यस्तो हुनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदली छ ।

गण्डकी प्रदेशका थोरै स्थानमा साथै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भूभागका थोरै स्थानमा साथै तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने

लसएन्जलस। अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। नासा र स्पेसएक्सले मिशन प्रक्षेपण गर्न जुन २५ लाई लक्षित गर्दैछन् । त्यसको कोडनाम ‘जियोस्टेशनरी अपरेशनल इन्भारोन्मेन्टल स्याटालाइट यु’ रहेको छ। फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरमा रहेको लन्च कम्प्लेक्स ३९ ए बाट स्पेसएक्स फाल्कन हेभी रकेटमा उपग्रह प्रक्षेपण हुनेछ। उपग्रहले उन्नत इमेजरी, वायुमण्डलीय मापन, बिजुलीको गतिविधिको वास्तविक समय म्यापिङ र नयाँ कम्प्याक्ट कोरोनोग्राफसहित सूर्यको वायुमण्डलको बाहिरी तहलाई कोरोनल पत्ता लगाउन र विशेषताहरू चित्रण गर्ने सहित, नजिकैको अन्तरिक्ष मौसम खतराहरू पत्ता लगाउनका लागि उपकरणहरूको एक सुट बोक्नेछ । रासस/सिन्ह्वा

पूर्वमन्त्रीले वर्तमानमन्त्री समक्ष गरे आफैंमाथि छानविनको माग

काठमाडौं ।पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले आफैंमाथि छानविनको माग गरेका छन्।एक सांचारमाध्ययमले भोजपुरबाट निर्वाचित माओवादीका सांसद समेत रहेका किरातीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाएपछि किरातीले आज पर्यटनमन्त्री हितबहादुर तामाङलाई भेटेर यस विषयमा छानविनको माग गरेका हुन्।  मन्त्री तामाङलाई लिखित माग पत्र नै बुझाएका किरातीले भनेका छन्, ‘विद्युतीय उपकरणद्धारा निःशुल्क शव दहन गर्ने कार्यक्रम हाम्रो कार्यकालमा अघि बढाईएको थियो।सोही कार्यक्रमलाई लिएर उठाईएका विषयको छानविन गर्न तत्काल छानविन समिति गठन गरिदिनुहुनका लागि जोडदार माग गर्दछु।’   

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।  कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ। यस्तै, सोमबार नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।  बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। 

एक्यान गण्डकी प्रमुखमा अनिल, कास्की सभापतिमा विवेक

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ गण्डकी प्रमुखमा सिए अनिल लामिछाने चयन भएका छन्। संघको शनिबार गण्डकी प्रमुख र कास्की कार्यसमितिको अधिवेशन भएको हो। एकाउन्टेन्ट्स संघको गण्डकी प्रमुखमा अनिल निर्विरोध चयन भए भने विवेक श्रेष्ठको नेतृत्वमा जिल्ला कार्यसमिति कास्की बनेको छ। समितिको उपसभापतिमा दीपक भुर्तेल, सचिवमा सागर आचार्य र कोषाध्यक्षमा पुरोचन उदास चयन भए।    समितिको सदस्यमा समिप भर्ती थकाली, प्रकाश पौडेल, सरोज पराजुली, उभेककुमार श्रेष्ठ र सविना महर्जन छन्। नेपालभरिको चार्टर्ड एकाउन्टेन्ट्सहरुको अधिवेशन शनिबार भएको हो। २०३४ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ११ वटा जिल्ला समिति र उपात्यका विशेष प्रदेश समितिसहित ८ वटा प्रदेश समिति छन्। गण्डकीमा ७५ जना चार्टर्ड एकाउन्टेन्ट्स छन्।

जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ ।  उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन भएको छ । सो जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ।त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको  पार्टी निकट एक अधिवक्ताले बताए। उनले भने, ‘सबै तयारी पुरा भएको छ, अब दर्ता गराउन मात्र बाँकी छ, सम्भवतः आजै रिट दायर हुन्छ ।' हाल संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगले अवैधानिक रुपमा दल दर्ता गरेको आरोप जसपा नेपालको रहेको छ। 

बत्तीसपुतलीमा युवकको हत्याको कारण -'कुम ठोक्किनू'

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ। शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो। हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन्। घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ। विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो। सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ। उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन्। उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भएको हो। आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारोबार भएको छ। शुक्रबार प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । 

सल्यान कुपिण्डेमा एक दम्पती मृत फेला

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए। कार्कीका अनुसार श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेका छन्।  प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चितवनमा अज्ञात समूहद्वारा स्कुलबसमा आगजनी

काठमाडौं । चितवनमा अज्ञात समूहले एक स्कुल बसमा आगजनी गरेको छ।भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरेका हुन्। चितवनका डीसपी भेषराज रिजालका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ। बस जलेर पूर्ण रूपमा क्षति भएको छ। 

डा. गोविन्द केसीले सुरू गरे बाइसौं पटक अनशन, यस्ता छन् ४ माग

काठमाडौं । डाक्टर गोविन्द केसीले शनिबारदेखि बाइसौं अनशन सुरू गरेका छन्।विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्। 'अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ वैशाख २९ गते ४ बजेदेखि बाइसौं सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौं' पत्रकार सम्मेलन गर्दै उनले भने। यस्ता छन् माग १.सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा। निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्। २.सबै नेपालीलाई गुणस्तरीय साथै निस्शुल्क औषधि उपचारको व्यवस्था गरियोस्। ३.जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा  सुधार र सबैको समान पहुँच सम्बन्धी ( गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज रप्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र  स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र, ४.कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ।

तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले यो सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्। उनले भनेका छन्,‘झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चका संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।’ उनले अब त्यहाँ कि चिया बगान हुने कि त त्यो जग्गा सरकारको हुने उनले बताए। उनका अनुसार यो जग्गा अहिलेको अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ। ‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले,’उनले भनेका छन्,‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानु होला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ।’ देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएको भन्दै उनले कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद दिए। ‘धन्न तपाई जस्तो कोहि हुनुहुन्छ र सरकारी सम्पत्ति बचेको छ,’उनले उल्लेख गरेका छन्।

वैवाहिक बलात्कारको आरोप : गायक रवि ओडले गरे आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनी बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए। नेपाल आइडल सिजन– २ का विजेता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन्। श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या, चारजना पक्राउ

काठमाडौं  । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।  गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो। धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए। उनको हत्याको कारण भने खुलेको छैन। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ३० गते आइतबार सन् २०२४ मे १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ शून्य पैसा र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर