यसकारण बन्छन् बालकहरु गाडीका खलासी !

जुम्ला, माघ ९ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो ।

बसको ढोकाबाट सानो बालक यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने– काठमाडौ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओ‌ठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी, कालीकोट फोइ महादेव गाविसका १२ वर्षीय बालक किशोर बुढा ।

सानो उमेरमै खलासी काम गर्दै आएका किशोरले काठमाडौँका लागि बस नजिक पुगेका यात्रुको सामान बडो कठिन तरिकाले हुटमा राखेर पुनः यात्रु बोलाउन ठूलो स्वरले कराउन थाले । अपत्यारिलो काम गर्ने बालक किशोरको यस्तै देखिन्थ्यो दैनिकी ।

त्यस्तै, जुम्ला–नाग्म हुँदै सुर्खेतका लागि छुटेको बसमा यात्रु बोलाउँदै थिए, जुम्ला नराकोट गाविस घर भई खलासीको काम गर्दै आएका अर्का बालक राजबहादुर थापा । उनी पनि वर्षले १४ काटेका थिएनन् । तर पनि आफूलाई १३–१४ वर्ष भन्न रुचाएनन् उनले ।

पछिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयुक्त काम गर्दै आएका छन् । यो मजदुरी गर्नु उनीहरूका लागि रहर नभई बाध्यता बन्दै आएको छ ।

खलासी काम गर्ने यी दुवै बालकलाई गाडी लाइन सास्ती हुन्छ भन्ने राम्रोसँग थाहा छ । यात्रुको रुखो बचन, राम्ररी खान, आराम गर्न र सुत्न नपाउनु, गाडी मर्मतमा हुने कठिनाइले कहिलेकाहीँ उनीहरूलाई दिक्क बनाउँछ र यो लाइन नै छोडुँ जस्तो लाग्छ ।

तर फर्केर जानु नै कहाँ छ र उनीहरूलाई ? आमाबुबा नभएका उनीहरूका लागि गाडी गाँस, बास दुवै भएको छ ।

पढ्ने रहर मनभरि भए तापनि जीवन धान्नका लागि खाने गाँस, लगाउने कपाससमेत आफ}+ले जोहो गर्नुपर्ने बाध्यताले अब पढ्ने मोह पनि घटिसकेको छ, उनीहरूको ।

खलासी काम गर्ने दुवै बालक बुढा र थापाले भने– “दिनभर गाडीको ढोका ठोक्दै हाम्रा दिन बित्छन् । गाडीमा यात्रुले गर्ने दुर्व्यवहारले मन दुखेर घरको याद झलझली आउँछ, यस्तो दुःख किन गरौँ जस्तो मनमा विचार आउँछ । आखिर घरमा जाउँ संरक्षण गर्ने पनि त कोही छैन ।

भोको पेटको आगो निभाउन सहेरै काम गर्दै आएका छौँ ।” फोहाेर शरीर, थाकेको ज्यान, भोको पेटले पढ्ने कुरालाई सोच्नै नसकेको र यो असम्भव भइसकेको उनीहरूको भनाइ थियो । पेटकै लागि गाली खाएर काम गर्दै आएको र सके गाडी चालक बनेर देखाउने उनीहरूले बताए ।

जोखिमपूर्ण काम गर्ने बुढा र थापा त प्रतिनिधि बालक मात्र हुन् । दर्जनौँ बालबालिका कठिन श्रममा संलग्न छन् । यसरी श्रममा संलग्न अधिकांश बालक आफ्नो सही उमेर दिन पनि चाहँदैनन् । १८ वर्षभन्दा मुनिकालाई कानुनले कुनै पनि श्रम गर्न दिँदैन भन्ने कुरा सामान्यतः उनीहरूलाई थाहा छ ।

११ वर्ष उमेर भएका बालबालिकाले पनि १६ वर्ष उमेर पुगेको भनेर ढाँट्छन् । बालश्रम शोषण र अधिकार हनन भयो भन्दै अधिकारकर्मीहरूले कामबाट छुटाउने तर आफ्नो जीवनका लागि राज्यले अर्को व्यवस्था नगर्दा समस्यामा पर्ने गरेकाले ढाँट्नु परेको उनीहरूको दुखेसो छ ।

नेपालको संविधान–२०७३, भाग ३ को मौलिक हकको धारा ३९ को उपधारा -४ मा भनिएको छ,…कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।

संविधानमा उल्लेख गरिएका यी यस्तै व्यवस्थाका विषयमा निश्चित नागरिकबाहेक अरूलाई राम्रोसँग थाहा हुँदैन, ग्रामीण भेकमा ।

संविधानले दिएको अधिकारका बारेमा न उनीहरूलाई जानकारी छ न त उनीहरूको अधिकार राज्यले सुनिश्चित गर्न त्यस्तो कुनै स्पष्ट मापदण्ड तयार गरेको पाइन्छ ।

अधिकारबाट वञ्चित भएका बालबालिकाको बालअधिकार सुनिश्चितताका सवालमा अधिकारकर्मीहरूले आवाज निकालेको त पाइन्छ । यद्यपि पेस गरिएका प्रतिवेदनको कार्यान्वयन सरकारले गर्न नसक्दा अधिकारकर्मीहरू आफ्नो प्रयास लत्याइएको बताउँछन् ।

प्रधानमन्त्रीले गरे रमजानलाई सम्मान

काठमाडौं, माघ ८ । अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा योगदान गर्ने एक मानवअधिकारवादीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन् । मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधी प्रो. मोहम्मद रमजान अलि मियाँलाई शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्मान गरेका हुन् । सामाजिक र अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मुस्लिम मुक्ति मोर्चा नेपालले उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो । रमजानले कतारको कानुन नेपाली भाषामा अनुवाद गरेर पुस्तक तयार गरेका छन् । रमजानले कतारको संसोधित ऐन, २०१५ पनि नेपाली भाषामा अनुवाद गरिसकेको बताए । रमजानले कतारमा समस्यामा परेका नेपालीको उद्दारमा समेत महत्वपुर्ण सहयोग गर्दै आएको उनले जानकारी दिए । उनी मानव अधिकार समिति कतारमा सन् २०१४ देखि नेपाली प्रतिनिधीका रुपमा कार्यरत छन् । रमजानलाई यसअघि कतार सरकार र विभिन्न संघ संस्थाले समेत सम्मान गरेका छन् ।

राईलाई राष्ट्रिय विभूति घोषणा गरिने– प्रधानमन्त्री

काठमाडौँ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता जनाएका छन् शनिबार रामप्रसाद राई फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमार्गलाई रामप्रसाद राई मार्ग घोषणाको पहल भइरहेको जानकारी दिए । प्रधानमन्त्रीले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ्यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको बताए । स्व. राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेखेको ‘रामप्रसाद राई’ नामक कृति ४७२ पेजको रहेको छ । स्व. रामप्रसाद राई भोजपुर निवासी थिए । उनी १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । फाउन्डेसनका अध्यक्ष स्व. राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व. राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

वरिष्ठ पत्रकार गुप्ताबारे वृत्तचित्र

काठमाडौँ, माघ ८ । पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गरेका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ । ‘चाचा’ नामले परिचित पत्रकार गुप्ताका जीवनका विभिन्न पक्ष उठान गरी वृतचित्र तयार गरेको वृतचित्रका निर्माता/निर्देशक सञ्चारकर्मी सन्तोष रेग्मीले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिए । ८८ वर्षीय पत्रकार गुप्ता आज पनि पत्रकारितामा उत्तिकै सक्रिय रहेको छ । आफै समाचार लेख्ने, कम्पोजिङ गर्ने, छाप्ने र वितरणसम्मको काम आफैँ भ्याउने उनको परिचय आज पनि उही रुपमा जारी छ । पत्रकारितामा समर्पित हुँदा २०१७ सालयता गुप्ताले भोग्नुपरेका विभिन्न समस्या, यातना, अभाव, सङ्घर्ष वृत्तचित्रमा समेटिएको सञ्चारकर्मीले बताए । वि.सं २०१७ पछि मिसन पत्रकारिता सुरु गरेको र त्यसका लागि आफ्नै सम्पादनमा २०३१ मा साप्ताहिक ‘किरण’ को प्रकाशन थालेका गुप्ताको पत्रकारिताको यात्रा अनवरत रुपमा जारी छ । पत्रकार गुप्तालाई नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिसकेको छ भने प्रेस काउन्सिल नेपालको गोपालदास पत्रकारिता पुरस्कारलगायतका दर्जनौं सम्मान र पुरस्कारबाट गुप्ता सम्मानित भएको छ ।

२०१७ मा कस्तो छ तपाईंको ग्रहदशा, थाहा पाउनुस् वर्ष राशीफल (राशीफलमा विश्वास गर्नेहरुका लागि)

समग्रमा व्यक्तिको व्यक्तिगत जीवन र व्यवसायिक परिस्थितिमा राम्रो सफलता हासिल हुने वर्ष छ, सन् २०१७ । कतिपय राम्रा र आनन्ददायी क्षणहरूको आगमन हुने सङ्केत छ । व्यक्तिगत र पारिवारिक मेलमिलापको वातावरण रहने छ । लामो समयदेखि दाम्पत्यजीवनमा रहेका, जीवनसाथी वा पार्टनरसिपको चाहना राख्ने वा साझेदारी काम गरिरहेकाहरूले खासगरी वर्षको पूर्वार्द्धमा भाग्योन्नति गर्ने अवसर पाउने छन् । हडबड र शीघ्रता गर्नेहरूले मईदेखि अगस्टसम्म आर्थिक नोक्सानी र चोटपटक व्यहोर्नुपर्ने हुन्छ । पेसा वा रोजगारीको उन्नतिका लागि प्रयासरत व्यक्तिहरूले मिहिनेत र परिश्रममा विश्वास गर्नु जाति हुन्छ । यसवर्ष वृद्धवृद्धाले रोग, शोक र अपमान सहनुपर्ने परिस्थिति छैन । बाल स्वास्थ्यमा पनि कुनै ठूलो जोखिमको सम्भावना छैन । तर यौनव्यभिचारमा वृद्धि हुनेछ । कला, मनोरञ्जन र भोगविलास सम्बद्ध व्यवसायीले कमजोरीको अनुभूति गर्नेछन् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकका लागि नयाँ वर्ष सन् २०१७ ले मानसम्मान र इज्जतप्रतिष्ठा प्रदान गर्ने सङ्केत छ । सामान्यतया सबै क्षेत्रबाट मिश्रित परिणाम प्राप्त हुनेछन् । सुरुमा बुद्धि क्षेत्रमा र वर्षको उत्तरार्द्धमा चौथो भावमा पुग्ने राहु ग्रहका कारण पारिवारिक जीवनका अप्ठ्यारा स्थिति र उल्झन यथावत् रहने छन् । वर्षको सुरुमा राशिपति मङ्गल र केतुको युति हुने भएकाले घरगृहस्थी सञ्चालनमा केही समस्याहरू देखिन सक्छन् र बन्दव्यापार र व्यापारिक क्रियाकलापमा विवाद र समस्याको सङ्केत छ । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछिको समय एकाएक तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ । नयाँ उद्योगधन्दा र प्रतिष्ठानतर्फ ध्यान केन्द्रित हुनेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले प्रारम्भका केही समय सामान्य विघ्न र बाधा व्यहोर्नुपर्छ, तर दिन बित्दै जाँदा परिस्थितिमा सुधार हुँदै जान्छ । समग्रमा यो वर्षको सुरुमा केही उल्झन, तनाव र अप्ठ्यारा भोग्दै अन्त्यमा सबै पक्षमा सुधारात्मक र सकारात्मक स्थिति रहने छ । प्रेमसम्बन्ध, पेशा वा व्यवसाय, नोकरी, शिक्षादीक्षा, घरपरिवार आदि सबै पक्षमा वर्षको उत्तरार्द्धमा शुभफल प्राप्त हुने सङ्केत छ । राशिपति अष्टम भावमा रहेकाले वर्षको सुरुमा श्री हनुमान चालिसाको १०० आवृत्ति पाठ गरे वा गराएमा समग्र वर्षलाई उत्तम फलदायी बनाउन सकिने छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशिको लागि नयाँ वर्षले मिश्रित परिणामहरू प्रदान गर्ने योजना बनाएको छ, तीमध्ये कुनै लाभकारी हुन्छन् भने कुनै हानिप्रद । पारिवारिक दायित्व र जिम्मेबारी पूर्ण गर्ने सिलसिलामा केही कठिनाइ आइलाग्न सक्छन्, तर अत्तालिई हाल्नुपर्ने परिस्थिति छैन, प्रयास गर्दा परिस्थितिलाई सम्हाल्न सकिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्द व्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, यद्यपि गरिआएको कारोबारबाट लाभ नै हुनेछ । तर अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट आफ्ना पक्षमा रहने छैन । घरायसी सम्बन्ध विस्तारका लागि समय निकाल्नु राम्रो हुन्छ, प्रेम र स्नेहको वातावरण बनाउनुपर्दछ । यो वर्ष प्रेम र भावनाको कदर गर्नुपर्ने वर्ष हो । पति वा पत्नीका साथमा धेरै समय खर्चनु राम्रो हुन्छ, नत्र आपसी समन्वयको अभावमा अनपेक्षित दुर्घटना हुने सङ्केत छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा गरेका काममा अवरोध आउने सम्भावना छ भने फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा शनिको अढैयाको प्रकोप र अगस्ट महिनापछि बृहस्पति छैठौं हुने भएकाले पनि विवाद, झैझगडा र मुद्दामामिला जस्ता केही नकारात्मकता देखा पर्न सक्छ । समग्रमा वृष राशिका जातकले समुज्वल भविष्यका निमित्त वर्षको पूर्वार्द्धमा खट्नु नै परिणामदायक देखिन्छ । वर्षको उत्तरार्द्धमा रुद्रीपूजाका साथमा लैनो गाई दान गरेमा समग्र वर्षलाई उत्तम बनाउन सकिने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशिका जातकका लागि नयाँ वर्ष २०१७ पूर्णरूपले आफ्नो पक्षमा रहने छ । सँगीसाथी, सहयोगी र पतिरपत्नीको सहयोग र प्रेरणाले व्यापार–व्यवसाय र दैनन्दिनीको क्षेत्रमा सघाउ पुुग्नेछ । यस प्रेरणाले कुनै कठिन र अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन वा ती परिस्थितिको सामना गर्न मद्दत पुग्नेछ । दाम्पत्य जीवन, रतिराग, प्रेम–प्रणयसम्बन्ध आदिमा भरपूर आनन्द प्राप्त हुनेछ । जसले नयाँ व्यवसाय वा नोकरी थालेको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । दोस्रो भावमा जाने राहुले अगस्टपछि धनधान्यमा अपचलन हुने र झैझगडा र विवाद निम्त्याउने भएकाले सचेत हुनुपर्छ । आमरूपमा शनिको शुभ परिणाम नै हुनेछ, तर अप्रिल ५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले दुर्घटना र चोटपटकको सम्भाव्यता तथा फरवरीदेखि अप्रिलसम्म र नवम्बर दिसम्बरमा सातौं भावको शनिश्चरले दाम्पत्यकलहको सम्भावना औंल्याउँदै छ, सचेत रहनु होला । समग्रमा नयाँ वर्ष २०१७ तपाईंका लागि खुसी, उमङ्ग र हर्ष लिएर आएको छ, तर मात्तिनु र पात्तिनु हुन्न, नत्र यो वर्ष सङ्कटको वर्ष पनि बन्नसक्छ । वर्षको सुरुमैं दुर्गा भवानीको उपासनामा जोड दिएमा यो वर्ष अत्यन्त सकारात्मक वर्ष हुनेछ । कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट भनिन्छ जीवनको अर्को नाम संघर्ष हो, कर्कट राशिका जातकका लागि यो वर्ष यिनै पङ्क्तिले बताएका कुरा लागु हुनेछन् । वर्षको केही समय कठिनाइको सामना गर्नुपर्छ भने अर्कोतर्फ कुनै पल यति महत्त्वपूर्ण बन्नेछन्, जुन सधैं–सधैं स्मरणयोग्य हुनेछन् । सम्बन्धमा सुमधुरता कायम हुनेछ, तर समग्र पारिवारिक स्थिति भने सन्तोषजनक रहँदैन । त्यसैले यसवर्ष जीवनसाथीलगायत घरपरिवारका अन्य सदस्यहरूसित यथाशक्य तालमेल बनाउनु आवश्यक छ । स्वास्थ्यमा केही उतारचढाव देखा पर्नेछ, नियमित व्यायाम र सन्तुलित आहारप्रति सजग हुनुपर्छ । कुनै किसिमको ऋण लिनु वा दिनु राम्रो हुँदैन । आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्द–व्यापारमा लागेकाहरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ, त्यसैले उसका भावना बुझ्ने प्रयास गर्नु राम्रो हुन्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा मनमा भ्रम, चिन्ता र त्रासले निवास गर्नसक्छ । रिस, आवेग र तनावले दुर्घटना निम्त्याउने सम्भावना पनि छ, सचेत रहनु पर्छ । अतः यस अवधिमा रुद्रीपूजाका साथमा महामृत्युञ्जय मन्त्रको नियमित जापबाट शान्ति प्राप्त हुन्छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष तपाईंका निमित्त राम्रो र असल वर्ष साबित हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह भनिन्छ प्रयास गर्नेले कहिल्यै हार मान्नु पर्दैन । सिंह राशिका जातकका लागि सन् २०१७ थोरै कठिनाइ र झन्झट लिएर उपस्थित भएको देखिए पनि लगनशीलता, मिहिनेत र परिश्रमका बलमा तिनले जीवनका विविध आयाममा सफलता प्राप्त गर्न सक्नेछन् । दाम्पत्य सम्बन्धमा सुधार हुनेछ र निजी जीवनको भरपूर आनन्द प्राप्त हुनेछ । अलिबढी अन्तर्मुखी र व्यक्तिवादी हुने भय भएकाले घरपरिवारका सबै सदस्यसित मेलमिलाप र सामञ्जस्य स्थापना गरी व्यवहार गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्द व्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेशा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने कुनै विशेष व्यक्तिप्रति प्रेम जागृत हुनसक्छ तथा विवाहित हुनुहुन्छ भने दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । दाजुभाइ र माइतीपक्षबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । वर्षको सुरुमा रहेको शनिश्चरको अढैयाले मातापिता र अभिभावकवर्गको स्वास्थ्यप्रति सचेत रहने सङ्केत गर्दछ । वर्षको प्रारम्भमा दुर्गा सप्तशतीको पाठ र सूर्योपासना गरी समग्र वर्षमा सुझबुझ र मिहिनेतको बलले आफ्नो पक्षमा ल्याउन सकिने वर्षको सुरुवात भएको छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या नयाँ वर्ष २०१७ केही विशेष उपहारहरूका साथमा कन्या राशिका जातकहरूलाई स्वागत गर्दैछ । जीवनका विविध आयाम र भिन्नभिन्न क्षेत्रबाट खुसी र प्रसन्नताका लक्षणहरू प्राप्त हुनेछन् । पारिवारिक सम्बन्ध र मित्रताको भरपूर आनन्द प्राप्त हुनेछ । निजी जीवनमा खुसीको वर्षा हुनेछ र जीवनसाथीले भरपूर सहयोग प्रदान गर्नेछन् । सामान्यतया स्वास्थ्यस्थिति सकारात्मक नै रहने छ, तर चिल्लो चापिल्लो, मिठाइ र माछामासु जस्ता गरिष्ठ आहार र मदिरापानबाट जोगिनु राम्रो हुन्छ । नत्र रोगव्याधिले सताउन सक्छ । सुरुमा खर्च भावमा राहु र झैझगडाका घरमा केतु बसेको हुँदा आकस्मिक खर्चको मात्रा बढ्न सक्छ, त्यस्तै कहिलेकाँही आफ्नै मुखका कारण बन्न लागेको काम बिग्रिने सम्भावना पनि छ । आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर वृद्धि भइ रहने छ । पेशा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ। प्रेमसम्बन्धका साथै दाम्पत्य सुखको भरपूर आनन्द प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा अविवाहितको विवाह, बेरोजारको रोजगारी, बेकामेले काम पाउने ग्यारेन्टी दिन सकिन्छ, तर फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा शनिको अढैयाको प्रकोप हुने भएकाले बढी आशावादी हुनु राम्रो हुँदैन । शनिको अढैया र बक्रता रहेको अवसरमा शनिमृत्युञ्जय स्तोत्रको नियमित पाठ गर्नाले समग्रमा वर्षका नकारात्मक पक्षमा नियन्त्रण गर्न सकिने छ । तुला ः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला नयाँ वर्षले मिश्रित प्रभाव पार्ने सङ्केत छ । वर्षको सुरुमा केही नकारात्मक र तनावग्रस्त परिस्थितिको सिर्जना हुनसक्छ, तर उत्तरार्द्धमा भने प्रतिष्ठा अभिवृद्धि गर्ने समय छ । सुरुमा प्रेमी वा जीवनसाथीसितको सम्बन्धमा तथा अन्य परिवारजनसित तिक्तता आउन सक्ने र विवादसमेत हुनसक्ने परिस्थिति छ । क्रोध र अहङ्कारलाई त्यागेको बेस हुनेछ । यस अवधिमा आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्छ । अगस्टसम्म पाँचौं भावमा रहने केतुले किसिम–किसिमका मानसिक समस्या उत्पन्न हुनसक्छ । वर्षको सुरुमा र मईदेखि नोभेम्बरसम्म अन्तिम साढेसातीको समय भएकाले सफलता प्राप्तिमा ढिलाइ हुनसक्छ, तर दूरदराज वा वैदेशिक प्रयोजनका रोजगारी वा बन्द–व्यापारबाट लाभ मिल्नेछ । बृहस्पति सुरुमा बाह्रौं घरमा रहेकाले आर्थिक सङ्कटको सङ्केत गर्दैछ, तर जनवरी र फेब्रबरीमा तथा अगस्टपछि वर्षान्तसम्म आफ्नै राशिमा बृहस्पति आउनाले हाँकेका, ताकेका र इच्छाएका परिणाम प्राप्त हुनेछन्, त्यसैले वर्षको उत्तरार्द्धमा बेरोजगारले रोजगारी, अविवाहितले दाम्पत्यसुख, वृद्धवृद्धाले तीर्थाटनको लाभ र बेकामेले काम पाउने सङ्केत छ । बन्द–व्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता मिल्नेछ । समग्रमा तुला राशिका जातकले सुरुमा कुलदेवता र पितृदेवताको पूजाआजामा जोड दिएमा वर्षको सुरुमा देखापर्ने अनिष्टको निवारण गर्न सकिनेछ । त्यसै पनि वर्षको सुरुवात आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ । वृश्चिक ः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक नयाँ वर्ष सन् २०१७ महत्त्वाकांक्षा पूर्ण गर्ने अवसरका रूपमा आएको छ । स्वतन्त्र व्यवसाय गर्ने एवं सानो परिवारमा बस्ने वृश्चिक राशिका जातकले यो वर्ष राम्रै उपलब्धी हासिल गर्नु हुनेछ । तर ठूलो साझेदारीमा कारोबार गर्न र संयुक्त परिवारका दायित्व निर्वाह गर्न भने यो वर्ष कष्टकर समय हुने सङ्केत छ । त्यसैले ठूलो साझेदारीमा काम गर्दै हुनुहुन्छ वा संयुक्त परिवारमा बस्नुहुन्छ भने यो वर्ष निकै सावधान हुनुपर्छ । सन्ततिपक्षका समस्यामा केही समय खट्नुपर्ने छ । नोकरी र बन्द–व्यापारमा लागेकाहरूले वर्षको प्रारम्भमा गरेको प्रयासबाट राम्रो लाभ लिन सक्नुहुन्छ । अगस्टपछि बृहस्पति बाह्रौंमा जाने भएकाले परिस्थिति प्रतिकूल बन्नसक्छ । शनिको साढेसातीको मध्य र अन्तिम चरणमा रहनु भएकाले मुखलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, झैझगडा र मुद्दामामिलामा सरिक हुने स्थिति आउन सक्छ । आफ्नै राशिमा अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा प्राकृतिक प्रकोप, चोटपटक र हतियारको भय हुनेछ । पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, तर आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ । वृश्चिक राशिका जातकले शनि बक्री रहेको अवधिमा मङ्गल ग्रहको उपासनामा जोड दिंदा र वर्षभरि शनिको उपासना गर्नु बुद्धिमानी हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशि हुने जातकका लागि व्यापक रूपमा नयाँ वर्ष २०१७ अनुकूल हुने सङ्केत छ, तर धैर्यता, संयमता र अनुशासनको पालना गर्नु अनिवार्य छ । जीवनसाथीसित कहिलेकाँही वादविवाद र झैझगडाको परिस्थिति आउने छ, त्यसैले सामञ्जस्य स्थापनाका लागि परिस्थिति विपक्षमा रहेको अनुभूति हुनासाथ धैर्य र हिम्मतका साथमा अघि बढ्नु राम्रो हुनेछ । त्यसो त घरपरिवारमा अभिभावक वर्ग एवं मातापिताको सहयोग प्राप्त हुनेछ । बरु सन्ततिपक्षमा केही समस्या देखिनसक्छन्, पठनपाठन र सुस्वास्थ्यका लागि धनलगानी गर्नुपर्छ । अल्छीपन र आलस्यले डेरा जमाउन सक्छ, बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर यस वर्षदेखि निरन्तर अढाइ वर्ष तपाईंको राशिमा उपस्थित रहने छ, त्यसैले बढी महत्त्वाकाङ्क्षा देखाउनु राम्रो हुँदैन । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नति प्रगतिमा बाधा पुग्नसक्छ । घरायसी जीवन र प्रेम तथा प्रणय प्रसङ्गमा धैर्यता र संयमताको खाँचो छ, फकाउने फुल्याउने काममा धेरै अल्मलिनु पर्ने सङ्केत छ । जोखिमयुक्त र गैरकानुनी कामभन्दा टाढा बसेको नै जाति हुन्छ, नत्र ठूलो षड्यन्त्रमा समेत फँस्न सक्नुहुन्छ । समग्र वर्षलाई राम्रो बनाउन वर्षको सुरुमैं बृद्धबृद्धा वा अनाथलाई मिष्ठान्न भोजन गराएमा सकारात्मकता प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशिका जातकका लागि नववर्ष २०१७ को सम्पूर्ण समय मिश्रित परिणाम प्राप्त हुने समय हो । राशिपति शनिश्चरले वर्षको अधिकतम समय राज्यस्थानमा र केही समय बाह्रौं भावमा विचरण गर्नेछ । फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा बाह्रौं शनिश्चर हुने भएकाले स्वास्थ्यसम्बद्ध केही समस्या देखिन सक्छन्, साथै बन्दव्यापार र कारोबारमा आर्थिक कठिनाइ हुनसक्छ, तर अत्तालिनु पर्दैन । करकुटुम्ब र साथीसँगीसित विवाद र मनमुटावको सङ्केत छ, सचेत रहनु होला । घरवरिपरिको पर्यावरण र खाद्यान्नको सरसफाइ एवं ताजगीप्रति सचेत हुनु राम्रो हुन्छ, यो वर्ष पाचनप्रणाली र सङ्क्रमणका कारण रोगग्रस्त हुने सम्भावना छ । नवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । भाग्यभाव र कर्मक्षेत्रमा बृहस्पति रहने भएकाले कार्यरत कर्मचारीको पदोन्नति र तलब सुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा आर्थिक, मानसिक र व्यवहारिक समस्यामा समय बित्नसक्छ । समग्रमा मकर राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन् । यसै वर्षबाट शनिको साढेसाती प्रारम्भ हुने भएकाले आफ्नो कुण्डलीको शनिको प्रभावका आधारमा ज्योतिषीसित परामर्श लिई उपचार गर्नु राम्रो हुन्छ, साथै शनि बाह्रौं भावमा रहँदा र बक्रताको समयमा महामृत्युञ्जय मन्त्रको नियमित जाप र हवनादि गराउनु पनि शुभ हुन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ सन् २०१७ मा कुम्भ राशिका जातकले व्यक्तिगत स्वास्थ्यस्थिति र पारिवारिक जीवनका केही समस्याबाहेक समग्रमा राम्रै परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । जीवनसाथी र परिवारजनमा असन्तुष्टि र खटपट यथावत रहने छ । समस्या समाधानका लागि अत्यन्त सावधान हुनुपर्छ, किनभने व्यक्तिगत समस्यालाई बल्झाउन घरपरिवारकै र नजिकैका मानिसहरू सक्रिय देखिएका हुन्छन् । बोलीवचनमा संयमता अपनाउनु होला । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा पारिवारिक र व्यवहारिक समस्यामा समय बित्नसक्छ, कामको चाप र तनाव बढ्ने छ, तर चिन्तित हुनु र असंयमित हुनु लाभप्रद हुँदैन, उल्टै मानसिक सन्तुलन गुम्ने डर हुन्छ, टाउको दुख्ने समस्या बल्झिन सक्छ । उता पाचनप्रणालीमा पनि राम्रो सङ्केत छैन । वर्षको सुरुमा आठौं बृहस्पति रहेकाले पितामाताको स्वास्थ्यप्रति सचेत हुनुपर्छ । तर आफूमुनिका नातेदार र छोराछोरीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । यसबाहेक बन्दव्यापार र नोकरी गर्नेका लागि यो वर्ष केही राम्रा परिणाम प्राप्त हुनेछन् । कार्यक्षेत्रमा प्रशंसा पाइने छ । फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्वर दिसम्बरमा शनिले राज्यस्थानमा उपस्थिति जनाउनाले व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि शुभफल पाइने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ । तपाईंले वर्षको प्रारम्भमा नै रुद्रीपूजाका साथमा कुलदेवता, मगन्ते र भिखारीलाई प्रसन्न तुल्याउनु जाति हुन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  मीन राशिका जातकका लागि नयाँ वर्ष २०१७ को सुरुको सात महिना अत्यन्त शुभ सङ्केत लिएर उपस्थित भएको छ । जीवनका विविध आयाममा महत्त्वपूर्ण उपलब्धी र सुखसम्मृद्धि प्राप्त हुनेछ । जनवरी र फरबरीमा आठौं घरमा राशिपति बृहस्पतिको प्रवेश हुने भएकाले केही कठिनाइ र झन्झट आइलाग्न सक्छन्, तर समग्रमा समय असल नै रहने छ । गृहस्थी जीवनमा नयाँ वर्षमा सामान्य संवेदनशीलता अपनाए हुन्छ । वर्षको पूर्वार्द्धको अधिकांश समय बृहस्पति सातौं भावमा हुने भएकाले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सुमधुरता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रका कामबाट लाभ मिल्ने सम्भावना छ । स्वास्थ्य सबल नै छ, तर यौन, गुप्ताङ्ग वा पाचनशक्तिका समस्याले दुःख दिने सम्भावना भने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ । समग्रमा नयाँ वर्षले तपाईंको परिश्रमको सम्पूर्ण शुभ परिणाम प्रदान गर्ने सङ्केत छ, तर अगस्टपछिको समयले तपाईंलाई सचेत हुन र संयमता अपनाउन आग्रह गर्दैछ । अगस्टपछि खानपानमा नियन्त्रण गर्नुका साथै कुलदेवता र इष्टदेवताको आराधनामा जोड दिंदै बृद्धाश्रम, अनाथाश्रम वा मन्दिरमा भएका दीनहीन समुदायका व्यक्तिको सेवासुश्रुषामा लाग्नु राम्रो हुन्छ । साभारः सार्वजनिक न्यूजबाट

तीन लाख भक्तजनले त्रिवेणी धाममा दर्शन गरे

उदयपुर, माघ ८ । उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै तीन लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् । माघ १ गतेदेखि ७ गतेसम्ममा पूर्वको तराई पहाड र भारतको विहारलगायत राजधानी काठमाडौंदेखि भक्तजन आएर दर्शन गर्दै रहेको र दर्शन गर्नेको संख्या झन्डै तीन लाख पुगेको प्रहरी चौकी बेल स्रोतका प्रहरी निरीक्षक विक्रम लामाले बताए । अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको समेत स्थानीय केदार धमलाले बताएको छ । यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउए । उक्त पुराणमा सङ्कलन भएका रकम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताएको छ । भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा–टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् ।

विद्युत् चुहावट गर्ने सात सय विद्युुत् प्राधिकरणको कारबाही

राजविराज, माघ ८ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताए । केन्द्रका प्रमुख साहका अनुसार आव २०७३÷०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताए । तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए । यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत् चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत् चुहावटको कारबाहीबाट रु ४६ लाख १६ हजार ६०० राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ । यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत् चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताए। रासस

मोर्चाको मागप्रति सरकार गम्भीर नभएको नेता ठाकुरको आरोप

उर्लाबारी (मोरङ), माघ ८ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मधेस आन्दोलनका क्रममा मृत्युु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुुपर्ने बताए । अध्यक्ष ठाकुुरले आफूुहरुको मागप्रति मुुख्य दल गम्भीर नभए मधेसी मोर्चा सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए । कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य शङ्खर साह, सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुुमार यादव, मधेसी मोर्चाका स्थानीय नेता सिसुुपाल यादव, पन्नालाल मण्डल तथा दिलीप मण्डलले मधेसी मोर्चाको मागप्रति सरकारलाई गम्भीर हुुन आग्रह गरेका थिए । एक वर्षअघि मधेस आन्दोलनका क्रममा रङ्गेलीमा एक महिलासहित तीनजना मोर्चाका कार्यकर्ताको मृत्युु भएको थियो । रासस

पुनःनिर्माण कार्यलाई तीव्रता दिन मन्त्री पाण्डेको निर्देशन

गोरखा, माघ ७। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पुनःनिर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । पुनःनिर्माण कामलाई सघाउन गठन भएको जिल्ला समन्वय समितिको आज गोरखा सदरमुकाममा बसेको बैठकमा उहाँले गोरखाका ५८ हजार लाभग्राहीमध्ये करिब ५४ हजारले पहिलो किस्ताको रकम बुझेपनि उनीहरु सबैले अहिलेसम्म घर नबनाएकोमा चिन्ता व्यक्त गर्दै समितिका सदस्य तथा स्थानीय प्रशासनलाई पुनःनिर्माण कार्यलाई गति दिने गरी काम अगाडी बढाउन निर्देशन दिएका हुन् । बैठकमा अहिलेसम्म पुनःनिर्माणका क्षेत्रमा भएका कामको समीक्षा गर्नुका साथै हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा अनुदान रकम कसरी र कहिले वितरण गर्न सकिन्छ तथा घरको डिपिसी सकेका लाभग्राहीलाई कसरी छिटो भन्दा छिटो दोस्रो किस्ताको रकम उपलब्ध गराउनेबारे निर्णय भएको गोरखाका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए । गोरखामा ५४ हजारले निजी आवास बनाउन रकम बुझेको भएपनि करिब तीन हजारको हाराहारीमा मात्रै घर बनाइरहेको बताइएको छ । रासस

मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण हुन्छ–मन्त्री सिंह

काठमाडौँ,  माघ ८ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सिंहले देशमा अझै पनि १५ प्रतिशत नागरिक खानेपानी सेवाबाट वञ्चित रहेको बताउँदै भेरी, गोरखा, हलेसीलगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ परियोजना कार्यान्वयनमा ल्याउने बताए । तराईका २० जिल्लामा समेत तराई खानेपानी सुधार आयोजना सुरु गरिएको जानकारी दिँदै उहाँले १०६ आयोजना कार्यान्वयनमा आउने चरणमा रहेको जानकारी दिए । ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन हुने त्यस्तै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले मुलुकमा महिला हिंसा अन्त्य गर्नका लागि चाँडो प्रभावकारी योजना ल्याउने बताए । उनले ज्येष्ठ नागरिक तथा सडक बालबालिकाको हितमा समेत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक टोलमा ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन गर्ने बताए । मन्त्री खड्काले देशमा विद्यमान समस्या समाधानका लागि सबै दलबीचको सहमति र एकताबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । रासस

संचालकसहित खालबाटै बीस जुवाडे पक्राउ

भक्तपुर, माघ ७। भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट जुवा खेलिरहेका २० जना जुवाडेलाई प्रहरीले खालबाटै पक्राउ गरेको छ । जुवा खेलाउने रिसोर्टका संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको र अन्यमाथि भने अनुसन्धान सुरु गरिएकाे बताइएकाे छ ।

को हुन् बाबुरामको राजनीतिक सल्लाहकार बनेका डा. भाइराजा पाण्डे ?

काठमाडौं, माघ ७ । अन्तर्राष्ट्रिय कानून, द्वन्द्व व्यवस्थापन र राजनीतिमा लामो अनुभव बोकेका डा. भाइराजा पाण्डे डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाकारमा नियुक्त भएका छन् । यसअघि विश्वका कतिपय द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको प्रतिनिधिका रुपमा कार्यकाल बिताएका भाइराजा धादिङ निवासी हुन । “बिदेशी आइडी लिएको नेपालीले देशको चिन्ता गर्नु जायज भए पनि कठोर टिप्पणी गर्ने अधिकार छैन” भन्ने मत राख्ने डा. पाण्डेलाई नयाँ शक्ति नेपालको बिहिबार बसेको बैठकले पार्टी संयोजक भट्टराईको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जानकारी दिए । कुनै समय डा.बाबुराम भट्टराईसँगै अस्कल पढेका पाण्डे काठमाडौंको रैथाने नेवार भाषाका राम्रो जानकार रहेको पौडेलले बताए । द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा विशेषज्ञता हासिल गरेका पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा अध्यापन गरेका थिए । अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट ‘एलएलएम’ गरेलगत्तै उनी सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा जागिरे भए । सुडान, सोमालिया, रुवान्डा, कम्बोडियो, रुसलगायत संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम ‘एसाइन्मेन्ट’ उनले बर्मामा पुरा गरे । युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा ‘हट स्पट’ मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए । पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिओपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने कामको पनि अनुभव सँगालेका छन्

राजविराजमा शङ्कास्पद ग्रिनेड बम फेला

राजविराज, माघ ७ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। रासस

कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा

ललितपुर,माघ ७  । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ ।’ कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर चार स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडक जस्तै पुल पनि आठलेनको बनाउन लागिएको हो । मुख्य लेन चार र साइड लेन दुई÷दुई गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ । पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर आठ लेन गुड्ने बनाउन लागिएको दृष्टि बताउँछन् । उनले भने, ‘आठलेन गुड्ने भएपछि पुलमा पनि सडकमा जस्तै जाम हुने छैन ।’ चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत तीनसय १२ मिलियन युयान रहेको छ । १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको दुई वर्षभित्रमा सम्पन्न हुनेछ । रासस फाइल तस्वीर

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन गर्नुपर्छः देउवा

चितवन, माघ ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताएका छन् । काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए । स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै उनले भने“दुई/तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ ।” मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै उनले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री देउवाले भने, “झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसबाट नै देशमा स्थायी शान्ति हुन्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश प्रवाह भइरहेको बताउँदै जायज विषय तर्कसँगत ढङ्गले राख्न सकेमा विदेशीलाई विश्वस्त पार्न सकिन्छ भने । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्काे साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नका लागि आवश्यक पर्ने विधेयक संसदमा पेस गर्ने काम द्रुतगतिमा भइरहेको बताए । काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र गोविन्द भट्टराईले काँग्रेसमाथि छरिएका भ्रम चिर्दै असल राष्ट्रवादी काँग्रेस हो भन्ने कुरा जनमानसमा पुर्याउनुपर्ने बताए । सोही अवसरमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले तराई र दशगजामा रहेका नेपालीले स्वामित्व खोज्नुलाई अनर्थ लिन नहुने बताए भने प्रदीप पौडेलले संविधान संशोधन नेपाली कांग्रेसको पनि सम्झौता भएको बताए । सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेविसङ्घका अध्यक्ष उमा रेग्मी, जितजङ्ग बस्नेत, नैनसिंह महरलगायतले अब आउने निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर संविधान कार्यान्वयन सहज बनाउन अनुरोध गरे । तीनदिने प्रशिक्षणमा काँग्रेसका क्षेत्रीय समिति, नगर समिति, वडा समितिलगायतका पदाधिकारी तथा सदस्य गरी तीन सय जनाको सहभागिता रहने काँग्रेस क्षेत्र नं ५ का सभापति लालबहादुर दवाडीले बताउनुभयो । सहभागीलाई पुरुषोत्तम दाहाल, देवराज चालिसेलगायतले प्रशिक्षण दिनेछन् । रासस

संशोधन प्रस्ताव पास नभए पनि चुनाव हुने पूर्वगृहमन्त्री बस्नेतको दावी

जुम्ला, माघ ७ । नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन्। नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नतेले चुनाव घोषणाको समय नजिकिँदै गएकाले जिल्लास्थित नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए । मुलुकमा व्यवस्था बदलिए पनि मानव सोच र अवस्था सोचेअनुरुप नबद्लिएको भन्दै उनले माओवादी पार्टी युगको प्रमुख प्रतिनिधि बन्ने प्रयासका साथ अघि बढिरहेको बताए । कार्यक्रममा ६ नं प्रदेश कर्णालीका संयोजक मायाप्रसाद शर्माले मुलुकमा भौतिक विकासका साथै चेतनाको विकास अपरिहार्य रहेको औँल्याउँदै हरेक हार आफैँबाट जन्मने भन्दै जित पनि आफैबाट सुनिश्चित हुनुपर्ने संयोजक शर्माको भनाइ थियो । केन्द्रीय सदस्य नवराज न्यौपानेले जित सुनिश्चितताका लागि पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण हुन अपरिहार्य रहेको बताए । रासस