अष्ट्रेलियन एजुकेशन डे २०१७ कार्यक्रम चितवनमा सम्पन्न

चितवन, साउन २७ । अष्ट्रेलियन एजुकेशन डे २०१७ अन्तर्गत शनिबार चितवनको होटल रोयल सेन्चुरीमा यो सेसनको अन्तिम कार्यक्रमको सम्पन्न भएको छ ।

लामो समयदेखि एईसीसीले विद्यार्थीहरुको उज्वल भविष्यका लागि कोर्ष, विश्वविद्यालय र अध्यनका लागि उपयुक्त देश छनोट गर्ने लगायत कार्यमा उचित मार्गदर्शन उपलब्ध गराउँदै आइरहेको छ ।

विद्यार्थीहरुको मार्ग दर्शन र तिनको लक्ष्य प्राप्तिका लागि अग्रणी संस्थाका रुपमा एईसीसी ग्लोबल परिचित छ । स्थापनाकालदेखि नै आफ्नो निरन्तर क्रियाकलापका रुपमा आयोजना भइरहेको अष्ट्रेलियन एजुकेशन डे संस्थाले कमतीमा वर्षको दुई पटक यस्ता कार्यक्रमको आयोजना गरिरहेको छ ।

सोही कार्यक्रमलाई निरन्तर्ता दिँदै संस्थाले यस पटक ‘अष्ट्रेलियन एजुकेशन डे २०१७’ ११ अगष्टमा शुक्रबार चितवनमा आयोजना गरेको छ । यसअघि बुधबार काठमाडौंमा र बिहीबार पोखरामा कार्यक्रम गरिएको थिया । कार्यक्रम विहान ११ बजेदेखि बेलुकी ५ः३० सम्म आयोजना गरिएको थियो ।

अष्ट्रेलियका विश्वविद्यालयका प्रतिनिधीसंग प्रत्य्क्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेण्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा दुविधा हटाउने उद्देश्यका साथ हामीले बर्षमा दूई पटक यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छौँ ।

विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्थालाई समेतलाइ दृष्टिगत गरी हामीले विश्वविद्याल नै तिनका सामु उपस्थित गर्ने जमर्को उठाएका हौँ ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने । यसले तिनका समग्र समस्याको समाधान एकै स्थानमा सल्ट्याउन सघाव पु¥याउर्ने हामीले अपेक्षा गरेका छौँ ।’

शिक्षा अधिकारीमाथि नासुले गरे झापड र चप्पल प्रहार

जनकपुरधाम,साउन ४ । अवैध निजी विद्यालयलई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नयाब सुब्बाले चप्पल प्रहार गरेका छन् । उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलार्य सोही कार्याल्यमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलार्य भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका , अन्नपुर्णपोष्टमा खबर छ ।

१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशिए

काठमाडौं, साउन ४ । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् । अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको नयाँ पत्रिकामा खबर छ । शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६५९ बिद्यार्थीमध्ये २४ हजार २३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ । नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ ।

त्रिविले कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने

चितवन, साउन ३ । त्रिविले पाँच वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन पाएको थिएन । हालै मात्र सरकारले दुई विश्वविद्यालयलाई भौतिक सम्पत्ति बाँडफाँट गरी विवाद मिलाएको हो । विवाद मिलेसँगै त्रिविले भरतपुरमा रहेको आफ्नो आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि स्नातक पढाउन शुरु गर्न लागेको हो । त्रिविका उपकुलपति तीर्थ खनियाँले सरकारले त्रिविलाई कृषि विषय पढाउन शक्तिखोरमा जग्गा दिने निर्णय गरेसँगै भौतिक संरचना नबनेसम्मका लागि वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि पढाउन त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको बताउनुभयो । कृषि पढ्ने विद्यार्थीको मागलाई सम्बोधन गर्दै यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालनका लागि आवश्यक निर्देशनसमेत भइसकेको उहाँले बताउनुभयो । त्रिवि, कृषि संकायका डिन केशव अधिकारीका अनुसार पढाइ सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, पुस्तकालय, प्राध्यापक, प्रयोगशालालगायत काम अघि बढेको छ । रामपुरमा पढाइ नभए पनि प्राध्यापक र कर्मचारी रहेकाले तिनै प्राध्यापक र कर्मचारीमार्फत वीरेन्द्रमा कृषि पढाइ सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । रामपुरमा कृषि र पशुचिकित्सामा स्नातकदेखि विद्यावारिधिसम्म पढाइ हुँदै आए पनि हालका लागि वीरेन्द्र क्याम्पसमा भने कृषिमा स्नातकमा मात्रै पढाइ हुने छ । यसअघि रामपुरमा पढाइँदै आएको कृषि र पशु चिकित्सामा स्नातक पछिल्लो समय कपिलवस्तुको पक्लिहवा र लमजुङको सुन्दर बजारमा कृषि पढाइँदै आएको छ । स्नातकोत्तर र विद्यावारिधि भने कीर्तिपुरमा पढाइँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रमा बैतडी र इलाममा एक एक तथा दाङमा दुई कृषि क्याम्पस सञ्चालनमा छन् । भरतपुरमा ५० विद्यार्थीलाई कृषिमा भर्ना लिने तयारी रहेको उहाँले बताउनुभयो ।

सम्झौता कार्यान्वयनको माग गर्दै आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौं, साउन १ । नेपाल आंशिक प्राध्यापक संघले विगतमा सरकारसंग भएको सम्झौता कार्यान्वयनको माग गर्दै त्रिविमा तालाबन्दी गरेको छ । आफ्ना मागप्रति सरोकारवाला निकाय संबेदनशील नभएमा अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि उसले दिएको छ । विगतमा सरकारसंग भएको संझौता कार्यान्वयन गरी त्रिविका सम्पूर्ण अांगिक क्याम्पसमा कार्यरत सबै आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै गएको ६ महिनादेखि शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभएपछि आफूहरु तालाबन्दीमा उत्रिनु परेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संघले सहमती कार्यान्वयनमा दवाव सृजना गर्न आइतबार र सोमबार त्रिविका उपकुलपति, रजिष्ट्रार, शिक्षाध्यक्ष एवम सम्पूर्ण आंगिक क्याम्पसका प्रमुखको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी र शैक्षिक आमहड्ताल गरेको छ ।

शुल्क वृद्धिको विरोधमा विद्यार्थी अनशनमा

इटहरी, साउन १ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको विरोधमा त्यहाँका विद्यार्थीहरु अनशनमा बसेका छन् । संस्थाले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेपछि धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका हुन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन् । चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् । नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका हुन् । एकसाताअघि संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आंगिक क्याम्पसमा शुल्क बढेको विषयमा पत्राचार गरेपछि विद्यार्थी आन्दोलित भएका हुन । त्रिविको नियम विपरीत इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेकाले आफूहरु आन्दोलित हुनुपरेको अनशनमा बसेका अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपानको भनाइ छ ।

६८० विद्यार्थीलाई सौर्य टुकी वितरण

कञ्चनपुर, साउन १ । कञ्चनपुर जिल्लाका ३६ विद्यालयमा अध्ययनरत ६८० विद्यार्थीलाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका छात्रछात्रालाई सौर्य टुकी वितरण गरिएको हो । बेलौरी नगरपालिका क्षेत्रका ६ विद्यालयका १२६, भीमदत्तनगरपालिका ३ विद्यालयका ७८, पुनर्वास नगरपालिका २ विद्यालयका ८४, महाकाली नगरपालिका २ विद्यालयका १८१, लालझाडी गाउँपालिका ३ विद्यालयका ५ जना विद्यार्थीलाई सौर्य टुकी वितरण गरिएको हो । त्यसैगरी, बेदकोट नगरपालिका ३ विद्यालयका ३८, कृष्णपुर नगरपालिका ६ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका ३ विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका २ विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

अाज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती

काठमाडौं, असार २९ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ ।मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो । पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।

प्रश्नपत्र बिना नै स्नातकको परीक्षा

डोल्पा, असार २८ । डोल्पामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । यही असार २३ देखि सुरु भएको बिएड दोस्रो वर्षको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिए । यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पामा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षा पm्याक्समार्फत आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीले बताए । परीक्षार्थीको प्रवेशपत्रसमेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको सुवेदीले बताए । स्तरोन्नतिका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्गसमेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले पठाएकोे प्रश्नपत्र मङ्गलबारदेखि हुने परीक्षामा परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताए । वर्षात्को समयमा खोलानाला बढेर सडक अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पु¥याएको आचार्यको भनाइ छ । कर्णालीको कालीकोटबाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन गरिएको आचार्यले बताए । वास्तवमा दुर्गमको पीडा यो भन्दा ठूलो अरु केही हुन नसक्ने उनको भनाइ छ । ६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनका लागि सात पटक डोल्पा पुगिसकेका छन । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ । रासस

चेपाङ विद्यार्थीलाई छात्रवृत्ति

गोरखा, असार २८ । जिल्ला समन्वय समिति गोरखाले चेपाङ समुदायका २३ जना विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन जिल्ला समन्वय समिति गोरखाले २३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । उच्च शिक्षा पढ्दै आएका (कक्षा ११ देखिमाथि अध्ययनरत) चेपाङ समुदायका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उक्त छात्रवृत्ति रकम प्रदान गरिएको हो । गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङ गाउँका ती विद्यार्थीलाई जनही रु चार हजार १६६ का दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको जिसस गोरखाका खरिदार रामप्रसाद पोखरेलले बताउनुभयो । २४ जनाका लागि छात्रवृत्ति आएको भए पनि एक जना पढाइ छाडेर जागिर खान गएपछि २३ जनालाई छात्रवृत्ति दिइएको हो । चेपाङ विकास कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न रु एक लाख बजेट आएको थियो । मकैसिङको विजया भवानी मावि, कुरिनटारको सर्वशान्ति मावि, भुम्लिचोकको भद्रकाली मावि र मजिरटारको शङ्खदेवी माविमा पढ्दै आएका विद्यार्थीलाई छात्रवृत्ति दिएको पोखरेलले जानकारी दिनुभयो । चेपाङलाई लोकसेवा तयारी कक्षा यसैगरी चेपाङ युवायुवतीलाई लक्षित गरी लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको पनि पोखरेलले बताउनुभयो । गत असार ११ गतेदेखि २५ गतेसम्म सदरमुकाममा सञ्चालन गरिएको उक्त तयारी कक्षामा स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य, तथ्याङ्क कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारी, श्रेष्तेदार गोविन्दप्रसाद घिमिरेलगायत प्रशिक्षण दिनुभएको थियो । लोकसेवा तयारी कक्षाका लागि रु एक लाख ५० हजार बजेट आएको पनि पोखरेलले जानकारी दिनुभयो ।

दलित विद्यार्थीलाई ४६६ सोलार बितरण

होम साउद अछाम, असार २० । अछामका बिभिन्न १६ बिद्यालयका दलित विद्यार्थीलाई ४ सय ६६ थान सोलार प्यानल बितरण गरिएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्र्तगत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्र, जिल्ला उर्जा शाखामार्फत निमावि र मावि तहका ४ सय ६६ जना दलित विद्यार्थीलाई सोलार प्रदान गरिएको हो । दलित, गरिव र बिपन्न परिवारका विद्यार्र्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गरि सिकाई स्तर राम्रो बनाँउने उद्देश्यका साथ सत प्रतिशत अनुदानमा सोलार प्यानल बितरण गरिएको जिल्ला उर्जा अधिकृत प्रिन्सेस प्रधानले बताए । १६ लाख ४५ हजार ४ सय ४६ रुपैयाँ बराबरको लागतमा प्रति बिद्यार्थि १० वाटको १ सेटका दरले सोलार प्यानल निशुल्क दिइएको उनले बताए । बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रले २०७३ असोज १९ मा प्रस्तावना आह्वान गरेको जिल्ला शिक्षामार्फत प्रस्ताव पेश गरेका १६ वटा बिद्यालयका लक्षीत विद्यार्थी कार्यक्रमभित्र परेको उर्जा अधिकृत प्रधानले जानकारी दिए । वडा तथा गाउँपालिका सचिवको सिफारिसमा दलित तथा गरिब विद्यार्थीको तथ्यांक सहित जिल्ला शिक्षा मार्फत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रमा फाईल पठाईएको र स्वीकृत भई आएका ४ सय ६६ विद्यार्थीलार्ई सोलार अनुदानमा बितरण गरिएको उनले बताए । उज्यालो बाट घरमा अध्ययन र गृहकार्य गर्न बञ्चित हुनुपर्ने दलित र बिपन्न परिवारका विद्यार्थीलार्ई यसवाट निकै राहत हुने सूर्यचन्द्र मावि कालिमाटीका प्रधानअध्यापक देबेन्द्रबहादुर शाहले बताए । कार्यक्रमले गैरदलित समुदायका पनि गरिब, अति बिपन्न तथा अनाथ र टुहुरा विद्यार्थीलाईसमेत समेट्न सकेको भए थप प्रभावकारी हुने उनले बताए । यस्तै शिक्षाको आधार स्तम्भ प्राथमिक तह भएकाले प्राथमिक तहका विद्यालयमा पनि यस्ता खालका कार्यक्रम लागु हुन जरुरी रहेको जाल्पा देवी आधारभूत विद्यालय मंगलसेन नगरपालिका १, ढुंगानीका प्रधानअध्यापक काशिराम उपाध्यायको भनाई रहेको छ । कार्यक्रमले विद्यामन्दिर मावि, कुन्ति मावि, दुर्गादेवी मावि, सूर्यचन्द्र मावि लगायतका १६ विद्यालयका लक्षीत विद्यार्थीलाई यो वर्ष समेटेको छ ।

तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा

म्याग्दी, असार ११ । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो । चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताउनुभयो । “शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो”, प्रअ भण्डारीले भन्नुभयो – “चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।” जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिनुभयो । –ः १० ः– “विगतमा आवको अन्तमा अनुदान आउने गरेको थियो”, थापाले भन्नुभयो – “यसपालि अनुदान नै कटौती भएको जानकारी आएको छ । दरबन्दी नभएका आधारभूत र माध्यमिक विद्यालयलाई समस्या भएको छ ।” गत आव २०७२÷७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा रु ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन् । नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् ।

सीटीईभीटी प्रवेशमा परीक्षामा चर्को शुल्क

काठमाडौं, असार ११ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेका छन् । प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ । साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्छ, कान्तिपुरमा खबर छ ।

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ गते

काठमाडौं, असार ९ । गत २७ र २८ गते परीक्षा दिइएको कोरियन भाषाको परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने भएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भएपनि आन्तरिक कारणबस नतिजा सार्वजनिकमा ढिला हुन पुगेको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । त्यस्तै गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ । गत जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए । उनीहरुलाई कम्प्युटर मार्फत परिक्षा लिइने भएको छ ।

खाेलाले बगाइँ विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड

सोलुखुम्बु, असार ९ । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए । अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । बिहीबार अपराह्न ५.३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोर्डिाङ स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका थिए ।

लमुङमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु

बेँसीसहर, असार ९ । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो । फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैंकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको संस्थाका निर्देशक प्रकाश कोइरालाले बताए । उनका अनुसार, खुत्रुकेमा जम्मा भएको रकमलाई प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ । यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको कोइरालाले बताए ।