विद्यार्थी राजनीति गतिरोधको अन्त्य गर्न स्ववियू निर्वाचन आवश्यकः प्रधानमन्त्री

काठमाडौं, पुष २९ । प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक भएको बताउनुभयाे । उनले भने, ‘हामी स्थानीय निर्वाचनको दिशामा जाँदैछौं, स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हो, त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्नुस् ।’

स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद तपाईहरुको एजेण्डा हो, त्यही उमेर हदको व्यवस्थासहित निर्वाचन हुँदैछ । एजेण्डामा तपाईहरुले जित्नुभएको छ । अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।’

बैठकमा क्रान्तिकारीका नेताहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे रिपोर्ट राखेका थिए ।

अनलाईनबाट हाइड्रोमा लगानी गर्नेको ओइरो, तीनदिनमा पौने दुई अर्व जुट्यो

काठमाडौं, पुस, २८ । सरकारले अनलाईनबाट हाइड्रोमा लगानी गर्ने आवेदन खोलेपछि पौने दुई अर्व लगानी प्रतिवद्धता आएको मन्त्रालयले जानकारी दिएको छ । सोमबारदेखि खुलेको अनलाईनमा बिहिबार साँझसम्म एक अर्व ६० करोड लगानी प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । बिहिबार मात्रै पन्ध्रसय ५२ जनाले २३ करोड ५६ लाख ६७ हजार ६५५ रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका छन् । सोमबार साँझदेखि खुलेको अनलाईन आवेदनमा हालसम्म अठार हजार दुईसय सात जनाले एक अर्व ५१ करोड ७० लाख रुपैयाँको लगानी गर्ने उल्लेख गरेका छन् । लगानी गर्नका लागि कम्पनीहरुले पनि चासो जनाएका छन् । अनलाईन खुलेको दिनदेखि आजसम्म सोह्र वटा कम्पनीले ५२ करोड अठार लाख रुपैयाँको लगानी गर्ने जनाएका छन् । नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सुरु गराएको लगानी प्रतिवद्धताले थुप्रै हाइड्रो बनाउन सक्ने बताइएको छ । ‘सर्वसाधारण जनता जलस्रोतमा लगानी गर्न खोजिरहेका छन्, हामीले लगानी सुनिश्चित गराउन पर्छ थुप्रै हाइड्रोमा लगानी जुट्छ’ मन्त्री शर्माले भने ।

विप्लव माओवादीले पार्टीको नाम फेर्ने !

रोल्पा, पुस २८ । विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम फेर्ने तयारी गरेको छ । मोहन बैद्य नेतृत्वको माअोवादीबाट फुटेको उसले धेरै माअोवादी भएकोले पार्टीको नाम नै फेर्ने तयारी गरेको रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले बताए । माओवादी भन्दा प्रचण्डले नेतृत्व गरेको पार्टीलाई बुझ्ने र नाम पनि पुरानो भएकाले पार्टीभित्र नाम परिवर्तन गर्ने बहस सुरु भएको उनले बताए । नाम फेर्ने बारे पार्टीभित्र बहस सुरु भएको उनले स्वीकारे । तर, यसको टुङ्गो भने आगामी फागुन १ गते बस्ने महाधिवेशनले टुङ्ग्याउने उनले बताए । विप्लव माओवादीको फागुन १ गतेदेखि आठौं महाधिवेशन काठमाडौं र रोल्पामा हुँदैछ । उनले भने– ‘अहिले पनि हाम्रो पार्टीको नामभन्दा पछिबाट विप्लव समूहको माओवादी भन्ने गरिन्छ ।’ पार्टीको पछाडि व्यक्तिको नाम जोड्नु राम्रो होइन, तर नेपालमा जोड्ने परम्परा बसेकोमा आफ्नो पार्टीले नयाँ थालनी गर्न खोजेको उनले जानकारी दिए । ‘हाम्रा पार्टीका महासचिव विप्लवले कम्युनिष्ट पार्टी भनेको साझा हुनुपर्छ अहिले हाम्रो पार्टीमा व्यक्तिको नाम झुण्डाउने गरिएकोले पार्टीको नाम फेर्नुपर्छ भन्नुभएको छ,’ उनले भने । विप्लवले मार्क्स विचारमा केही थप गरी नयाँ जनवादी क्रान्ति सुरु गर्ने तयारी गरेको छ । यो विषयमा थप निर्णय आगामी ८ औं महाधिवेशनको बन्द सत्रले गर्ने उनले बताए ।

ज्ञवालीलाई हटाएकोमा राप्रपाको आपत्ति ?

भक्तपुर, पुस २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपति शम्सेर रााणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेकोमा आपत्ति जनाए । भूकम्प पिडितलाई राहत दिन छोडेर सरकार सिइओ र्फर्न लागेको आरोप लगाए । अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको पनि बताए । मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गरेको उनले खुलाए । उनले मधेशी मोर्चालाई साथमा नलिई निर्वाचनमा जानै नसकिने बताए । सरकारले चुनावको तयारी गरिरहेका बेला उनले मधेसी मोर्चालाई साथमा लिनुपर्ने बताए । राणाले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने पनि स्पष्ट पारे। सत्ता साझेदार राप्रपाले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा संशोधन गर्नुपर्ने अडान जारी राखेको छ ।

एलडिओ साब ! चुनाव हुन्छ तयार भएर बस्नुस्

ललितपुर, पुष २८ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्। स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन्। “स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आउने भएकाले त्यसतर्फ चनाखो भएर स्थानीय निकायले काम गर्नुपर्छ” , मन्त्री पाण्डेले भने। स्थानीय विकास अधिकारीलगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न पनि उनले निर्देशन दिए। ‘पोषणका लागि समुदायको क्रियाशीलता आयोजना स् सुनौला हजार दिन’ नारासहित सुरु भएको आयोजना चैत महिनासम्म सम्पन्न गराउनुपर्ने भएकाले त्यसतर्फ उत्सुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले विश्वबैंकको सहयोगमा सञ्चालन भइरहेको यो आयोजना समयभित्रै सम्पन्न गराउन जरुरी रहेको बताए। मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको बताए। प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ । समुदायमा बाल कुपोषणको जोखिम कम गर्ने र पहिलो गर्भवती कम्तीमा २० वर्ष उमेरमा हुने देखिएकाले बच्चा जन्मान्तरको समयावधि बढाउन जनचेतना अभिवृद्धिलगातका कार्य गर्ने आयोजनाको उद्देश्य रहेको बताइएको छ । उक्त आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

संसदको लेखा समितिमा एमालेको बार्गेनिङ, विवादका कारण सभापति चयन कार्यक्रम स्थगित

काठमाडौं, पुष २७ । व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिका सभापतिको निर्वाचन कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका सांसदहरुले सभापति चयन प्रक्रिया पारदर्शी नभएको आरोप लगाएपछि विवाद सिर्जना भएको हो । विवादका कारण आज बुधबार चयन हुने भनिएको प्रक्रिया अवरुद्ध भएको छ । एमालेले निर्वाचन कार्यक्रम तय भएपछि सभामुख ओनसरी घर्तीले सदस्य थप गरेको भन्दै आपत्ती जनाएपछि आजको कार्यक्रम स्थगित गरिएको हो । समितिमा नेपाली कांग्रेसका तर्फबाट धु्रव वाग्ले थपिएका थिए । यद्यपी संख्यात्मक आधारमा हेर्दा सदस्य थपिएपनि त्यसले निर्वाचनको परिणामलाई भने कुनै असर पर्ने देखिन्न । समितिमा एमाले सांसदको संख्या एक तिहाई समेत छैन । कूल ५१ ५१ सदस्य मध्ये एमालेका १५ जना छन् । कतिपयले एमालेको यो आपत्री सभापतिमा आफ्नो दावीका लागि बार्गेनिङ गर्नुका अर्थमा समेत लिएका छन् ।

पृथ्वीनारायण शाहको योगदान सकारात्मक– प्रधानमन्त्री

चितवन, पौष २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउनु भएको छ । चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको छ । नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे रु यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’ चितवनको विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं । मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ । महानगरपालिकाको मापदण्डमा पनि हाम्रो आफ्नै सीमा छ, विकासको गति र जनघनत्वका आधारमा हामीले महानगरपालिका मौलिक रुपमै बनाउँदै आएका छौं । चितवन विकासको बहुआयमिक सम्भावना बोकेको जिल्ला हो । चितवनको विकास र समृद्धिबारे मैले हिजै आफ्नो दृष्टिकोण राखिसकेको छु ।’ नगर परिषद् उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, पूर्वमन्त्री एवं सांसद सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु गीता वाग्ले, कृष्णभक्त पोखरेल, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, सन्तकुमार दराई लगायतको उपस्थिति थियो । तेस्रो नगर परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ का लागि ८९ करोड ५० लाख ९९ हजार ४ सय रुपैयाँ बजेट प्रस्तावित गरेको कार्यकारी अधिकृत महेश बरालले बताउनु भयो ।

अबदेखि प्रधानमन्त्री, मन्त्रीलाई सांसदले प्रत्यक्ष प्रश्न सोध्न पाउने

काठमाडौं, पुस २६ । अबदेखि सांसदले प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । यसअघि सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीसँग संवाद गर्ने व्यवस्था थिएन । झन्डै डेढ महिना लामो अवरुद्ध संसद सोमबार शुरु भएपछि प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ पारित भएको छ। पारित कार्याविधि अनुसार प्रश्न सोध्न चाहने सांसदले आफ्नो प्रश्न संसद सचिवालयमा दर्ता गर्नुपर्नेछ। बढीमा २० वटा प्रश्न र एउटा बैठकमा दुई जना मन्त्रीसंग मात्र प्रश्न सोधिने व्यवस्था गरिएको बताइएको छ। प्रधानमन्त्री, मन्त्री र सांसदलाई जनताप्रति प्रत्यक्ष जिम्मेवार बनाउने ठानिएको संसदको उक्त प्रश्नोत्तरको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने संसद सचिवालयले जनाएको छ। प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई प्रत्येक महिनाको दोस्रो आइतबार तथा अन्य मन्त्रीहरुलाई प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार दुई घण्टाको समय निर्धारण गरिएको जनाइएको छ। सोमबार संसदमा कार्याविधि अनुमोदन भएपछि त्यसको शुरुवात प्रधानमन्त्रीबाट गरिने सभामुख ओनसरी घर्तीले बताइन्। उनले भनिन्, ‘संसदमा कस्तो प्रकारका प्रश्न आँउछन् र कुन विषयमा आँउछन् अनि ती कुन मन्त्रालय अन्तर्गत पर्दछन् भन्ने कुराले मन्त्रीहरुको प्रश्नोत्तर निर्धारण गर्दछ। हामीले यसको शुरुवात प्रधामन्त्रीबाट गर्ने भनी उहाँसंग कुराकानी गरिसकेका छौं।’ संसदमा यसअघि सांसदहरुले शून्य समय वा विशेष समय लिएर प्रश्नहरु राख्ने गरेपनि प्रत्यक्ष संवा गर्ने व्यवस्था थिएन । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले भने, ‘जनताले उनीहरुको प्रतिनिधिले प्रधानमन्त्री वा मन्त्रीसंग उनीहरुको सरोकारको विषयमा प्रश्न गरेको वा नगरेको वा उदासीन रहेको भन्ने देख्न पाउने भए। यसले गर्दा उनीहरुमा नैतिक जबाफदेहीता बढ्छ।’

चितवनको १० वटा विकासमा प्रधानमन्त्रीको चासो, सरकारबाट अर्वौ लगानी गर्ने

चितवन, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले जिल्लाको समग्र विकासमा सरकारबाट अर्बाै लगानी गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीले भने ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पूनः सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’ खानेपानीको हक जनताको मौलिक हक भएको उनले बताए । ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले भने । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो । मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलगत निरीक्षण गरे । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने- ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’

देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच एकता आवश्यकः अोली

विराटनगर, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेकपा (एमाले) मोरङको आठौं जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले भने – “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डो¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।” अध्यक्ष ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन गरी मुलुकलाई निर्वाचनतर्फ अग्रसर गराउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै  उनले भने—“यतिबेला स्वार्थहरु टकराएका छन्, त्यसैले गणतन्त्रको स्थायित्वका लागि नेपाली जनता सजग हुनुपर्दछ ।” देशलाई पछाडि धकेल्नका लागि क्षेत्र, भाषा र जातीय एकताबीच वैमन्स्यता फैलाउने काम अहिले भइरहेको छ, उनले भने– देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच सबल एकता हुनुपर्दछ । अध्यक्ष ओलीले द्वन्द्व यतिखेर उद्योगको रुपमा फस्टाएर व्यवसाय गर्न खोजिँदै छ, यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले संसद्बाट पारित हुन नसक्ने बताए । तीन दिने सो अधिवेशनको सफलताको कामना गर्दै उनले पार्टीे सङ्गठनलाई अझ सशक्त र बलियो बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिए । रासस

संगीत संघमा विवाद चुलियो, उपाध्यक्ष र सचिव सहित बहुमत सदस्यले दिए राजीनामा

काठमाडौं, पुस २५ । नेपाल संगीत उद्योग संघ भित्रको विवाद चुलिएको छ । संघमा अध्यक्षले एकलौटी मनोमानी गरेको भन्दै उपाध्यक्ष र सचिवसहित बहुमत छ जना असन्तुष्ट सदस्यले सोमबार राजीनामा दिएका छन् । संघका उपाध्यक्ष रामजीप्रसाद पन्त र सचिव टुकराज काफ्ले सहित विमल अधिकारी, सुविन लामिछाने, केशब सापकोटा, घनश्याम अधिकारी लगायत छ जनाले सोमबार राजीनामा दिदैँ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएका छन् । राजीनामा पत्रमा उनीहरुले संघका अध्यक्ष सुर्य मगरले मनोमानी ढंगले संस्था चलाएको आरोप लगाएका छन् । अध्यक्ष मगरले संस्थाको नियम विपरित आजीवन सस्यता बाँडेको, आर्थिक पारदर्शीता नदेखाएको, कार्यसमितीलाई जानकारी नै नदिइ एकलौटी संस्थागत निर्णय गरेको, संस्थाका फर्निचर समेत तोडफोड गरि मर्मत सम्म नगरेको आरोप लगाउँदै नैतिकताले संस्थामा रहन उपयुुक्त नठानेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । गोपाल योञ्जन,मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, शम्भु राईजस्ता दिग्गज व्यक्तिले हाँकेको संघ अहिले धराशायी अवस्थामा छ । एक वर्ष अगाडि अध्यक्षमा निर्वाचित भएका मगरले संस्थागत काम नगरेको भन्दै आलोचित बन्दै आएका थिए । १३ सदस्य रहेको कार्यसमितीमा यसअघिनै दुई सदस्यलाई कारवाही गरिएकोले ११ जना मात्र सदस्य बाँकी थिए । बहुमत सदस्यले राजीनामा बुझाएपछि संघ अहिले बैधानिक संकटमा परेको छ ।

एमालेको सहमतिमै संशोधन प्रस्ताव टेबल गरिएको प्रधानमन्त्रीको भनाई

चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेको सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबल गरेको बताएका छन् । चितवन महोत्सवको उद्‌घाटन तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले प्रेस सेन्टर चितवनले सोमबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बाहिर कुरा आएजस्तो जबरजस्ती नभई एमालेसँगकै सहमतिमा संशोधनको प्रस्ताव टेबल गरिएको प्रष्ट्याए । ‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’ आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने– ‘संशोधनको प्रस्ताव टेबल गर्नुअघि केही प्रमुख नेताहरुलाई सभामुखले बोलाइसकेपछि छलफल भएको थियो । यसपछि एमाले अध्यक्ष ओलीजीसँग आफ्नो एक घण्टा छलफल गरेको र विषयमा सहमति नबनेपनि प्रक्रिया अगाडि बढाउनेमा सहमति भएपछि प्रस्ताव पेश गरिएको हो ।’ देशलाई समझदारी साथ अगाडि बढाउन र संविधान कार्यान्वन गर्न ओलीजीसँग गम्भीरतापूर्वक साथ कुराकानी भएको बताए । ‘कुनै न कुनै उपाय खोजेर यो स्थितीलाई अगाडि बढाउने र देशलाई निर्वाचनतिर लैजाने भएकोले यो चाँडै नै टुगिन्छ,’ उनले भने– अब टुङ्गयाएर निर्वाचनमा जाने तयारीमा छौं ।’ उनले पहिला जस्तो हतारमा कुनै काम नगर्ने बताए । ‘विगतमा हतारमा निर्णय गर्दा जनताको काम गर्न सकिएको थिएन, जनताको काम गर्न सत्तामा पुगेको छु अब हतार गरेर निर्णय गर्दिन’ उनले भने । ‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्र छाड्छु ।’ उनले पुरक बजेटको पनि कुरा अगाडि बढेको र चितवनलाई लक्षित गरेर महत्वपूर्ण प्याकेज ल्याउने घोषणा गर्ने बताए ।

चुनावको माहोल बन्यो–शशांक

पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको सोमबार शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए । देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उनले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए । आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उनको जोड थियो । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए। नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले निर्माणाधीन पार्क निर्माणका लागि नेपाली काँग्रेस कास्कीका साथै अन्य निकायबाट सहयोग जुटाइने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी नेताहरू आशिष शर्मा, आदर्श लामिछानेलगायतले आ–आफ्ना धारणा राखे ।

दोलखामा ७ हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

दोलखा, पुस २५ । भूकम्प गएको २० महिना पछि जिल्लामा ८८.०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन्। जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भए पनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ। प्राधिकरणका अनुसार सम्झौता सकिएको तर रकम बैंक खातामा जम्मा नभएका एक हजार ६५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ। चार हजार ५४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी छ। प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ। पैँतालीस हजार ७४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको सङ्ख्या शून्य रहेको हो। दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो। भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो। छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७१२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए। उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ। सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन्। भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन्।

राप्रपा नेतासँग उपराष्ट्रपति पुनले यसो भने

काठमाडौँ, पुस २५ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन्। ‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन्। सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए। राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ । सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।

सुवास नेम्वाङ भन्छन–‘हाम्रो आन्दोलन जारी नै रहन्छ, संसद् चल्न दिँदैनौं’

काठमाडौं, पुस २५ । एमाले संसदीय दलका उपनेता तथा सभामुख सुवास नेम्वाङले संसदीय मान्यता विपरित संशोधन विधेयक टेबल भएकोले एमालेले आन्दोलन गर्ने बताएका छन् । एक रेडियो अन्तर्वार्तामा नेम्वाङले भने–‘सरकारको संविधान संशोधन विधेयक औचित्यहीन एवं मुलुकको हितविपरीत रहेकाले हाम्रो सहमति हुँदैन, हाम्रो आन्दोलन जारी नै रहन्छ संसद् चल्न दिँदैनौं ।’ प्रतिपक्षीको विरोध गर्दा गर्दै संविधान संशोधन विधेयक प्रस्तुत भएको भन्दै उनले विधेयकमाथि छलफल हुन नदिने स्पष्ट पारेका हुन् । ‘संसोधन असफल बनाउने आन्दोलन जारी रहनेछ विधेयक अब पास हुन सक्दैन ।’ उनले औचित्यहीन एवं मुलुकको हितविपरीत सरकारले संशोधन विधेयक अगाडि बढाएकाले संसद्मा छलफल गर्न नदिई शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । तर, नेम्वाङले संशोधन विधेयकबाहेक निर्वाचन, महाअभियोगलगायतका विषयमा एमालेले छलफल गर्न संसद् अवरुद्ध नगर्ने जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले संविधान संशोधनविरुद्ध आन्दोलन गर्दै आएका छन् । १४ मंसिरमा सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि विपक्षी नौ दलहरूले १६ मंसिरदेखि नै संसद् र सडकमा आन्दोलन गर्दै आएका थिए ।