एउटै व्यक्तिका चारथरी हस्ताक्षर गरेर कसले खाए भूकम्पपीडितका जस्तापाता ?

चरिकोट, २२ माघ । भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ ।

एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानविन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा गम्भीर लापर्वाही भएको तथ्य सार्वजनिक भएको छ ।

दोलखाको शैलुङ्गेश्वर गाविसमा प्लान नेपाल आफंैले ठेकेदारमार्फत बाँडेको जस्तामा १८ प्रति जस्तापाताको हस्ताक्षर गराएर १४ प्रति जस्तापाता मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेसँगै प्लान नेपालले गरेको भ्रष्टाचारको तथ्य सार्वजनिक भएको हो ।

स्थानीय शिव थपलियाका अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको भेटिएको छ । सोही गाविस वडा नं २ का ५६ परिवारलाई १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिएपछि स्थानीय जनता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आउने भएका छन् । प्लान नेपालले गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै किर्ते हस्ताक्षर गरी राहत सामग्रीमा अनियमितता गरेको भन्दै स्थानीयवासीले सरोकारवाला निकायमा उजुरी गर्ने बताएका छन् । प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ । प्लानले शैलुङ्गेश्वर गाविसमा बाँस, त्रिपाल, चामल, लत्ताकपडा र जस्ता वितरण गरेको थियो ।

स्थानीय समाजसेवी अरुण उपे्रती भन्नुहुन्छ, “दिउँसो सामान बाँड्ने भनेर राति बोलाइन्छ । सामान ढुवानी गर्ने भन्दै स्थानीयवासीहरुबाट पनि पाँच सय देखि सातसयका दरले रकम उठाएका छन् । प्लान नेपालले ठेकेदारलाई ढुवानीसम्मको रकम उपलब्ध गराएको हुन्छ, तर प्लानका कर्मचारीले यो सिधासिधा भूकम्पपीडित ठग्ने खेल गरे ।” जस्ता खरिद गरेका संखुवासभाका जस्ता सप्लायर्स कम्पनीका भानुभक्त कलादीले आफूले जस्ता खरिद मात्रै गरेको र वितरण र नपुगकाबारेमा प्लान नेपालका कर्मचारीलाई सोध्न आग्रह गरे ।

यता, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले गरेको गल्ती पुष्टि भए कानुनी कारबाही गरिने बताउनुभएको छ ।

शैलुङ्गेश्वर वडा नं ८ का कुमार थपलियाले आफूलाई १८ पाता जस्तामा हस्ताक्षर गराएर १६ पातामात्रै जस्ता दिएको बताएका छन् । त्यस्तै, शैलुङ्गेश्वर वडा नं ८ का खड्गबहादुर थपलियाले पनि १८ पाता जस्तामा हस्ताक्षर गर्न लगाएर १६ पाता मात्रै दिन लागेपछि जस्ता नबुझेको बताउँछन् ।

उनी भन्छन् – पैसा पनि तिर्नु, जस्ता पनि कम पाउनु । त्यसैले मैले जस्ता बुझिनँ । स्थानीयवासी शिव थपलियाले प्लानको चरिकोट कार्यालयमा सूचना मागेर भरपाई अध्ययन गर्दा प्लान नेपालले राहत सामग्री बाँड्दा एउटै व्यक्तिलाई चार थरी सामान दिँदा चार थरीकै हस्ताक्षर भेटिएको तथ्य बाहिर आएको बताए ।

प्लान नेपालका अनुसार दसैं अगावै जस्ता स्थानीय जनतालाई बाँड्नुपर्ने जस्ता प्रतिकूल मौसम र बाटोको समस्याले गर्दा बाँड्न नसकिएको स्वीकारेको छ । वितरणमा केही त्रुटि भएको पनि उसले बताएको छ । यस विषयमा सोध्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आउन चाहनुभएन । प्लान नेपालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा ठेकेदार र वडा नागरिक मञ्चको रोहबरमा विभिन्न राहत सामग्री बाँडिएको र स्थानीयवासीकै सहमतिमा पाँचसय देखि सातसयसम्मको ढुवानी रकम उठाएको बताएका छन् ।

प्लानले शैलुङ्गेश्वर गाविसमा मात्रै ४९९ परिवारलाई जस्ता वितरण गरेको बताएको छ ।

गोकर्णप्रसाद भण्डारी, रासस

राजनीतिभन्दा कृषि प्यारो

रोल्पा,  माघ २२ । दशवर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आउनुभएको छ । शान्तिकालमा नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ । तत्कालीन युद्धका बेला छापामार रहनुभएका उहाँ नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्नुहुन्छ । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आउनुभएका उहाँले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्ने पेसा अँगाल्नुभएको हो । उहाँले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएको थियो । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गर्नुभएको हो । सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आउनुभएका उहाँको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् । आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्नुहुन्छ, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पु¥याउनै सकिएको छैन ।” उहाँले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उहाँ अहिले नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य समेत हुनुहुन्छ । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उहाँ भन्नुहुन्छ, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।” रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् । जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउनुहुन्छ । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ । प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलँैचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउनुहुन्छ । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वर्षातको पानी सङ्कलन आयोजना संचालन

काठमाडौँ, माघ २२ । खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि वर्षात् पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ । खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ वर्षातमा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “खानेपानी अति दुःख हुने स्थानमा यो आयोजना लक्षित गरेका हौं ।” विभागले हाल भक्तपुरको महादेवखोला र दाङको पाटुखोलामा वर्षात् पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको छ भने अरु स्थानमा अध्ययन गरेको छ । विभागले नागरिकका घर घरमा खानेपानी पु¥याउन तराई क्षेत्रमा डिप बोरिङ तथा पहाडी क्षेत्रमा खोलाबाट मोटरमार्फत पानी तान्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

जनकपुरको विकासका लागि सत्याग्रह

जनकपुर, माघ २२ । आधुनिक जनकपुर निर्माण सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कलामुद्दिन राईनले आज तेस्रो दिन पनि जनक चोकमा सत्याग्रह जारी राखेका छन् । यसअघि सोही विषयमा धनुषा र महोत्तरीबाट ‘जनताको साझा सवालमा एकता गरौँ, विकास र आर्थिक समृद्धिसहितको आधुनिक जनकपुरको निर्माण गरौँ’ भन्ने नारा लेखिएको कपडामा एक लाख हस्ताक्षर सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य गरिए पनि कुनै पहल नभएका कारण आमरण अनशन गरिएको जनाइएको छ । जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरण, मठमन्दिरका जग्गाको समुचित व्यवस्थापनलगायत सात सूत्रीय माग पनि अघि सारिएको छ । आधुनिक जनकपुर निर्माणका लागि परिषद्का अध्यक्ष शर्माको संयोजकत्वमा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, युवा सङ्घर्ष समिति, नागरिक समाज, राष्ट्रिय मुस्लिम गठबन्धनलगायत धार्मिक तथा सामाजिक सङ्घसंस्थासमेत रहेको १०१ सदस्यीय आधुनिक विकास निर्माण समिति पनि गठन गरिएको छ ।

थापा निर्विरोध निर्वाचित

हेटौँडा, माघ २२। राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित हुनु भएको छ । क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं १ बाट राजाराम अर्याल, क्षेत्र नं २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं ३ बाट धु्रव सन्जेल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित हुनुभएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

अबैध सुनसहित एक पक्राउ

काठमाडौं, माघ २२ । अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको छ । विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ । रासस

सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको होः सभापति देउवा

काठमाडौँ,  माघ २२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले परिकल्पना गरेको आगामी वर्षको माघ भित्रैमा तीन तहको निर्वाचन गरेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न अहिले सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको बाटोमा गइरहेको छ, सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको हो ।” सभापति देउवाले लोकतन्त्रलाई स्थायी बनाउन नेपाली काँग्रेको काँधमा ठूलो जिम्मेवारी रहेको बताउँदै संविधान सशोधनका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अप्ठ्यारो पारिरहेको छ भन्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको मूल्य मान्यता, आदर्श र संस्कृतिका आधारमा नेपाली काँग्रेसको सङ्गठन चलाउनुपर्नेमा त्यसो हुन नसक्दा कार्यकर्ताको भावना कुडिएको बताउनुभयो । संविधान संशोधन गराउन काँग्रेस प्रतिबद्ध रहेको जनकारी गराउँदै उहाँले जनतालाई निर्वाचनतर्फउन्मुख गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले नेताको भाषणभन्दा कलाकारलाई मञ्च दिँदा पार्टीको जनमत बढ्न जाने पक्षलाई आगामी दिनमा ध्यान दिइने बताउँदै हिमाल, पहाड र तराईलाई समेट्ने गरी पार्टीले देश अभियान सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो । पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले कस्ता मुद्दालाई अघि बढाउन आवश्यक छ भन्ने कुराको कलाकारले पहिचान गरेर सुझाव दिन आवश्यक रहेको बताउनुभयो । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी वर्षको माघभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गरेर नेपाली राजनीतिलाई स्थायित्व दिनुपर्छ भन्नुभयो । केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनका माध्यमबाट स्थानीय तहमा नेपाली काँग्रेसको उपस्थितिलाई बलियो तुल्याउन आवश्यक छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले कला र संस्कृतिका माध्यमबाट तराई–पहाडबीचमा भाइचारा र लोकतन्त्रको प्रवद्र्धन गर्नु उपयुक्त हुनेछ भन्नुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेले कलाकारलाई साधना गर्नका लागि प्रोत्साहन गर्न राज्यको लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने भएकाले त्यसका लागि पार्टी एक ढिक्का हुनुपर्ने र सांस्कृतिक सङ्घको भूमिकालाई प्रभावकारी तुल्याउनुपर्ने बताउनुभयो । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत राजनीतिक व्यवस्थापनमा देखिएको चुनौतीको निकास दिन हम्मेहम्मे हुने कि भन्ने देखिएको धारणा व्यक्त गर्नुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले राजनीतिक भित्र देखिएको असङ्गतिलाई हटाएर जनतामा सुशासनको प्रत्याभूति दिन आवश्यक छ भन्नुभयो । सङ्घका अध्यक्ष तीर्थ थापाले ‘समृद्धिका लागि हाम्रो अभियान समृद्धि, सुरक्षा र पहिचान’ मूल नारा रहेको तीनदिने महाधिवेशनले सङ्घ हाँक्न सक्ने नयाँ नेतृत्वको चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा कलाकारले नेपाली काँग्रेसभित्र देखिएको गुटउपगुट तथा त्यसको अत्य गर्न प्रेरित गर्ने व्यङ्ग्यसहितको प्रहसन प्रस्तुत गरेका थिए । नेपालको विविधता झल्कने गीत सङ्गीत पनि समारोहमा प्रस्तुत गरिएको थियो । रासस

सेनाकाे रगत पसिनाले जोगिएको देश हाे : प्रधानसेनापति

काठमाडौं, माघ २१ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले रगत–पसिना बगाएका कारण अहिलेसम्म देशको राष्ट्रिय अखन्डता बचिरहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा सुदूरपश्चिम भेगीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले राज्य संकटमा पर्दा सेनाले रगत–पसिना बगाएकोले देशको अखण्डतामा आँच नआएको बताए । देश संकटमा पर्दा रगत–पसिना बगाएका भूतपूर्व सैनिकहरु आवश्यक परे फेरि पनि राष्ट्रसेवाका लागि तयार रहने उनले विश्वास व्यक्त गरे ।

जनताकाे अधिकार गाैण रह्याे, पार्टी पत्रकारिता मौलायो : सञ्चारमन्त्री

काठमाडौं, माघ २१ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको छ ।’ उनले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गरे । वर्तमान सरकार स्वतन्त्र प्रेस, मानवअधिकारको रक्षा र जनतालाई सुशासन प्रदान गर्न कहीँकतै नचुकेको औल्याउँदै मन्त्री कार्कीले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, नेपाल पत्रकार महासङ्घको आठ जिल्ला शाखा निर्माणमा प्रतिशाखा रु पाँच लाख वितरण, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यस्तै उनले ३५ जिल्लामा सामुदायिक सूचना केन्द्र स्थापना गर्न सामुदायिक विद्यालयको छनौट, दूरसञ्चार पूर्वाधार, देशव्यापी ब्रोड व्यान्ड सेवा विस्तार, हुलाक, चलचित्र, मुद्रण र सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्डलगायतका कार्यकारी प्रमुखको नियुक्ति र मनोनयन प्रक्रिया अगाडि बढेको बताए ।

पर्यटन विकासले नयाँ फड्को मार्नेछ : प्रधानमन्त्री

काठमाडौ, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन क्षेत्रले छिट्टै नयाँ फड्को मार्ने बताएका छन् । नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दे प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेकाले अब चँडै नै पर्यटन विकासले नयाँ फड्को मार्ने बताए । ‘नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्नेछ’ – प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिए । प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरुको बृद्धि हुने बताउँदै अव नेपाललाई एक बलियो, एकतावद्ध र सम्वृद्ध राष्ट्र बन्नवाट कसैले रोक्न नसक्ने स्पष्ट पारे । उनले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेश, पहाड र हिमालमा द्वन्द गराउन चाहनेहरुको भण्डाफोर गर्नुपर्ने वताउँदै वर्तमान सरकार राष्ट्रिय एकता वलियो वनाएर सम्वृद्ध नेपाल निर्माणमा अघि बढेको बताए ।

सिके राउतलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, माघ २१ । राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा पक्राउ परेका सिके राउतलाई १० दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राख्न इलाका प्रहरी कार्यालय लाहानलाई आदेश दिएको हो । अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिए अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ । संगठित अपराध अन्तर्गत मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले मुद्दा दर्ता गरेको छ ।

सरकारसँग विप्लव माओवादी आक्रोशित, आज राजधानीमा विरोध प्रदर्शन गर्ने

काठमाडौ, माघ २१। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्दशन गर्ने भएको छ । सरकारले अनावश्यक रुपमा आफ्नो पार्टी माथि निगरानी बढाउने तयारी थालेको भन्दै विरोध गर्न लागेको हो । शुक्रबार अपरान्ह ३ बजेपछि राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी भएको माओवादीले जनाएको छ । शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाउने गरी सरकारले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोधमा उत्रिन उसले पार्टीका जनवर्गीय संगठनलाई निर्देशन समेत दिएको छ । नेपाल प्रहरीले माओवादी कार्यकर्ताको गतिविधिमाथि निगरानी राख्न यसअघि नै देशभर सर्कुलर जारी गरिसकेको अवस्थामा हिजो सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा समेत माओवादी गतिविधिमाथि निगरानी बढाउने बारेमा छलफल भएको सूचना पाएपछि विप्लव माओवादी विरोधमा उत्रिन लागेको हो । राजधानीको शान्तिबाटिकाबाट सुरु हुने विरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड हुदै पुनः शान्तिबाटिकामा नै पुगेर सभामा परिणत हुनेछ । सभालाई नेकपा माओवादीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

शाहीको हत्या आरोपी छ जनालाई थुनामा राख्न अदालतको आदेश

ताप्लेजुङ, माघ २१ । ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो । सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५ जनालाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ–८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ भने तोयानाथ लिम्बूलाई रु ५० हजार धरौटी माग गरेको जनाइएको छ । यस्तै, विष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ हाङदेवा–५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका–६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैँया धरौटी माग गरेको अदालतले जनाएको छ । जाजरकोट जिल्लाको दशेरा गाविस–८ मा घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत रहेका शाहीको गत पुस १७ गते कार्यस्थलमा नै बीभत्स हत्या भएको थियो । खोक्लिङको ओइराखुस्थित बाघथला सामुुदायिक वन समूहले सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि जिल्ला वन कार्यालयलाई अनुरोध गरेपछि जिल्ला वन कार्यालयले वनरक्षक शाहीलाई सर्वेक्षणका लागि खोक्लिङ पठाएको थियो । निजी र सामुुदायिक वनका विषयमा भएको विवाद साम्य गर्न खोजिरहेका बेला सोही स्थानमा नै शाहीमाथि सबिन लिम्बूले नजिकै रहेका दावाको साथबाट खुकुरी झिकेर प्रहार गरेको प्रहरीको बुझाइ छ ।

निर्वाचन कार्यालयमा दल दर्ता गर्ने बढे

काठमाडौं, माघ २१  । निकट भविष्यमा हुन गइरहेका स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् । कास्कीः जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा भाग लिएका हरियाली पार्टी, सङ्घीय गणतान्त्रिक र नेपाल मजदुर किसान पार्टीले भने यस पटक निर्वाचन कार्यालयमा दर्ता भएका छैनन् । दर्ता भएका राजनीतिक दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय शिव सेना, नेपाल परिवार दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । यस्तै, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी, नेकपा माले (जनसमाजवादी) पार्टी पनि निर्वाचन कार्यालयमा दर्ता भएका छन् । कार्यसमितिको सदस्य सङ्ख्यामा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा वढी नौसय ९९ र सबैभन्दा कम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र राष्ट्रिय यथार्थवादी पार्टीले सात÷सातजना सदस्य सङ्ख्या रहेको विवरण कार्यालयमा बुझाएका छन् । त्यस्तै, नेपाली काँग्रेसले ४४, एमालेले ८० र राप्रपाले एकसय एकजना सदस्य सङ्ख्या रहेको विवरण बुझाएको बताइएको छ । भोजपुर ः स्थानीय तहको निर्वाचनमा भाग लिन भोजपुरमा १३ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । दल दर्ताको अन्तिम समयसीमा सकिँदासम्म भोजपुरमा १३ दलले निर्वाचन कार्यालय भोजपुरमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका एकसय ११ दलको सूची जिल्लामा पठाएर आयोगले त्यसैका आधारमा दल दर्ताको विवरण पठाउन देशका सबै जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको थियो । निर्वाचन आयोगको निर्देशन सहितको परिपत्रअनुसार जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचनाभित्र रहेर आफ्नो दल दर्ता गर्नेमा क्रमश ः नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टी (जनसमाजवादी) रहेका छन् । निर्वाचन आयोगमा दर्ता भएका दलले मात्र निर्वाचनमा भाग लिन पाउने भएकाले जिल्लामा पनि दल दर्ता गरेर यहाँको विवरण आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी दिव्यश्वरी शाक्यले जानकारी दिनुभयो । सिन्धुली ः जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) दुईपटक दर्ता गरिएको छ । दुईजना व्यक्तिले आफू पार्टीको आधिकारीक व्यक्ति भन्दै दुईपटक दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) सिन्धुलीको प्रमुख आफू रहेको भन्दै माघ २ गते बुद्धिराम श्रेष्ठले पाँचौँ नम्बरमा कार्यालयमा पुगेर दल दर्ता गराउनुभएको थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) सिन्धुलीको आफू आधिकारिक व्यक्ति भन्दै हिरण्यलाल श्रेष्ठले माघ १० गते जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा ११औँ नम्बरमा दल दर्ता गराउनुभएको छ । दुवै व्यक्तिले दल दर्ता गराएपछि विवादित बनेको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)का बारेमा निर्वाचन आयोगलाई जानकारी गराइएको निर्वाचन अधिकारी जोशीले बताउनुभयो । यस्तै, सिन्धुलीमा निर्वाचन आयोगले दिएको समयसीमा भित्रमा २० वटा दल दर्ता भएका छन् । सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दल दर्ता गराएको छ । त्यसपछि क्रमशः नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, मुस्कान सेना, नेपाल परिवार दलले दल दर्ता गराएका छन् । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, अखण्ड नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले जनसमाजवादी), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र युनाइटेड ग्रिन अर्गनाइजेसनले दल दर्ता गराएका छन् । गुलरिया (बर्दिया) ः स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बर्दियामा २१ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बर्दियामा दर्ता भएका छन् । निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बर्दियामा २१ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी पवन शाहीले जनकारी दिनुभयो । पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका २१ दल रहेका छन् । महोत्तरीः महोत्तरी जिल्लामा २९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले जिल्ला÷जिल्लामा दल दर्ता गर्न दिएको गत सोमबार सम्मको अवधिमा २९ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन् । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेकपा (माले), नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय शिब सेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल रहेका जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिनुभयो । जिल्लामा दर्ता भएका अन्य दलमा बहुजन शक्ति पार्टी, नेकपा (माले) (जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, बहुजन समाज पार्टी नेपाल, राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, नेपाल जनता पार्टी, राष्ट्रवादी पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र युवा नेपाल पार्टी रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । रासस –––––––

प्रहरी–नागरिक सहकार्य आवश्यकः महानिरीक्षक अर्याल

भीमदत्तनगर, माघ २१ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याए। “अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन”, प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो–“अपराध नियन्त्रणमा बढ्दै गएका चुनौती सामना गर्न नागरिकबाट पनि प्रहरीलाई सहयोग आवश्यक पर्छ ।” नागरिक अपेक्षाअनुरुप सेवा गर्न प्रहरीको कार्यशैली, प्रविधि र दक्ष जनशक्ति आवश्यक हुने उनको भनाइ थियो । प्रहरीलाई नयाँ चुनौती पनि समयक्रमअनुसार थपिएको बताउँदै उनले प्रहरीप्रति जनअपेक्षा पनि बढ्दै गइरहेको धारणा राखे । “जनचाहना पूरा गर्न नसके प्रहरी पनि समाजमा स्थापित हुन सक्दैन”, अर्यालले भन्नुभयो–“वर्तमान समयमा अपराधको दायरा पनि बढ्दै गइरहेको स्थिति छ ।” प्रहरीलाई राम्रो बनाउने दायित्व नागरिक समाजको पनि भएको बताउँदै अर्यालले स्थापनाकालदेखि अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी ऐनले तोकेको जिम्मेवारी प्रहरी सङ्गठनले बहन गर्दै आइरहेको बताउनुभयो । दङ्गा नियन्त्रण गणमा दुई चरणमा निर्माण भएका ब्यारेक, कार्यालय भवन, क्वार्टर गार्ड लगायतका भवन उद्घाटन गरिएका हुन् । त्यसैगरी, केही भवन अझै निर्माणाधीन अवस्थामा रहेको दङ्गा प्रहरी नियन्त्रण गणका गणपति प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । रासस

लाङटाङमा बस्न पर्यटकलाई सहज बन्दै

रसुवा, माघ २१  । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ । लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ । विसं २०७२ को भूकम्पले लाङटाङ भित्रको लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ । लाङटाङमा दुईसय र क्याङजेनमा तीनसय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सृजना भइसकेको अध्यक्ष लामाले बताउनुभयो । समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटक बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एकसय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भई सिम्रिक एअरको हेलिकप्टरबाट सामान ढुवानी भइसकेको बताइएको छ । रासस