एसईईको तयारी पूरा, एउटा परीक्षा केन्द्र जापानमा

एसईईको तयारी पूरा, एउटा परीक्षा केन्द्र जापानमा
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

चैत १५ देखि २७ गतेसम्म हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए। 

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए। 

पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए।

‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने।

परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको जानकारी दिए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ। 

नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्। बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। 

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ। 

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ। 

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईईको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। 

परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अंक र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए। 

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ। ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।

उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। रासस

निर्वाहमुखी पशुपालकको साथमा मेयर रेनु : कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण

चितवन ।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ। २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा शनिबार पनि भरतपुर महानगरपालिका–२२ का परिवारलाई बाख्रा र हाँस वितरण गरिएको छ। १९ जना कृषकलाई ५० वटा दरले हाँस र २० जनालाई २ वटाका दरले बाख्रा र २ बोका वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ। राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ, उलने भने। भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताइन्।  बाख्रा र हाँस पाएपछि कृषकहरु खुसी भएको सञ्चारकर्मीलाई बताए। नव महिला कृषक समूहका अध्यक्ष कष्ण कुमारी महतोले हाँस बेचेर छोरा छोरीको पढाईमा खर्च गर्ने बताइन्। निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास गरे।गतसाल जेठमा समेत यहाँकै १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो।  

नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य प्राप्त गर्न अघि बढेको नेपालबाट रोहितले २७ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । जारी खेलको ११ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ९६ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिबार टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजका कप्तानको रोस्टन चेस अर्धशतक प्रहार गर्न सफल भए ।  यस खेलमा सर्वाधिक रन प्रहार गर्ने वेस्टइन्डिजका ब्याटर उनी नै हुन् । उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन प्रहार गरे ।  ओपनर एलिक एथेनाजे प्रदर्शन सुखद रह्यो । उनले ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ प्रहार गरे । अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर रनको खाता नखोली पभेलियन फर्किए । अर्का ब्याटर आन्द्रे फ्लेचर पनि खासै चल्न सकेनन् । उनी मात्र १३ रन जोडेर क्रिजबाट बाहिरिए । अर्को ब्याटर केसी कार्टीले २६ बलमा ३८ रन जोडे । उनले १५ बलमा दुई चौका प्रहार गरे । नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १(१ विकेट लिए ।

नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर

काठमाडौं ।  बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताएका हुन् ।  २०८० फागुनमा बैङ्क तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३।७३ प्रतिशत पुगेको भन्दै उनले भने, “यद्यपि २०८० फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९।४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२।४४ प्रतिशत रहेकाले नेपालका बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको छ ।” चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा आएको सुधारसँगै बैङ्किङ प्रणालीमा तरलता बढेको छ र फलस्वरूप, अल्पकालीन एवं दीर्घकालीन ब्याजदरहरू घट्दै गएको उहाँले बताए। २०८० फागुनमा वाणिज्य बैङ्कहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको उनले जानकारी दिए। अब बैङ्कको कर्जा असुली सहज हुने भन्दै उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान रहेको बताए। चालु आवमा रेमिट्यान्स उच्च रहेको र यसले ब्याजदरमा परेको चाप कम भएको भन्दै गर्भनर अधिकारीले आर्थिक गतिविधिमा शिथिलता आउँदा बैङ्कको रिकभरीमा समस्या देखिएको बताए । राष्ट्र बैङ्कका डेपुटी गभर्नर नीलम ढुङ्गानाले कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बेला आएको बताए। अहिले खराब कर्जा बढिरहेको, गैरबैङ्किङ सम्पत्ति बढिरहेका बेला पनि रेमिट्यान्स बढेको उनले बताए। अहिले बैङ्किङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने डेपुटी गभर्नर ढुङ्गानाले बताए। कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकाल सम्मान गरिएको छ भने आव २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई गरी तीन वाणिज्य बैङ्कलाई सम्मान गरिएको छ । यस्तै बढी रेमिट्यान्स भित्र्याउने इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आइएमई लिमिटेडलाई सम्मान गरिएको छ ।   

लोकप्रिय