यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यसैगरी, आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता

विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने तयारी गरेको छ।चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। लगानी सम्मेलन चलिरहेको समयमा सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् । एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको  छ ।कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।  

मुलुकको आवश्यकताअनुसार १६ औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६ औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन्। लगानी सम्मेलनको दोस्रो दिन आयोजित ‘हार्नेसिङ ग्रीन फाइनान्स फर सस्टेनेबल इन्भेस्टमेन्ट’ सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा उत्तिकै प्राथमिकता दिइएको बताए। लगानीका विभिन्न सम्भाव्य क्षेत्रमध्ये ऊर्जा क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको र सोहीअनुसारको कार्यक्रमसमेत तय गरिएको उनको भनाइ थियो।  लगानी विस्तार गर्नुपर्ने प्रमुख क्षेत्रका रूपमा कृषि रहेको र त्यसलाई आधुनिकीकरण गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले आधुनिक खेती प्रणालीका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध जरुरी रहेको बताए। वन क्षेत्रलाई बहुआयामिकरुपमा संरक्षण गर्ने र आर्थिकोपार्जनका लागि प्रयोग गर्ने सोचका साथ सरकारले कार्यक्रम तय गरेको जानकारी दिँदै उपाध्यक्ष डा.श्रेष्ठले वनलाई समृद्धिको आधार बनाइएको तथ्य पेस गरे।  लगानीको क्षेत्रको चर्चा गर्ने क्रममा उपाध्यक्ष श्रेष्ठले खानेपानी क्षेत्र पनि उल्लेख गरे। उनले नेपालको कञ्चन पानीमा लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान गरे। हिमनदीको पानी प्रशोधन गरेर बिक्री गर्न सकिने जानकारी दिँदै उहाँले पानी पनि निर्यातयोग्य वस्तुकारुपमा हो भन्दै चर्चा गरे। वातावरण संरक्षणका क्षेत्रमा नेपालले गरेको प्रगतिका आधारमा ग्रीन फाइनान्स तथा कार्बन न्यूनीकरणमा पुर्‍याएको योगदानबापत थप सहुलियत पाउनुपर्ने बताए। दिगो विकासका लागि नेपालले गरेको सार्थक प्रयासको लाभ नेपालले मात्रै प्राप्त गर्ने नभई संसारभरले नै उपभोग गर्न पाउने र समग्र पृथ्वीको हितका लागि नै हुने मर्मलाई आत्मसात् गर्न पनि उपाध्यक्ष श्रेष्ठले आग्रह गरे। सो सत्रमा अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष आशिष् गर्गलगायतले हरित अर्थतन्त्र र त्यसका आयामबारे धारणा राखेका थिए । 

सुहाङको अग्रता ४ हजार, दोस्रो स्थानमा रुख र मुढाको टक्कर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको कडा टक्कर देखिएको छ । खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।

चीन-नेपाल द्विपक्षीय आर्थिक सम्बन्ध हिमालय जस्तै अटल :  मन्त्री भण्डारी

काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु १७औँ नेपाल चीन (तिब्बत)आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, “चीनको स्वशासित क्षेत्र तिब्बतबीचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ ।” नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठीन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि बाधाका रुपमा नरहेको बताए । उनले भने, “हाम्रा पुर्खाहरुले यी बाधाहरुलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिए त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन् ।”  नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रुपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र समृद्धि सदैव नेपालको अन्तरमनको चाहना रहँदै आएको उल्लेख गर्नुभयो । नेपाल सदैव एक चीन नीतिको समर्थक रहँदै आएको उल्लेख गर्दै उनले भने, “चीनको एकता र अखण्डतालाई मन, वचन र कर्मले प्रतिबद्ध रहेको यस अवसरमा उल्लेख गर्न चाहन्छु ।” रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दैै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटर्वकले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरे।  उनले चीनसँग नेपालको व्यापारघाटा बढ्दै गइरहेको सन्र्दभमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरे।  व्यापार मेला दुई देशबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण औजारका रुपमा रहने उल्लेख गर्दै उनले भने, “म आशा गर्दछु कि यसप्रकारका व्यापार मेलाले पनि हामी दुई छिमेकी देशबीच व्यापार वृद्धि गर्न सहयोगी हुनेछ र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदायोग्य हुनेछ ।”   कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्धमा जोड दिए। उनले दुई देशका व्यावसायीबीचमा असल व्यापारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्नुपर्ने बताए। वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्नसके दुई देशबीचको व्यापार सम्बन्धले गति लिने विश्वास व्यक्त गरे । उनले चीनसँगको नेपालको व्यापार घाटा कम गर्न चिनियाँ लगानीकर्तालाई निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग यहाँ स्थापना गर्न आग्रह गरे। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले यसअघि नेपाल र चीन (तिब्बत) बीचको १९९० को समझदारी पत्र बमोजिम नेपाल र चीन (तिब्बत)बीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले नेपाल तिब्बत आर्थिक तथा व्यापार मेलाको आलोपालो रुपमा मेला लगाइँदै आएको बताए। उनले शून्य भन्सार दरको सहुलियत व्यवस्थाबाट नेपाली निर्यातकर्ताले यस मेलाको अवसर पारेर चीनमा आफ्ना वस्तु निर्यात गर्ने महत्वपूर्ण अवसरका रुपमा यस मेलालाई उपयोग गर्ने र आफ्नो व्यापार प्रवद्र्धन गर्न तिब्बतमा रहेका व्यापारिक समुदायसँग फलदायी कारोबार गर्ने विश्वास व्यक्त गरे।   आजदेखि सुरु भएको मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरुमा नेपालबाट चीन निर्यात हुने करिब ४० प्रकारका निर्यातयोग्य वस्तु राखिएका छन् । 

वाइवाई चाउचाउविरुद्ध झुटा प्रचार भएको चौधरीको दावी

काठमाडौं । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो उत्पादन वाइवाई चाउचाउलाई बदनाम गराउने हर्कत भइरहेको दावी गरेका छन्। यसविरुद्ध गरिएको गलत प्रचार गरिएको जिकिर गर्दै उनले भ्रममा नपर्न उनले आम उपभोक्तालाई आग्रह पनि गरेका छन्।   केही दिनअघि वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको चर्चा चर्चा चलेको थियो।  चौधरीले आफूहरूले आईपीओमा जाने घोषणा गर्नासाथ वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिएको दाबी गरेका छन्।   वाइवाई चाउचाउ उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील रहेको उनको दावी छ।  उनले भनेका छन्, ‘अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून् ।’  निर्देशक चौधरीले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दै यदि कसैलाई कारखानामा भ्रमण गर्न मन भए स्वागत गरिने उल्लेख छ । चौधरीको वक्तव्यको पूर्णपाठः  वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्। अचम्मकै कुरा भन्नुपर्छ वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छरु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान यस्तो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनले अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने बताए । सीता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।  अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको छ । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा रहेको थियो ।

बझाङमा फेरि ९ मतले एमालेको अग्रता

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । बीचमा काङ्ग्रेस अगाडि रहेकोमा एमालेले फेरि अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका हुन् । भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन् । अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी दिए ।

आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छिन्। हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० वटा गोठ जलेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले यो पीडाको क्षणमा घरबारविहीन पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि जुट्न सबैलाई आह्वान समेत गरिन् । गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटनाहरु बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको छ र नागरिकका घर, पशुपंक्षी लगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल र जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै उहाँले एक प्रेस नोटमार्फत सबै पक्षलाई गम्भीर हुन पनि आग्रह गरिन् । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाटै आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको जानकारी गराउँदै मन्त्री शर्माले क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तिनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको बताइन् । आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै उनले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरिन्। आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालनका लागि पनि उहाँले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरिन् ।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयर को विजयी धोषणा फाइनल बुधबार

काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को स्विम वेयर राउन्डको नतिजा घोषणा गरिएको छ । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी ट्यालेन्ट राउण्ड दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको थियो। हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। उत्कृष्ट सात जना घोषणा गरिएको नतिजामा महिला तर्फ अदिती श्रेष्ठ, आयुश्नोभा ढुंगाना, मोनिका अधिकारी, सजिना खनाल, सस्कृति भट्ट, समिका शेरचर र श्रद्घा अधिकारी रहेकाछन् भने पुरुष तर्फ अर्विन गुरुग, मनिष श्रेष्ठ, मिलन भट्टराई, धिरोज काजी बस्नेत र क्षितिज श्रेष्ठ रहेकाछन् । नेशनल डाइरेक्टर सन्तोष उपाध्याय मिस सुप्रानेशनल २०२३ समा पराजुली मिस ग्लोब २०२३ रोशनी चन्द मिस्टर इन्टरनेशल २०२२ मानस राई, स्टाइलिस स्मित तामाङ सहित उज्वल के जोशी यस राउन्डको निर्णायक थिए। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।  हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो। त्यसैगरि सोही दिन, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डको नतिजाको घोषणा भने सोहीदिन गरिएको थियो यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे। पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए।   यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए। सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ। यसपछि आउँदो सोमबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको गोदावरी भिलेज रिर्सोटमा  गरिनेछ। प्रतियोगिताको फिनाले भने वैशाख १९ बुधबारका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।  फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ। फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाइन् ।आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे  जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही  स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीब्र रुपमा अघि बढेको छ। निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् ।अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उनको भनाइ थियो ।   पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन्। तटिय क्षेत्रमा बसोबास गर्ने  जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गरिन्। तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन्। तटबन्धको कार्यले निरन्ता दिदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उनको भनाइ थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताए। गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नकिनेको उल्लेख गरे।तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । ।दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।  

इलाममा थपियो मतगणना स्थल, अब तीन स्थानमाबाट गनिने

इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि दुई स्थानमा गणना भइरहेको थियो । अहिलेसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङसेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना गर्न बाँकी छ। तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्न लागिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। गत शनिबार सम्पन्न उपनिर्वाचनको आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु गरिएको हो ।

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो । रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

बझाङमा मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी (रासस)। जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।            लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताए । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।