नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन

चितवन । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो ।

वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाइन् ।आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे  जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही  स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीब्र रुपमा अघि बढेको छ।

निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताइन् ।अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उनको भनाइ थियो ।  

पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उनले जानकारी दिइन्।

तटिय क्षेत्रमा बसोबास गर्ने  जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गरिन्।
तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताइन्।
तटबन्धको कार्यले निरन्ता दिदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उनको भनाइ थियो ।

नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताए।

गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नकिनेको उल्लेख गरे।तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । ।दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ ।

सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ ।
करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।
 

भरतपुर महानगरद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो। भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिवद्ध गरेको छ ।छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् । अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेडा सडकमा फाग्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धाराणा राखेका थिए। यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आईटी शिक्षालाई विद्यालयस्तरबाटै लागु गर्नुपर्ने, आयमुलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्सहान गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्सहान, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथामिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो । कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल  [email protected]  मा राय सुझाव पठाउन सकिने छ । महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा ३७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। लागुऔषध कारोबारमा संलग्नमध्ये  स्वदेशी ३२५ पुरुष र २५ महिला तथा  १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन्।  लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बंगाल र विहारसँग झण्डै १४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको हो। दिनानुदिन लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले लागुऔषध नियन्त्रणमा आमाहरू नामक कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।  अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ। स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर लागुऔषध नियन्त्रणमा आमाहरू नामक कार्यक्रम सञ्चालन गरिरहेको छ। रासस

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।  लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसीआईएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।  जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाल इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ । जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” रासस

४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयका कृष्णहरि शर्मा पोखरेल रहेका छन् । त्यस्तै दानबहादुर कार्की, डा मनोज केसी र राजन अधिकारी पनि बढुवाका लागि सिफारिस भएका छन् । हेर्नुस् सूची 

लोकप्रिय