हिल्फे वाइल्ग्रिसद्वारा विद्यालय भवन मर्मत

चौतारा, कात्तिक १२ । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका छ विद्यालय भवन नेपाल हिल्फे वाइल्ग्रिस इभि जर्मनीको आर्थिक सहयोगमा सबलीकरण प्रविधिद्वारा मर्मत गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भवन पनि सोही संस्थाले निर्माण गरेको र हाल पनि उसैले मर्मत गरेको हो । कक्षाकोठा अभावमा जिल्ला शिक्षा कार्यालयद्वारा अस्थायी रुपमा निर्मित टहरामा पठनपाठन हँुदै आएकामा अब आफ्नै भवनको कक्षाकोठाबाट पठनपाठन हुनेछ ।

सबलीकरण महँगो भए पनि भरपर्दो प्रविधि भएको बताइएको छ । मर्मत गर्न छ विद्यालयका लागि करिब रु ६ करोड ७१ लाख लागेको मर्मतसम्भारको जिम्मा लिने सुकुटेस्थित ग्रामीण विकास समाजका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सबलीकरण प्रविधि महँगो र भरपर्दो भएका कारण विदेशमा व्यापक रुपमा प्रचलनमा आए पनि विद्यालय क्षेत्रमा सो प्रविधिबाट काम गर्ने संस्था जिल्लामा पहिलो भएको समाजका अध्यक्ष सापकोटाको दाबी छ ।

समाजका अनुसार सुकुटे आधारभूत विद्यालयको आठकोठे भवन, दुई शौचालय, पर्खाल र खानेपानी धारा मर्मत सम्पन्न भएको छ । कदम्बासस्थित कालीदेवीमा शौचालयसहितको एघारकोठे भवनसमेत दुवैको करिब रु एक करोड चार लाखमा मर्मत भएको हो । मेलचौरस्थित ज्ञान मन्दिर नमुना माविको आठकोठे भवन करिब रु ७१ लाख चार हजारमा मर्मत भएको छ ।

त्यसैगरी सानो सिरुबारीको सिद्धिगणेश माविको चारतले २२ कोठे भवन मर्मत भई हस्तान्तरण भएको छ । करिब रु दुई करोड ३० लाखमा सम्पन्न सो भवनको दुई शौचालय र ढोकासहितको पर्खाल निर्माण गरिएको छ ।

त्यस्तै करिब रु ९५ लाख ५८ हजारको लागतमा नौकोठे इर्खु मावि भवन र रु एक करोड १७ लाखमा भुलभुलेस्थित वनदेवीमा शौचालयसहित बाह्रकोठे भवन मर्मत गरी हस्तान्तरण गरिएको छ । सो संस्थाले सोही विद्यालयको छकोठे भवन करिब रु ८३ लाख ६२ हजारको लागतमा निर्माण भइरहेको छ । त्यसैगरी करिब रु एक करोड १६ लाखको लागतमा आठकोठे भवन र रु एक करोड ९२ लाखमा ठूलो सिरुबारीस्थित सेतीदेवी माविको बाह्रकोठे दुई भवनको पनि निर्माण भइरहेको छ ।

मर्मत गरिएको भवन र नयाँ निर्माण हुने भवनका गरी ९७कक्षाकोठा हुने समाजका अध्यक्ष सापकोटाले बताउनुभयो । निर्माण भइरहेका र मर्मत गरिएका भवन भूकम्प प्रतिरोधी भएको र त्यसका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जिल्ला समन्वय समितिबाट प्राविधिक सहयोग उपलब्ध भएको थियो ।

नयाँ निर्माण भएका र मर्मत गरिएका विद्यालय सबै चौतारा साँगाचोकगढी नगरपालिकाभित्र पर्छन् । जिल्लामा २५ वर्षदेखि नेपाल हिल्फे वाइल्ग्रिसले विद्यालय क्षेत्रमा लगानी गर्दै आइरहेको छ । क्षतिग्रस्त विद्यालयलाई पहिलेकै अवस्थामा पु¥याउने लक्ष रहेको संस्थाका नेपाल प्रतिनिधि सुनिलकृष्ण श्रेष्ठ र कार्यक्रम संयोजक श्याम पण्डितले बताउनुभयो ।

अस्थायी शिक्षकलाई माग्दै नमागेको थप सुविधा

काठमाडौं, असोज ८ । अस्थायी शिक्षकले आन्दोलनमा माग नै नगरेको विषयमा संसदले शिक्षा ऐन संशोधन गरेर थप सुविधा दिएको पाइएको छ । अस्थायी शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा फेल भए पनि आठौ संशोधन अनुसार सुविधा दिनुपर्ने, परीक्षा सहज बनाउनु पर्ने, आन्तरिकतर्फको लुकाइएको विज्ञापन पदसंख्या समायोजन गर्नुपर्ने माग राखेर अनशन बसेका थिए । शिक्षा मन्त्रालयले गत असार ९ मा उनीहरुसंग यी सबै माग पूरा गर्ने गरी सम्झौता गरेको थियो । यही सम्झौताअनुसार ऐन संशोधन गर्नु पर्ने माग राखेर अस्थायी शिक्षकहरू साउन १८ देखि दोस्रोपटक अनसन बसेका थिए । अघिल्लो सम्झौताअनुसार ऐन संशोधन नभएसम्म शिक्षक सेवा आयोगले अस्थायीलाई स्थायी बनाउन भदौ ३ मा तोकेको आन्तरिक परीक्षा पनि स्थगित गर्नुपर्ने दोस्रो अनसनमा माग थपेका थिए । उनीहरूको मागमा ७५ प्रतिशत अस्थायीलाई स्थायी गर्नु पर्ने भन्ने नै थिएन । शिक्षामन्त्री गोपालमान श्रेष्ठले भदौ ३ मा संसद सचिवालयमा ऐन संसोधनको विधेयक दर्ता गराउदा अस्थायी शिक्षकसंग भएको सम्झौतामै नभएको ०६१ साउन २२ देखि ०६७ माघ ९ सम्म नियुक्ति लिएका सबैको दरबन्दी कायम गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्थासहितको नवौं संशोधन विधेयक संसदमा लगे । विधेयकमा अस्थायी शिक्षकले परिक्षामा ४० अंक ल्याए पास हुने प्रावधान राखिएको छ । संशोधन विधेयकमा ०६७ माघ १० देखि ०७३ चैत १९ सम्म नियुक्त भएका दरबन्दीमध्ये ६० प्रतिशत आन्तरिकबाटै र ४० प्रतिशत दरबन्दीमा मात्रै खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिएको थियो । संसदमा भदौ १२ मा विधेयकमाथि छलफल हुदा पूर्व शिक्षामन्त्री धनिराम पौडेलले अस्थायी शिक्षकले माग्दै नमागेको कुरा राखेर संसोधन गर्न लागेको भन्दै बिरोध गरेका थिए । ‘आन्दोलनमा भएकाले भदौ ३ को परीक्षा सार्नु पर्ने पर्ने माग थियो । अहिले शिक्षकले माग्दै नमागेको कुरा संशोधनको लागि आएको छ,’ संसद बैठकमा पौडेलले भनेका थिए, ‘केही शिक्षक र व्यक्तिहरुको अनुरोध र अनुनय बिनयको आधारमा ऐन संशोधन गर्न प्रस्ताव ल्याइएको छ ।’ उनको यो भनाइले पनि अस्थायी शिक्षकले माग नै नगरेको विषयमा आफ्ना कार्यकर्ताको जागिर जोगाउन ऐन संशोधन गरेको पुष्टि हुन्छ । यसरी अस्थायी शिक्षकको माग भन्दै ऐन संशोधन गराउन कांग्रेस, एमाले र माओबादी केन्द्रका नेता नै लागि परे । उनीहरुले माग नगरेको बिषयमा यी तीनै दलले सहमती गरेर अस्थायी शिक्षकको सुविधा बढाए । अघिल्लो ऐनअनुसार खुला प्रतिस्पर्धाबाट छनौट हुने भनिएको ७ हजार दरबन्दीमध्ये पछिल्लो संशोधनमा २६ प्रतिशत पनि आन्तरिकलाई दिइएको छ । पढाएर थाकेपछि सुविधा लिएर घर जान चाहेका १० हजार शिक्षकलाई पुनः परीक्षा दिने व्यवस्था गरे । उनीहरु ४० नम्बर ल्याउन नसक्ने भन्दै हरेस खाएर सुविधा रोजेका थिए । फेल भयो भने पाउने सुविधा पनि गुम्ने भन्दै परीक्षा त्यागेका थिए । साभार

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छः शिक्षा राज्यमन्त्री

चितवन, असोज ८ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गरे । अधिकारीले भन्नुभयो, “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइने छ ।” नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनले बताए । करिब १९ हजार नयाँले अवसर पाउने उनको भनाइ थियो । यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरिसकेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उनले बताए । यससँगै हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि उनले बताए । शिक्षा सेवा आयोगले तत्काल प्रक्रिया अगाडि बढाउने बताउँदै उनले दशैं र तिहारका बीचमा परीक्षासमेत गर्ने तयारीमा आयोग लागेको जानकारी दिए ।

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो ?

खोटाङ, असोज १ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो । जिल्लामै पहिलोपटक पाँच वर्षअघि बाली विज्ञान विषयको कक्षा शुरु गरेको पञ्च माविमा अहिले उक्त विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागबाट २०७३ र ७४ मा बाली विज्ञान विषयतर्फ कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउने सम्बन्धन पाएपछि पञ्च मावि प्राविधिक शिक्षा लिन चाहने छात्रछात्राको आकर्षणको केन्द्र बनेको हो । जनशक्तिको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले बताउनुभयो । २०२४ सालमा स्थापना भएको पञ्च माविले आव २०६९ र २०७० देखि मावि तहमा बाली विज्ञान विषयको पठनपाठन शुरु गरेको थियो । विसं २०७३ असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च माविस्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको पञ्च माविमा हाल कक्षा ९ मा ४७ जना, कक्षा १० मा २८ जना, कक्षा ११ मा २७ जना र कक्षा १२ मा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पञ्च मावि बाली विज्ञान विषयमा अध्ययन गराउने जिल्लाको पहिलो र एकमात्र विद्यालय हो । कक्षा ११ को सम्बन्धन लिएपछि पञ्च माविमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ ढकालले बताउनुभयो । बाली विज्ञानमा बढी मात्रामा विद्यार्थीको चाप बढेपछि यसपटक छनोट गरेर ४७ जनालाई मात्र कक्षा ९ मा भर्ना गरिएको विद्यालयले जनाएको छ । बाली विज्ञानप्रतिको आकर्षणकै कारण थप व्यवस्थापनका लागि विद्यालयले गत फागुन तेस्रो साता श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरेको थियो । शुरुमा सहयोगका नाममा मासिक प्रतिव्यक्ति रु छ हजार शुल्क लिँदै आएको विद्यालयले शिक्षा मन्त्रालय शिक्षा विभागबाट सम्बन्धन पाएपछि भने मासिक शुल्क घटाएर प्रतिव्यक्ति रु एक हजार बनाएको व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यले बताउनुभयो । बाली विज्ञानसँग सम्बन्धित जनशक्तिको अभाव भएकाले पनि विद्यार्थीको आकर्षण बढेको अध्यक्ष आचार्यको भनाइ छ ।

+२ पासलार्इ राेजगारीकाे अवशर 

काठमाडौं, असोज १ ।  विश्व स्वास्थ्य संगठन अन्र्तगतको नेपाल सञ्चालित एनजिओले एडमिनिस्टर र कार्याक्रमका लागि केही कर्मचारी मागेको छ ।  +२ पासले पिन एप्लार्इ गर्न सक्नेछन । विस्तृत जानकारीका लागि यो लिंक हेरौँ । http://www.khabarera.com/english/2017/09/ingojobsinnepal/ 

रहर हुँदाहुँदै विद्यालय जान नपाएकाहरु…..

म्याग्दी, भदौ २९ । म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् । पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन् भने आमाले गत वर्ष अर्कैसँग बिहे गरेर गएपछि उनले विद्यालय जान छाडेका हुन् । बिहान बेलुका पकाएर खानेको समेत टुंगो नभएपछि अजयले बेनीस्थित प्रकाश माविमा कक्षा ५ सम्मको अध्ययन गर्दागर्दै विद्यालय जान छाडेको बताए । बस्नका लागि सानो छाप्रो भएपनि बिहान बेलुका के खाने टुंगो नभएपछि अजयसँगै उनका भाइ शक्तिले समेत विद्यालय जान छाडेका हुन् । १० वर्षका शक्तिले कक्षा ३ मा अध्ययन गर्दै गरेको समयमा विद्यालय जान छाडेका हुन् । आफन्तकामा खाना खाँदै आएका उनीहरुले अहिले सडकमा खेलेर दिन बिताउने गरेका छन् । “आमाको अर्कैसँग बिहे भएपछि बस्ने र खाने ठाउँ भएन, बाबा विदेशमा हुनुहुन्छ, पढेर ठूलो मान्छे बन्ने रहर छ, तर विद्यालय जान छाडेको पनि धेरै भयो, अब त सरहरुले पनि गाली गर्नुहुन्छ होला,” अजयले भने । अजयजस्तै पढेर ठूलो बन्ने चाहना हुँदाहुँदै विद्यालय जान छाडेका अर्का बालक हुन सुमित नेपाली । उनीहरु सहोदर दुई भाइका छोराहरु हुन् । आफ्नै गाउँ धाइरिङकै स्थानीय विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षका उनले पनि केही वर्ष अगाडिदेखि पढाइ छाडेका हुन् । कक्षा ४ सम्मको अध्ययन गरेका उनले पनि बजारमा कम्युटर चलाएर जागिर खानेजस्तै ठूलो मान्छे बन्ने रहर रहेको बताए । तर अध्ययन छाडेको वर्षौं भइसकेकाले फेरि विद्यालय गएर पढ्ने उचित वातावरण उनको घरपरिवारको पनि छैन । उनकी आमाले बजारमा मजदुरीको काम गर्छिन् भने बाबाले हार्डवेयर काम गर्छन् । उनका बुबाले दुईवटा बिहे गरेका छन् । दिनभरि डुलेरै समय खेर फाल्दै आएका यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । घरपरिवारको उचित वातावरण नहुँदा पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छाडेका थुप्रै बालबालिका छन् । तर सडकमा दिनभर धुलोसँगै खेलेर समय खेरफालेका यस्ता बालबालिकालाई संरक्षण गरी उनीहरुलाई अध्ययनबाट वञ्चित नगराउनका लागि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिँदैन ।

रक्सी खाएर विद्यालय जाने हेडमास्टर प्रहरी खोरमा

इलाम, भदौ २८ । रक्सी खाएर विद्यालय जाने गरेका इलामका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हरेक समय मादक पदार्थ सेवन गर्ने प्रधानाध्यापकलाई पटक–पटक चेतावनी दिँदासमेत नसुध्र्रिएपछि बुधबार उनलाई मादक पदार्थ मातेर विद्यालयमा आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । रक्सीले मातेर लरबरिँदै विद्यालय आएपछि प्रहरीले श्रेष्ठलाई प्रहरीको जिम्मा लगाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

तेह्रथुम, भदौ २६ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् । माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो । मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा । गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो । “गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ । जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन । “बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ । ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ । गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ । माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।

अष्ट्रेलियन र अंग्रेजी भाषा अभ्यासका लागि सेमिनार

चितवन, २५ भदौ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । असोज तीन गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार राखेको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिएका छन् । प्रवेश निःशुल्क रहेको सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने सेमिनार प्रबन्ध निर्देशक सिंहले बताए । सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उनले बताए । कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा हजारौँको सहभागी रहने बताईएको छ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

तेह्रथुमका सात विद्यालय नमूना बन्दै

तेह्रथुम, भदौ २३ । तेह्रथुमको आठराई गाउँपालिकाका सातवटा आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएका छन् । नमूना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ । विद्यालय स्रोत केन्द्रले छनौट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो । विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमूना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ । बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिनुभयो । नमूना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार रु नौ हजारदेखि रु १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ । स्रोत केन्द्रले छनौट गरेका विद्यालय बाहेकका विद्यालयमा बालमैत्री वातावरण र गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने भएको परिचालक कन्दङवाले बताउनुभयो । आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय, सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकू, रन्दल आधारभूत विद्यालय, इवा, सरस्वती आधारभूत विद्यालय, छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय, चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय, थोक्लुङ नमूना विद्यालय बन्ने भएका हुन् । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा स्थापित जलजला समाजको विस्तारित रुप देउराली सोसाइटीले आठराईमा स्थानीय अधिकार कार्यक्रमअन्तर्गत कृषि, शिक्षा, बालबालिका, महिला र सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।

भाइरल ज्वरोले विद्यालय बन्द

गुल्मी, भदौ २३ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिए । विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ । एकहजार पाँचसयको स्वास्थ्य परीक्षण यसैबीच, गुल्मीमा सञ्चालन भएको तीनदिने स्वास्थ्य शिविर अन्तर्गतको दोस्रो दिनसम्म झण्डै एक हजार ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुसिकोट नगरपालिकाको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गत बुधबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन हिजोसम्म एक हजार ४४६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए जसअन्तर्गत पुरुषतर्फ ५९७ र बाँकी महिलाले स्वास्थ्य परीक्षण र उपचार गराई औषधिसमेत लिएका छन् । साथै शिविरको दोस्रो दिनसम्म ४४ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो । आज ५५ जना आँखाका बिरामीलाई मोतियाविन्दुको शल्यक्रिया गरिने शिविरका व्यवस्थापक नवीन कक्षपतिले जानकारी दिए । ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसिएसन केएएएको संयुक्त आयोजनामा भदौ २१ देखि २३ गते अर्थात् आजसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले बिरामीका लागि फरक–फरक ठाउँमा स्वास्थ्य परीक्षण तथा उपचार सञ्चालन गरिएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको मोतियाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्रीसम्बन्धी रोगको परीक्षण गरिएको जानकारी दिइएको छ । रासस

बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण

इटहरी, भदौ २२ । बाढीका कारण समस्यामा परेका इटहरी उपमहानगरकास्थित मनमोहन आधारभूत प्रथामिक विद्यालयका १५२ विद्यार्थीमध्ये १३५ जनालाई आज विद्यालय पोशाक वितरण गरिएको छ । कोशी अञ्चल इँट्टा व्यवसायी सङ्घले बुढीगंगा नदीको बाढी पसेर घरबार सहित जायजेथा गुमाएर शिविरमा बसेका बालबालिकालाई पोशाक प्रदान गरिएको हो । पीडित बालबालिकामध्ये १३५ जना विपन्न गरिब तथा सीमान्तकृत वर्गका बालबालिकालाई रू एक लाख ३५ हजारभन्दा बढीको विद्यालय पोशाक प्रदान गरिएको नेपाल इटा उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य लीलम बस्नेतले जानकारी दिनुभयो । विद्यालय पोशाक नै गुमाएर विद्यालय आउनसमेत समस्यामा परेका बालबालिकाको पहिचान गरेर पोशाक उपलब्ध गराइएकोे पनि केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले कापी–किताबसमेत सबै गुमाएका बालबालिकाका गाउँघरमा र पसलमा पुराना किताब खोजेर पठनपाठनको व्यवस्था गरे पनि विद्यालय पोशाक जुटाउन समस्या भइरहेका बेला इँटा व्यवसायीले पोशाक दिएर ठूलो गुण लगाएको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र श्रेष्ठले बालबालिकाले पोशाक नै नपाएर विद्यालय जान समस्यामा परेकाले इँट्टा व्यवसायी मिलेर पोशाक उपलब्ध गराएको बताउनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ ।लिखित जवाफसहित उपस्थित हुन मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ सर्वोच्चको आदेश। सर्वोच्च अदालतले विवादास्पद सम्बन्धनको विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)संग लिखित जवाफ मागेको छ । सम्बन्धन खारेज गर्न उत्पे्रषणयुक्त परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज लिखित जवाफ मागेको हो । वुधवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई असोज २ गते लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।अधिवक्ता जगदिश आचार्यले सोमबार सम्बन्धन खारेज गर्न उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषदले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत गत साउन २९ गते राजधानीका तीन निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विवादकै बीच नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले एमयूबाट सम्बन्धन लिन थालेको प्रक्रिया रद्द गर्न एमयूमा पत्र पठाइसकेको छ ।

बिबिएस चौथो वर्षको परीक्षफल प्रकाशित

काठमाडौं,भदौं २१- त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चार वर्षे बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ । चैत–बैशाख महिनामा सञ्चालित गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा ४६.९७ प्रतिशत परिक्षार्थी उर्तिर्ण भएका छन् । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। । एसएमएस गर्नको लागि 4BBS symbol no लेखि 4949पठाउनु पर्नेछ ।

पाँच वर्षदेखि कुवेत पुगेकी एक नेपाली युवती सम्पर्कविहीन

काठमाडौँ, भदौ २१ । छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पु¥याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहनुभएका उहाँ विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा हुनुहुन्न । डोल्माकी आमा छेकु तामाङले भन्नुभयो, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन÷चारचोटि फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।” फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताउनुभएको थियो । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उहाँलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिनुभयो । छोरी गएको तीन महिनापछि रु १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले उहाँको छोरीलाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भन्नुभयो, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।” यसबारे आरोपी कर्मा लामासँग राससले प्रश्न गर्दा उहाँले डोल्मालाई कुवेत पठाएको स्वीकार गर्नुभयो । आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताउनुभयो । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकले कक्षा १० र अर्कोले कक्षा ८ मा पढ्दै गरेका छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गर्नुभएको छ । छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै आँखाबाट आँसु झार्दै उहाँले भन्नुभयो, “मेरो छोरी कहाँ छे खोज्दिनुप¥यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उहाँले जानकारी दिनुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिनुभयो । उहाँले गत आव २०७३÷७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।

ट्यांकी निर्माणका लागि विद्यालय तीन लाख सहयोग

पोखरा भदौ २१। पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको रु तीन लाख १० हजारको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे होे । नवनिर्मित ट्यांकी लायन्सक्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गरेका छन् । रासस