कक्षा ११ को परीक्षा स¥यो

भक्तपुर, फागुन २० । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ ।

आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिए ।

बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी निकालेको थियो ।

अर्यालका अनुसार कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ । रासस

लमजुङ क्याम्पसमा झडप, प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते

लमजुङ, फागुन १६ । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कयाम्पसमा विद्यार्थीबिच झडप हुँदा प्रहरीसहित एकदर्जन भन्दा बढी घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयूका विद्यार्थीबिच झडप भएको हो । नजिकिँदो स्ववियू निर्वाचनका विषयमा विद्यार्थी संगठनबिच भएको विवादले उग्र रुप लिएपछि उनीहरुबीच झडप भएको हो । झडपमा नेपाल विद्यार्थी संगठनका १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विद्यार्थीको झडपलाई छुट्याउने क्रममा एक जना प्रहरी जवान समेत घाइते भएका छन् ।

अब अमेरिकामा नेपाली विषयको पढाइ हुने

काठमाडौँ, फागुन १६ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताउनुभयो । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ । अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उहाँले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनाका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताउनुभयो । “वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन्, जसमध्ये छ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन्”–उहाँले भन्नुभयो । स्याङ्जामा २०१२ सालमा जन्मनुभएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा सन् १९९३ मा अमेरिका जानुुभएको थियो । हाल अमेरिकामा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङले वासिङ्टनका शैक्षिक संस्थामा आगामी दिनमा नेपाली विद्यार्थीलाई सङ्गठित गरी अध्ययन सुरु गराउने योजनामा रहेको बताउनुभयो । रासस

नेपाली कला संस्कृतिकाे अध्ययनका लागि जापानी विद्यार्थी नेपालमा

काठमाडौं, फागुन १४ । नेपालको कला संस्कृतिको अध्ययनका लागि जापानी विद्यार्थीहरु नेपालमा आईपुगेका छन् । नेपाली कलासंस्कृतिको अध्ययनसँगै जापानी कला, संस्कृतिबारे नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले जापानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १० जना विद्यार्थीहरुको एउटा टोलि नेपाल भ्रमणमा आएका हुन् । करिब दुई साता नेपाल बसाइको क्रममा उनीहरुले नेपालका ग्रामीण क्षेत्रमा पुगेर त्यहाँको कला, संस्कृति र रहनसहनको अध्ययन गर्ने र आफ्नो देशको संस्कृतिबारे स्थानीय वासिन्दासँग अन्तरक्रिया बताइएको छ । एसिएसन एसोसिएसन फर एजुकेसन एन्ड कल्चर एक्सचेन्ज नामक संस्थाको पहलमा भएको यो कार्यक्रममा सहभागी जापानी विद्यार्थीहरुले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिमसमेत दिने बताइएको छ । विगत पाँच वर्षयता यो कार्यक्रमअन्तर्गत् जापानी विद्यार्थी तथा जापानका विश्वविद्यालयमा अध्ययनरत् अन्य देशका विद्यार्थीहरु नेपाल आउन थालेको संस्थाका नेपाल प्रमुख क्षितिज भट्टराईले जानकारी दिए ।

मातृभाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

कञ्चनपुर, फागुन १४  । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।” विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको उनले बताए । भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् । विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ रहेको छ । “आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भने । बचपनदेखि बालबालिकाले बोल्दै आएको भाषामै पढ्न पाएपछि चाँडै कक्षामा पढाएको कुरा सिक्ने र पढ्नका लागि अभिरुची देखाउने गरेको उनले बताए । पाँच वर्षअघि पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई राना थारु भाषामा छापिएका पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यसपछिका वर्षमा पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यालयका शिक्षकले आफैँ पाठ्यपुस्तक अनुवाद गरी पढाउँदै आएका छन् । विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका रहेका छन् ।

१० हजारका दरले दुई सय नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौं, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि प्लस टुसम्म अध्ययनरत २ सयजना नेपालीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार काठमाडौंममा आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे । उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उनले बताए । पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए । विगत चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि १० हजार रुपैयाँका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गएको वर्ष उक्त कार्यक्रमबाट १ सय ५० जना विद्यार्थी लाभान्वित भएका थिए ।

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

पाल्पा, फागुन १२ । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ । जिल्लाको पूर्वी भेगका रामपुर र गाडाँकोट स्रोतकेन्द्रका विद्यालयमा अनिवार्य रुपमा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग हुँदै आएको छ । शैक्षिक सामग्रीकै प्रयोगले यहाँका विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार भएको स्थानीय शिक्षक बताउँछन् । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको रामतुल्सी माध्यमिक विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको पनि उहाँले बताउनुभयो । पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको रामतुल्सी मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता पाण्डे बताउनुहुन्छ । कक्षाकोठामा सबैले देख्ने ठाउँको भित्तामा पाठ प्रसङ्गअनुसार शैक्षिक सामग्री राखेर शिक्षण गरिँदै आएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उहाँले बताउनुभयो । कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि यस क्षेत्रका विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हँुदै गएको गाडाँकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति शेषकान्त भट्टराई बताउनुहुन्छ ।

वैशाख २५ देखि देशभरी शैक्षिक संस्था बन्द हुने

काठमाडौं, फागुन ११। सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गरेसँगै आगामी वैशाख २५ गतेदेखि देशभरका शैक्षिक संस्थाहरु बन्द हुने भएको छ । देशभरिका शैक्षिक संस्थाहरुमा स्थानीय निकायको चुनावको केन्द्र रहने हुँदा वैशाख २५ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द हुने हो । निर्वाचन आयोगले मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन लगायत सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सो को तुरून्त निर्माण तथा मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण एक हप्ताभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउनसमेत सरकारलार्इ निर्देशन दिएको छ ।

महिला शिक्षामा जोड दिनुपर्ने

काठमाडौँ, फागुन १० । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी दिनमा सरकारले महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताएको छ। डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३७ औँ वार्षिकोत्सवका अवसरमा उनले समान अवसरका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएको हो । क्याम्पस प्रमुख अपराजिता अर्यालले ३७ वर्षदेखि क्याम्पसको आफ्नो भवन नहुँदा आशानुरुप प्रगति गर्न नसकेकाले सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गरे । प्रा.हरिहर घिमिरेले समान अवसरका लागि वा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिला सशक्त रुपमा आफैँ लागिपर्नुपर्ने औँल्याए । सो अवसरमा यसैवर्ष विद्यावारिधि गरेका सोही क्याम्पसका प्रा.डा रशराज अधिकारी, प्रा.डा इन्द्रबहादुर थापा, प्रा.डा प्रदीप पराजुली र प्रा.डा सुरेन्द्र मिश्रलाई सम्मानसमेत गरिएको थियो ।

दलित छात्रवृत्तिमा अनियमितता

वीरगन्ज, १० फागुन । जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त रहेको छ । जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन् । जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताए । उजुरी परेकामध्ये ६० वटा फछ्र्योट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् ।

आरआरमा क्रान्तिकारीबाट सभापतिका लागि वाग्ले

काठमाडौ, माघ ९ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु सभापतिमा ध्रुवराज वाग्ले, सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बूलाई अघि सारेको छ । आरआर क्याम्पस समितिको बैठकबाट सर्वसम्मत रुपमा प्रत्यक्षतर्फका तीन कार्यकारी पदका उम्मेदवार टुङ्गो लगाइएको थियो । क्रान्तिकारीका केन्दीय सदस्य समेत रहेका वाग्ले स्याङ्जाका स्थायी बासिन्दा हुन् । समाजशास्त्र विषयमा स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत वाग्ले उम्मेदवारी घोषणापछि सभापति उम्मेदवार यसपटक आरआरमा क्रान्तिकारीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

शिक्षकहरु नै राजनीतिमा लागेपछि …

ललितपुर, फाल्गुन ७ । राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ । तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य देखिएको हो । अध्ययन प्रतिवेदनअनुसार सबभन्दा बढी एमालेमा आबद्ध शिक्षक १.४० प्रतिशत, कांग्रेसमा ०.४४ र माओवादी केन्द्रमा ०.८३ प्रतिशत छन् । संशोधित शिक्षा ऐनअनुसार शिक्षक, कर्मचारीले राजनीति गरे वा राजनीतिक दलको सदस्य रहेको पाइएमा उनीहरुलाई पदबाट हटाइने नियम छ । तर ललितपुरमा भने शिक्षकहरुले न त पद त्याग नै गरेका छन्, न त राजनीतिक दलका परिचयपत्र नै । दलका नेताहरुले कार्यक्रम गरेको ठाउँहरुमा शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित हुन्छन् त्यसको पछिल्लो ज्वलन्त उदाहरण प्रमुख प्रतिपक्षी एमालेलगायत ९ दलीय गठबन्धनले राजधानीमा गरेको शक्ति प्रदर्शनमा विद्यालयका शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित थिए । यसले विद्यार्थीकाे भविष्य कता जाने भन्ने अन्याैलता छाएकाे छ ।

विद्यार्थीले उत्पादन गरे आधुनिक प्रविधिबाट च्याउ

महोत्तरी, फागुन ७ – महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् । च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गर्छ । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएकोे कक्षा ९ मा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् । च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताए । त्यस्तै छात्रा संरचना कुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनको लागि तीन हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताए । कक्षा ९ मा अध्ययनरत ती विद्यार्थीलाई छ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताए । यस विद्यालयका आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली परीक्षणका रुपमा उत्पादनसमेत गर्दै आएका छन् । कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषि विज्ञान विषयका तीन वर्षे कक्षा सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिए  । यसै वर्षदेखि सुरु भएको सो विषय अध्ययनका लागि जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी यहाँ आउने गरेको सो विद्यालयले जनाएको छ ।

अस्कलमा क्रान्तिकारीबाट चौधरीले पाए अध्यक्षको टिकट

काठमाडौँ, फागुन ७ । अस्कलका नामले चर्चित राजधानीको अमृत साइन्स क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले घनश्याम चौधरीलाई स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेको छ। क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका चौधरी अस्कलका नियमित विद्यार्थी हुन्। सिरहाको गोविन्दपुर स्थायी घर भएका चौधरी यस अघि क्रान्तिकारीको अस्कल क्याम्पस समितिका अध्यक्ष थिए। उम्मेदवार वनेसंगै चौधरीले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन्।आफू क्याम्पसमा अहोरात्र खटेको र संगठनको ऐजेण्डा सहि भएकाले आफ्नो जीत सुनिश्चित रहेको चौधरीले दावी गरे।अस्कल क्याम्पसमा गत चुनावमा क्रान्तिकारीले झिनो मतले सभापति गुमाएपनि वमुमत सिट जितेको थियो। नेपालको राजनीतिक र शैक्षिक इतिहासमा अतुलनीय योगदान रहेको अस्कल क्याम्पसलाई नमुना र आधुनिक वनाउन लाग्ने चौधरीले वताए।फागुन १४ गते हुने स्ववियु निर्वाचन चार दिन सरेर फागुन १८ गते हुँदैछ।

विद्यार्थीले गरे तालाबन्दी !

वीरगन्ज, फागुन ६ । वीरगन्जको सबैभन्दा पुरानो ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु चुनाव तोकिएकै मितिमा हुने संभावना कम देखिएको छ । विभिन्न विद्यार्थी सङ्गठनले क्याम्पसमा गरेको तालाबन्दीको कारण तोकिएको समयमा स्ववियु कार्यतालिका अनुसार स्ववियु निर्वाचन प्रक्रिया शुरु नभएको कारण निर्वाचन अन्योलमा परेको हो । अखिल क्रान्तिकारीले सर्वप्रथम क्याम्पसमा तालाबन्दी गरेको थियो। माघ १४ गते आचारसंहिता लागू भएपछि क्याम्पसले स्नातक र स्नातकोत्तरतर्पm भर्ना लिएको कारण अखिल क्रान्तिकारीले तालाबन्दी गरेको स्ववियु निर्वाचनमा सभापति पदका दाबेदार प्रभाकर गुप्ताले बताए। १४ गते आचारसंहिता लागू भएपछिको अवस्थामा पनि क्याम्पसले भर्ना लिएको कारण तालाबन्दी गरेको उनको भनाइ थियो। ठाराब क्याम्पसमा रहेका अन्य विद्यार्थी सङ्गठनहरूले भने भर्ना हुनुपर्ने अडानसहित अखिल क्रान्तिकारीले लगाएको तालामाथि ताला लगाउने काम गरेको छ। स्ववियु निर्वाचनमा उम्मेदवार दाबी गर्नेहरूमध्ये नै भर्ना हुन नसकेका कारण मधेसी विद्यार्थी सङ्गठन, अखिल, नेविसङ्घ तथा अन्य सङ्गठनहरूले क्याम्पसको प्रशासन, लेखा, अतिरिक्त क्रियाकलाप, परीक्षँ शाखा, निर्वाचन आयुक्तको कार्यालय र क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका हुन्। विद्यार्थी सङ्गठनहरूलाई राखेर तालाबन्दी खोलाउन क्याम्पसले गर्दै आएको प्रयास विफल भएपछि विद्यार्थी सङ्गठनका माउ संस्था राजनीतिक दलका स्थानीय नेताहरूको भेला गराएर निकास निकाल्ने काम भइरहेको छ। यद्यपि क्याम्पस प्रमुख प्रमोद कुशवाहाले निर्वाचन गराउन तयार आफूहरु रहेको जिकिर गरेका छन् । उनले विभिन्न राजनीतिक दलका पार्टी अध्यक्षहरूलाई सहमतिमा तालाबन्दी खुलाएर निर्वाचन प्रक्रिया सुचारु गर्न प्रयास भइरहेको बताए। तत्काल सहमति भए पनि तोकिएको मिति फागुन १४ गते स्ववियु निर्वाचन हुन सक्ने उनले प्रतीकलाई बताए। स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन १ गतेदेखि दर्ता, मतदाता नामावली प्रकाशन र आज उम्मेदवारी दर्ताको प्रक्रिया सुचारु छ। तर ठाराब क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले नै तालाबन्दी गरेको कारण क्याम्पसको निर्वाचन तोकिएको समयमा हुने सम्भावना क्षीण देखापरेको हो। ठाराब क्याम्पसमा १५ वटा विभिन्न विद्यार्थी सङ्गठनहरू छन् भने करिब चार हजार ५ सय विद्यार्थी छन्। यता, स्ववियु निर्वाचन अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान ९नर्सिङ क्याम्पस० वीरगंजमा स्ववियु निर्वाचन प्रक्रिया त्रिविविको कार्यतालिका अनुसार सुचारु छ। प्रमुख निर्वाचन आयुक्त प्रमिला गौरोले उम्मेदवारी दर्ता भएको बताइन्। सभापति पदमा प्रत्यक्षतर्पm अखिल र नेविसङ्घका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् भने समानुपातिकतर्पm अखिल क्रान्तिकारी र नेविसङ्घले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन आयुक्त गौरोले सभापतिपदमा अखिलबाट सुनीता यादव र नेविसङ्घबाट प्रशंसा पाण्डेले उम्मेदवारी दर्ता गराएको बताइन् ।

यस्ता छन् अनेरास्ववियुका नयाँ नियमहरु

स्ववियु निर्वाचन नजिकिँदै जाँदा विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठक बसी अनेरास्ववियुले संयुक्त वक्तव्य निकालेको छ । अनेरास्ववियुको कार्यालयमा बसेको सो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. त्रिभुवन विश्वविद्यालयले २०७३ फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्छ भन्नेमा पूर्ण सहमति भएको छ । स्ववियुका सन्दर्भमा देखिएका केही अन्यौलताहरु हटाउदै फागुन १ गतेदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गर्दछौं । २. स्ववियु निर्वाचनको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्न गराउन प्रतिबद्धता व्यक्त गरिएको छ । आचारसंहिता विपरीत केही क्याम्पसहरुमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्नाहरु छानविन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारवाही गर्न माग गर्दछौं । आचारसंहिता प्रत्येक क्याम्पसहरुमा नियमित अनुगमन गर्नको लागि सबै संगठनका महासचिव/महामन्त्री वा तोकिएका प्रतिनिधिहरु रहेको अनुगमन समिति गठन गरिएको छ । ३. आचारसंहिता वा कहींकतै विवाद भएमा केन्द्रीय तहबाटै तत्काल समाधान गरिनेछ । देशका कतिपय क्याम्पसहरुमा केही असहज स्थिति देखिएको भन्ने रिपोर्ट आएकाले सम्बन्धित क्याम्पसहरुले छलफल गरी निकास निकाल्न अनुरोध गर्दछौं । ४. सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न हार्दिक अपील गर्दछौं ।