विरेन्द्रतालमा हिमपहिरो खस्दा साम्दो जाने काठेपुल बगायो

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ। आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको हो। खोलामा पानीको मात्रा बढी हुँदा पुल बगाएको स्थानीय चोखे लामाले बताए।

पानीको मात्रा त्यति धेरै नभएपनि वर्षातको जस्तो अवस्था देखिएको उनले बताए । तल्ला तटिय क्षेत्रका मानिसहरुलाई सावधानी अपनाउन सञ्चार गरिएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए। 

सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  बिहीबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यसदिन चाँदी तोलामा एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

मौसममा सुधार आएपछि पोखरामा नियमित उडान

पोखरा । मौसममा सुधार आएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित हुन थालेको छ । डढेलोको धुवाँ, धूलो मिसिएको तुँवालोका कारण शुक्रबारदेखि पोखरा विमानस्थलमा उडान हुन सकेको थिएन् । विमानस्थल प्रशासनका अनुसार बिहीबार बिहानैदेखि पोखरामा रहेका दुवै विमानस्थल सञ्चालनमा आएका छन् । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पुरानो आन्तरिक विमानस्थलबाट तीन किलोमिटर दूरीमा सञ्चालित छ । पुरानो आन्तरिक विमानस्थलबाट हिमाली जिल्ला मुस्ताङ र मनाङमा उडान हुन्छन् । त्यहीबाट पर्यटकीय अल्ट्रा उडान र हेलिकोप्टर चार्टर उडान हुने गरेका छन् । बुधबार दिउँसो १२ः३० पछि केही सुधार हुँदै जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उपकरणको सहायताबाट हुने उडान आंशिक रूपमा खुला गरेको थियो। 

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।   ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।  राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए ।  नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । रासस

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल हुँदै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सुरु हुनेछ।  पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो । पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ । यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस : विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।

जीबी राईको हत्या भैसक्यो भनेपछि पक्राउ परे डिल्लीराम खनाल

काठमाडौं । सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो । झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । खनालले जीबी राईको हत्या भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ । रासस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।देउला सवार मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएर दुर्घटना भएको थियो ।  त्यसपछि गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कानुन निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : मन्त्री शर्मा

काठमाडौं।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छिन्।  नेपाल पत्रकार महासंघका पदाधिकारी तथा पूर्व अध्यक्षहरु, सञ्चार सम्बद्ध पेशागत तथा समावेशी संगठनका प्रमुखहरुसँग भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तक्र्रियामा उहाँले यस्तो आफूले नीतिगत सुधारमा जोड दिएको बताइन् ।  ‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरेको एक वर्ष पूरा भइसकेको छ’– उनले भनिन्– ‘यो बीचमा नेपालको आम सञ्चार क्षेत्रलाई व्यवस्थित केही सुधारात्मक काम पनि भएका छन् तर मुख्यगरी हामीले कानुन निर्माणमा जोड दिएका छौं, हामीले थालेका कानुन निर्माण प्रक्रियाले पूर्णता पाएपछि नेपालको आम सञ्चार क्षेत्रको पुनर्संरचना हुने सरकारको विश्वास छ ।’ मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भएको, आम सञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उल्लेख गर्दै उनले विज्ञापन नीति लगायत अन्य नीति तथा कानुन परिमार्जनको क्रममा रहेको जानकारी दिइन्। सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिइन् ।  नीति, कानुन र संरचनात्मक सुधारबाट अघि बढ्न सुरुमै विज्ञहरुको समिति बनाएर काम थालिएको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञ र सरोकारवालाहरुको परामर्श लिएपछि मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर आम नागरिकको रायसुझाव लिने र त्यसपछि मात्रै बाँकी प्रक्रियामा लैजाने भएकाले विधेयकलाई अन्तिम रुप दिन समय लागेको पनि स्पष्ट पारिन् । ‘विधेयक ल्याउनु मात्रै ठूलो कुरा होइन, विवादरहित बनाएर पारित गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ’– उनले भनिन्– ‘विगतमा यस्तै विधेयक आउँदा जुन जुन क्षेत्रमा सरोकारवालाको बिरोध आएको थियो, त्यसलाई सरोकारवालाकै सहमतिमा सच्याएर अघि बढाएका छौं ।’ उहाँले सरकारी स्वामित्वका सञ्चारमाध्यमको पनि समीक्षा जरुरी रहेकाले विज्ञहरुलाई आवश्यक राय सुझाव दिन आग्रह गरिन्। ‘हिजो जुनबेला सरकारी सञ्चारमाध्यम स्थापना भए, त्यतिबेला अन्य सञ्चारमाध्यम थिएनन् र राज्यको लोकतान्त्रिक चरित्र पनि कम थियो’– उनले भनिन्– ‘अहिलेको अवस्थामा सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक सञ्चारमाध्यमको रुपमा कसरी स्थापित गर्न सकिन्छ, अघि बढाउन आवश्यक छ ।’ उनले अब सञ्चारमाध्यमको संख्यामा मात्र होइन, गुणस्तरमा जोड दिनुपर्ने समय आएकाले विषवस्तुको विविधतालाई ध्यान दिनुपर्ने बताइन् । मन्त्री शर्माले पत्रकारितालाई सँधै सत्ताको प्रतिपक्षको रुपमा लिनुपर्छ भन्ने धारणा पनि सही नभएको बताइन्। ‘सत्ता पक्ष होस् वा जोसुकै होस् मिडियाले खराबीको बिरोध गर्नुपर्छ तर हिजो जनविरोधी र निरंकुश व्यवस्था भएको बेलामा बनाइएको परिभाषा सँधै बोकेर हिड्नुपर्छ भन्ने छैन’–उनले भनिन्– ‘हिजो व्यवस्था र राज्य सञ्चालकको रवैयाविरुद्ध उत्रनु सही थियो तर अहिले नेतृत्वको खराब पक्षको आलोचना गर्नु सही नै भए पनि व्यवस्थाको रक्षाका लागि पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्छ किनकि यो व्यवस्था परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका छ ।’ कार्यक्रममा अगुवा पत्रकारहरुले आगामी आर्थिक वर्षको कार्यक्रममा पत्रकार महासंघको भौतिक संरचनामा सहयोग गर्न, पत्रकार स्वास्थ्य विमा र तोकिएका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्न, मिडिया मर्जलाई प्रोत्साहन गर्न, आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न, पत्रकार आफैले चलाएका स्वरोजगारमूलक मिडियालाई थप सहयोग गर्न, पत्रकारिता संघसंस्था अनुदान बढाउन, शैक्षिक पाठ्यक्रममा मिडिया साक्षरता समावेश गर्न सुझाव दिएका थिए ।  कार्यक्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्य, सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्वअध्यक्षहरु धर्मेन्द्र झा, डा.महेन्द्र बिष्ट, शिव गाउँले, किशोर नेपाल र मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले धारणा राख्नुभएको थियो । त्यस्तै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस यूनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, फोनिजका अध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, क्रियाशील पत्रकार महिलाका उपाध्यक्ष रामकला खड्का, लोकतान्त्रिक छापासञ्जालका अध्यक्ष दामोदर दवाडी, अकोराबका अध्यक्ष अर्जुन गिरी, बानका अध्यक्ष कुमार भट्टराई, निर्मला शर्मा, लाल ऐरी, फूलमान बललगायतले सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।

श्रमसम्बन्धी विवाद स्थानीय तहबाटै समाधान हुनु महत्त्वपूर्ण राजनीतिक उपलब्धि : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा त्रिपक्षीय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताए ।  उनले नेपालमा पनि सामाजिक संवादमार्फत श्रमसम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्त्व पाउँदै गएको बताए ।'नेपालको श्रमसम्बन्धी जुन रूपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ । यो हाम्रा लागि सुखद् अवसर पनि हो । सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रूपमा लिने गरेका छन् । हामीले सुरु गरेका असल अभ्यास र सहकार्यको निरन्तरता र साझा हितका लागि काम गर्ने संस्कृतिको विकास गर्न हामी सबैको प्रतिबद्धताको लागि म आग्रह गर्दछु,' उनले भने । अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गरे ।

प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् ।  प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे ।  हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतरा विरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो ।  प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका ४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्बर ४ कै ५० वर्षीय रमेश पहरीको पनि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान उनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा उपचारको मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू सख्त घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामीहरुलाई अन्यत्र सारिएको छ ।

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद  : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् । आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।” प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले भने, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।” भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् । रासस