सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ ।

३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

s

धनगढीमा श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या

धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए । साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको र अहिले विमानलाई ग्राउन्डेड गरिएको उनले बताए । काठमाडौंबाट आएको प्राविधिक टोलीले त्यसको निरिक्षण गर्दैछ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए ।

भागेका थुनुवालाई समाउन खोज्दा जवानको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ। ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। चौधरी कैलालीका वासिन्दा हुन्। जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला कुँवर हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए।  भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने टाउकोमा चोट लागेको थियो।  लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।

कुटपिटबाट युवकको मृत्यु, एक दम्पतीसहित ५ जना पक्राउ

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादी बाहिरिएसँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ । यसअगाडि नेकपा माओवादी पनि प्रदेश सरकारबाट बाहिरिएको थियो । एकीकृत समाजवादी पनि सरकारबाट बाहिर भएसँगै सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीका तर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् । शाहीले यस्तो जानकारी गराएपछि मुख्यमन्त्री शाहले शाहीले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ । माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ । सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् । संसदीय दलका नेता घनश्याम चौधरी पर्ख र हेरको अवस्थामा पार्टी रहेकाले अहिले नै सरकारको विषयमा कुनै निर्णय नभएको बताए ।

वडा कार्यालयको सभाहलभित्र महिलाको शव फेला, अनुसन्धान जारी

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को  कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको शव फेला परेको हो । धामीले एक नगरप्रहरीसँग विवाह गरेर कञ्चनपुर आएको खुलेको छ । उनको शव भुन्डिएको अवस्थामा फेला परेका कारण आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले वडाकार्यालयको सीसीटीभीमार्फत अध्यनन सुरु गरेको जनाइएको छ ।  

भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कैलाली। कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जीवी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनीराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुन पगेका थिए ।  घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसियुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ । 

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

धनगढी । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् ।उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका हुन् । विजयी ढुङ्गानाले २८७ र पराजित भएका पाण्डेयले २१८ मत प्राप्त गरेका हुन् । यसैगरी, अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा पाण्डेय प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतान्तरले विजयी भए । विजयी शाहीले १९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत प्राप्त गरे । उपाध्यक्षकै उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ र गजेन्द्र स्वाँरले २७ मत प्राप्त गरे  सचिवमा पाण्डेय प्यानलकै ममतप्रसाद चौधरी २४३ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत प्राप्त गरेर पराजित भए। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरे । उपसचिव (खुलातर्फ) ढुङ्गाना प्यानलका चूडामणि भट्ट २५१ पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत प्राप्त गरे । यस्तै, उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५, राजु गुरुङले ७१ मत प्राप्त गरे ।  उपसचिव (महिला)मा गङ्गाकुमारी चौधरी १९६ मत पाएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४, अम्बिका विष्टले ९० मत प्राप्त गरे । एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि नवौँ अधिवेशन सुरु भएको छैटौँ दिनमा हिजो शुक्रवार निर्वाचन भएको थियो । निर्वाचनमा ५७७ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको छ ।  अध्यक्षका आकाङ्क्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले साथ दिएका थिए । डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ रहेको थियो । हाल अध्यक्षमा विजयी भएका यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

बालविवाह रोक्न धामी सक्रिय

बैतडी । बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो । सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।  बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले जानकारी दिए।   सामाजिक विकास कार्यालय बैतडी प्रमुख शङ्कर जोशीका अनुसार बैतडीमा ४२ प्रतिशत बालविवाह हुने गरेको छ ।