हुँदा १६ जनाको ज्यानगयो

एजेन्सी । पाकिस्तानको कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएको एआरवाई न्युजले जनाएको छ । पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ ।

न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। वेलिंग्टनको चार तले भवनमा मध्यराति १२ः३० बजे भएको आगलागिमा परेका केही मानिसको उद्धार गरिएको छ भने कैयौँ बेपत्ता भएका छन्। आगो २० वटा आपतकालीन दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। प्रहरी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनाप्रति दुख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सिरियाको पुनर्निर्माणका लागि इरानी विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

एजेन्सी । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा सो टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो । अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् । मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् । सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आज देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् । देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो । गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो । गिरफ्तारीबाट आक्रोशित समर्थकहरुले सरकारी भवनहरुमा आगजनी गरेका थिए भने सडक अवरुद्ध गरेका थिए । उनीहरुले सेनाको सम्पत्तिमा क्षतिसमेत पु¥याएका थिए । “स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने । उनले समर्थकलाई आज साँझ स्थानीय समयानुसार ५ः०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए । पाकिस्तानमा पाँच दिनसम्म चलेको कोलाहलपछि आज बिहान शान्त रहेको थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए । महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् । गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो । पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रुपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई झड्का

एजेन्सी । कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई) ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ । कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले १३६ सीट जितेको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ । त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ । उसले ६५ सीट मात्रै जितेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ । गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएका छन् । कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।

रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रलाई बोरेलको आग्रह

एजेन्सी । युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले रूसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउन युरोपेली राष्ट्रहरूलाई आह्वान गरेका छन् । “रूसीहरूले टाढाबाट बम बारी गरिरहेका छन्, त्यसैले युक्रेनीहरूसँग ’उही दूरी, उही दायरा’ मा पुग्न सक्ने क्षमता हुनुपर्दछ,” युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग स्टकहोममा भएको भेटपछि बोरेलले भने। जर्मनीले युक्रेनका लागि दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९५ करोड अमेरिकी डलर) बराबरको नयाँ हतियार प्याकेज घोषणा गरेसँगै उनले भने, “तर हामीले गति लिनुपर्छ।” “म जर्मनीको प्रयासको स्वागत गर्दछु र सबै सदस्य राष्ट्रहरूलाई यस उदाहरणलाई अनुसरण गर्न आमन्त्रण गर्दछु,” बोरेलले भने। बिहीबार बेलायतले युक्रेनमा आफ्नो स्टॉर्म स्याडो क्षेप्यास्त्र पठाउने घोषणा गरेको थियो र कीभलाई लामो दूरीका हतियार उपलब्ध गराउने पहिलो देश बनेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनमा रूसी सेनाविरुद्ध व्यापक रूपमा अपेक्षित प्रतिआक्रमण अघि पश्चिमी मित्रराष्ट्रहरूलाई थप उन्नत हतियार उपलब्ध गराउन आग्रह गर्दै आएका छन् ।

कर्नाटकामा कांग्रेसको बहुमत पुग्ने सम्भावना : १३६ क्षेत्रमा अग्रता

एजेन्सी । भारतको प्रान्त कर्नाटकामा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३६ क्षेत्रमा अग्रता कायम गरेको छ। त्यसमध्ये ८३ क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित भैसकेका छन् भने ३५ सिटमा अग्रता कायम गरेका छन् । कंग्रेसका नेताहरूले कम्तिमा पनि १३३ सिट जित्ने दाबी गरेका छन्। प्रारम्भिक चरणको मतगणनामा ७९ क्षेत्रमा अग्रता लिएको सत्तारूढ भारतीय जनता पार्टी अपराह्नसम्म केबल ६४ स्थानमा मात्रै अगाडि छ। अर्को दल जनता दल सेक्युलर (जेडिएस) २० क्षेत्रमा अगाडि देखिँदा चार स्थानमा अन्य दलका उम्मेदवारले अग्रता लिएका छन्। अघिल्लो निर्वाचनमा १०४ सिट जितेको भाजपा यसपटक नमिठो हार ब्यहोर्ने र कंग्रेसको ऐतिहासिक पुनरागमन हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। कर्नाटकामा २२४ सिटका लागि निर्वाचन भएको हो ।