सबै राजनीतिक दल एकजुट हुन आवश्यकः अध्यक्ष थापा

हेटौँडा,माघ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक विवादमा धेरै समय बर्बाद भएकाले अब सबै राजनीतिक दलले एक जुट भई आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । ।

मकवानपुरको आमभञ्जाङ–३ सामरी खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उनले नेपालले जलस्रोतको भरपुर उपयोग गर्न सके देशले पूर्वाधारको क्षेत्रमा विकासको फड्र्को मार्न सक्ने बताए । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन गर्न स्थानीय निकाय, प्रदेश, संसद्को चुनाव गर्नु पर्नेमा उनको जोड थियो ।

आमभञ्जाङ गाविस र मकवानपुर गढी गाविस जोड्ने पक्की पुल निर्माण यही माघदेखि सुरु हुँदैछ । केन्द्रीय योजनाको ११२ मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी जिविस मकवानपुरअन्र्तगत निर्माण सुरु भएको हो ।

उक्त पुलको निर्माणपछि मकवानपुर गढी गाविसका जनतालाई आमभञ्जाङ गाविसमा अध्ययन तथा दूध र तरकारी हेटौँडासम्म पु¥याउन सुविधा पुग्नेछ । उक्त पुलको लागत रु पाँच करोड ३८ लाख रहेको छ ।

यसैगरी राप्रपा हेटौँडा उपहानगरपालिका–६ को वडा भेलामा अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश, संसद्को चनाव गराउन माग गरे । रासस

समृद्धिका लागि सहकारीको प्रवद्र्धन आवश्यक – मन्त्री थानी

काठमाडौँ,  माघ ११ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन बिना मुलुकको विकास असम्भव रहेको बताएका छन् । सहकारी विभागले सोमबार आयोजना गरेको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले भने – “संविधानले नै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको अवस्थामा सहकारीको सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको छ ।” मन्त्री थानीले सहकारीको मूल्यमान्यता र सिद्धान्तमा आधारित नयाँ सहकारी ऐन छिट्टै ल्याइने बताउँदै भन्छन, “सह  खदलकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन सहकारी ऐन ल्याउँदैछ, यसले धेरै समस्या हल गर्नेछ ।” सहकारी तथा गरिबी निवारण सचिव मोहनकृष्ण सापकोटाले सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकताको खाँचो रहेको बताउँदै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको पुँजीलाई सहकारीका माध्यमबाट उत्पादनशील क्षेत्रमा लगाउनु आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले बुझ्न नसक्दा उत्पादन प्रणालीमा जान कठिनाइ भएको बताए । केन्द्रीय स्वास्थ्य सहकारी सङ्घका अध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा र विभागका रजिष्टार केशवप्रसाद रेग्मीले सहकारी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न जरुरी रहेको बताउँदै दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । रासस

८० जना न्यायधीस नियुक्ति समावेशी छ, महान्यायाधिवक्ताले वकिल उचाले !

काठमाडौँ, माघ १० । कानुनमन्त्री अजयशंकर नायकले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले दबाबमा परेर सरकारी वकिलहरुलाई आन्दोलन गर्न लगाएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री नायकले भने, ‘सरकारी वकिलहरुले अहिले गरिरहेको क्रियाकलाप शोभनीय छैनन्, यसले राम्रो सन्देश जाँदैन् ।’ उच्च अदालतमा गरिएको ८० न्यायाधीश नियुक्ति सकेसम्म समावेशी बनाउने प्रयास भएको उनको दाबी छ । उनले अघि थपे, ‘८० जना न्यायाधीश नियुक्तीमा हामीले समावेशी नै बनाएका छौं, अहिलेको संरचना अनुसार जिल्ला न्यायाधीशबाट हामीले ३४ जनालाई लिएका छौं, अब त्यसमा कहाँ समावेशी पाउन सकिन्छ त ?’ नेपाल बार एशोसियसनले ५० प्रतिशत मागेको ४० प्रतिशतसम्म पुर्‍याएको समेत स्पष्ट पारे । उनले भने, ‘हुन त, परम्परा नै ब्रेक गर्नुपर्छ भन्ने कुरा आएका थिए, तर अनुभवीलाई पनि लिनुपर्ने भएकाले हामीले यस्तो गरेका हौं ।’ सरकारी वकिलहरुबाट ४ जनालाई न्यायाधीश बनाइएको भन्दै मन्त्री नायकले सरकारी वकिलहरुलाई काममा फर्कन सुझाव दिए । सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले उच्च अदालतमा गरिएको ८० न्यायाधीशको नियुक्ति समानुपातिक नभएकाले आफूहरु अवेज्ञामा उत्रिएको बताए । उनले भने, ‘सरकारी वकिलहरुलाई मात्रै किन उपेक्षा गरिएको हो ? प्रश्न यहाँनिर आएको छ, हाम्रा साथीहरु ९ जना योग्य हुनुहुन्थ्यो, तर एक जनामात्रै नियुक्ति गर्नुको मुख्य आधार र कारण के हो ?, यो बुभ्न सकिएन ।’ नेपाल बार एशोसियसनका उपाध्यक्ष मोतिराज गौतमले सरकारी वकिलहरुको आन्दोलनमा बारको समर्थन रहेको बताए । उनले भने, ‘स्वतन्त्र न्यायापालिका को पक्षमा बार छ, उहाँहरुको यो मागमा हाम्रो समर्थन छ ।’ कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिका अध्यक्ष गजराज घिमिरेले न्यायाधीश नियुक्तिले १३ सय १० जना कर्मचारीहरुको मानमर्दन गरिएको बताए । उनले भने, ‘हाम्रा माग सुनुवाइ नभएसम्म इजलास र्फकन्नौं, यो निरन्तर जारी रहन्छ।’ महान्यायाधिवक्ता कार्यालयमा रहेका विभिन्न चारवटा ट्रेड युनियनको आहृवानमा सुरु भएको इजलास बहिष्कार अभियानलाई नेपाल सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) श्रेष्ठले समेत पूर्ण समर्थन रहेको उनले बताए ।

कपास गोदाममा आगलागी

चितवन, माघ १० । चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी भएको छ । भरतपुर–१० स्थित शङ्कर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी हुँदा रु छ लाखभन्दा बढीको क्षति भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । दिउँसो २ः३० बजे लागेको आगो करिब १०–१५ मिनेटकै अन्तरालमा नियन्त्रण गर्न सकिएकाले क्षति कम भएको चितवन प्रहरीले जनाएको छ । समयमै प्रहरीमा खबर आइपुगेकाले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । दाममा विद्युत् चुहावट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनसम्बन्धी दुई विधेयक पारित

काठमाडौं, माघ १० । राज्य व्यवस्था समितिले निर्वाचन आयोगसँगको परामर्शमा सरकारले नै चुनावको मिति तोक्ने व्यवस्थासहित निर्वाचनसम्बन्धी दुईवटा विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकारसम्बन्धी दुई वटा विधेयक पारित गरेको हो। यसअघि निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्ने अधिकार आफूहरुलाई दिनुपर्ने माग गर्दै आएको थियो। विधेयक समितिबाट पारित भएसँगै यसलाई संसदमा पेश गर्ने बाटो खुलेको छ। निर्वाचनसँग सम्बन्धित अन्य दुई विधेयक यसअघि नै संसदमा टेबल भइसकेका छन्। निर्वाचनका लागि कुल ५ वटा विधेयक संसदबाट पारित हुनुपर्छ।

बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

बैतडी,माघ १० । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए । उनले भने, “बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउनेलगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको होहाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए । उनले भने “बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गर्नेलगायतका रणनीति पनि तय गरिएको छ” बालविवाह गर्न कानुनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारीले जानकारी दिए । रासस

पाईप चोरी भएपछि ३६ लाखको सिँचाइ अवरुद्ध

जाजरकोट, माघ १०। सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो । दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाईप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए । पाइप चोरी भएसँगै यहाँका २०० भन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि मजकोट–६ का प्रधानाध्यापक रामबहादुर नेपालीले जानकारी दिए । गरिबी निवारण कोषको रु ३६ लाखमा निर्माण गरिएको यो सिँचाइ योजना २०७० सालमा निर्माण गरिएको थियो । पाइपमा पानी आएको बेला मजकोट–६ का सबै गाउँलेले जमिनमा सिँचाइ गरी गहुँबालीलगायत बेमौसमी तरकारी बाली लगाएका थिए । पाइप चोरी भएसँगै अहिले लगाएको अन्नबाली सिँचाइको अभावमा सुक्न थालेको प्रअ नेपालीले बताए । पाइप चोरी गर्ने मानिसको खोजीका लागी यहाँका स्थानीयले प्रहरीमा उजुरी गरे पनि प्रहरीले सुनुवाइ नगरेको उनको भनाइ छ । अहिले सिँचाइको सबै पानीबीच जङ्गलमा खेर गएको छ यता हाम्रा जग्गा बाँझै छन्, प्रहरीले साथ देला भनेको तर केही भएन नेपालीले दुखेसो पोखेका छन् । रासस

न्यायाधीश नियुक्तिप्रति थारु कानुन व्यवसायीको आपत्ति

काठमाडौँ, माघ १० । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि गरेको सिफारिसप्रति आदिवासी थारु कानुन व्यवसायी समाज नेपालले आपत्ति जनाएको छ । समाजका अध्यक्ष भागवतप्रसाद चौधरीले आज एक विज्ञप्तिमार्फत देशको चौथो जनसङ्ख्या रहेको थारु समुदायवाट न्यायाधीशमा एक जनामात्र सिफारिस हुनु नेपालको संविधानको मर्म विपरित भएको उल्लेख गरेका छन् । न्याय परिषद्बाट त्रुटिपूर्ण निर्णय भएको उल्लेख गर्दै विज्ञप्तिमा सिफारिस नियुक्तिलाई सच्याएर थारु समुदायका वकिलबाट संविधानबमोजिम कम्तीमा चारजनालाई नियुक्त गर्न माग गरिएको छ । रासस

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सुरुङ्गा (झापा), माघ १० । जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बूलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । रासस

परिमार्जनबिनाको संशोधन स्वीकार्य छैनः अध्यक्ष ठाकुर

इनरुवा, माघ १०। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार कुरा गर्दै अध्यक्ष ठाकुरले हचुवाको भरमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रिन बाध्य हुने उल्लेख गरे । सरकारले मधेसी जनता र मोर्चालाई समेटेर अघि बढ्न चाहन्छ भने आफूहरुका माग समेटेर परिमार्जनसहितको संविधान संशोधन पारित हुनुपर्ने उनको भनाइ थियो । चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेकोबारे जिज्ञासामा अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव नरहेको जिकिर गरे । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदमपश्चात् ठोस निर्णयमा पुग्ने उनले बताए । रासस

सरकारी वकिलद्वारा आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार

काठमाडौँ, माघ ९ । सरकारी वकिलले उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशको विरोधमा आज देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेका छन् । न्यायाधीश नियुक्तिमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारी वकिल र चार कर्मचारी सङ्गठनले आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेको निजामती कर्मचारीको आधिकारिक सङ्गठन महान्यायाधिवक्तो कार्यालयका अध्यक्ष गजराज घिमिरेले जानकारी दिए । सरकारी वकिलसहित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले न्यायाधीश नियुक्ति निर्णय सच्याउन माग गर्दै बहस पैरवी बहिष्कार गरेका हुन् । उनले न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई भेदभाव र पक्षपात गरेकाले निर्णय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने बताए । उनले न्याय परिषद्ले न्यायाधीश नियुक्तिमा गल्ती स्वीकार गर्नुपर्ने र अब यस्ता गल्ती नगर्ने प्रतिबद्धता आए मात्र आन्दोलन स्थगित गरिने बताए । सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले ७५ जिल्लामा रहेका अदालतमा सरकारी वकिलका तर्फबाट गरिने बहस पैरवी बहिष्कार गरिएको बताए । रासस

राँगाको आक्रमणबाट मृत्यु

सप्तरी, माघ ९ । कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहुँ खातमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

संवेदनशील विषयमा ध्यान पुर्याउन स्रष्टासँग आग्रह

काठमाडौँ, माघ ९ । मनोहरा साहित्य समाजको नियमित कार्यक्रम अन्तर्गत सोह्रौँ शृङ्खलामा दश कविले दुई दुई कविता वाचन गरेका छन्। राम विनय र विशिष्ट अतिथि प्राज्ञ बूँद राना तथा टिप्पणीकर्ताका रुपमा अतिथि हरि गौतम तथा कवि तथा गीतकार जसध्वज गुरुङले सभापतित्व गरेको थियो । कार्यक्रममा रामबहादुर पहाडी, जय छाङ्छा, नारायण तिवारी, छविरमण सिलवाल, गोविन्द नेपाल, अनिल पौडेल, श्यामबहादुर भावुक, भुवनराज सिवाकोटी, रत्ननिधि रेग्मी शुक्राचार्य र डिल्लीराज अर्यालले कविता वाचन गर्नु भएको थियो । वाचित कवितामाथि टिप्पणी गर्दै हरि गौतमले कविताका विशेषता, सरलता, त्यसले पार्ने प्रभाव बारेमा उल्लेख गरे । त्यस्तै बुँद रानाले भैरहवा लगायत तराईका फाँटहरुलाई अहिले अमनचैनको अवस्था नभएकाले संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टालाई आग्रह गरे। साहित्यकार राम विनयले मनोहरा साहित्य समाजको कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेको थियो । साहित्यकार जसध्वज गुरुङ, मुखाले रेग्मी र शीतल गिरीले स्रष्टाहरुको सदैव सहभागिताको अपेक्षा गरे ।

नेपालमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने, सुरू भयो चार महिने अभियान

काठमाडौँ, माघ ९ । काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने भएको छ । विश्वका बौद्धिक व्यक्तिहरूलाई काठमाडौँमा उपस्थित गराई सम्मेलन गर्न लागिएको हो । नेपाललाई बनाऔं अध्ययन, अनुसन्धान र अन्वेषणको थलो’ भन्ने नारासहित माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीबी संगठनले सम्मेलनको लागि चार महिने ‘राष्ट्रिय बौद्धिक अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको शनिबार सकिएको केन्द्रीय समिति बैठकले अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गर्ने निर्णय गरेको संगठनका अध्यक्ष नरेश भण्डारीले जानकारी दिए । चार महिनासम्म चल्ने अभियानले अन्तर्राष्ट्रिय स्तरको बिचार गोष्ठी(बौद्धिक सम्मेलन आयोजना गर्नका लागि आधारशिला खडा गर्ने,अन्तर्राष्ट्रिय बामपन्थी वुद्धिजिवी संगठनहरुसँग भाइचारा सम्बन्ध स्थापित हुने र विश्वभरका बौद्धिक व्यक्तिहरुसँगको विचार आदान–प्रदानले नेपालमा संभावनाको खोजीलाई सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए । संगठनको वैठकले माघ २२ गते ७५ वटै जिल्लामा बौद्धिक अभियान अभियानको उद्घाटन गर्ने निर्णय गरेको अध्यक्ष नरेश भण्डारीले बताए । ०७४ बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने, अन्वेषण प्रतिष्ठान स्थापनार्थ बिधेयक दर्ता गर्ने, अन्तर्रा्ष्ट्रिय स्तरको बौद्धिक सम्मेलन आयोजना गर्ने, माक्र्सवादको बिकासका लागि बहस थाल्ने र अनुसन्धानात्मक कार्यहरूमा जोड दिने लगायतका निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।

विद्यालयलाई सहयोग हस्तान्तरण

दमक, माघ ९ । झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु ५० हजार सहयोग प्रदान गरेको छ । होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो । होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी र असहाय विद्यार्थीको घर र विद्यालयमा पुगी स्थलगत अध्ययन गरेर छनोट गरिएका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सो सहयोग हस्तान्तरण गरिएको होस्टलका संस्थापक तथा निर्देशक अजितलाल दासले बताए । यसरी सहयोग प्राप्त गर्ने विद्यार्थीमा शिवसताक्षी भानु मावि कक्षा ११ मा अध्ययनरत गङ्गा घिमिरे, आदर्श मावि कोरोबारीमा कक्षा ८ मा अध्ययनरत लखिमुनी किस्कु, दमक–१३ स्थित पशुपति संस्कृत माविमा कक्षा ६ मा अध्ययनरत विर्सिखा केरुङ (लिम्बू) र दमक–१० स्थित मेची बोर्डिङ स्कुलमा अध्ययनरत रीमा राई रहेको छ । उच्च मावि तहमा अध्ययनरत भएकाले घिमिरेलाई भने रु १४ हजार र अन्य तीनजनालाई रु १२ हजारका दरले सहयोग प्रदान गरिएको हो । आगलागीबाट घर नष्ट झापाको दमक–१५ स्थित सुकुम्बासी टोलमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । सुमित्रा कार्कीको घरमा आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा तथा अन्नपात जलेको थियो । घरमा के कारणले आगो सल्किएको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । स्थानीयवासी र दमक नगरपालिकाको दमकलले आधा घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

यसकारण बन्छन् बालकहरु गाडीका खलासी !

जुम्ला, माघ ९ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो बालक यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने– काठमाडौ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओ‌ठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी, कालीकोट फोइ महादेव गाविसका १२ वर्षीय बालक किशोर बुढा । सानो उमेरमै खलासी काम गर्दै आएका किशोरले काठमाडौँका लागि बस नजिक पुगेका यात्रुको सामान बडो कठिन तरिकाले हुटमा राखेर पुनः यात्रु बोलाउन ठूलो स्वरले कराउन थाले । अपत्यारिलो काम गर्ने बालक किशोरको यस्तै देखिन्थ्यो दैनिकी । त्यस्तै, जुम्ला–नाग्म हुँदै सुर्खेतका लागि छुटेको बसमा यात्रु बोलाउँदै थिए, जुम्ला नराकोट गाविस घर भई खलासीको काम गर्दै आएका अर्का बालक राजबहादुर थापा । उनी पनि वर्षले १४ काटेका थिएनन् । तर पनि आफूलाई १३–१४ वर्ष भन्न रुचाएनन् उनले । पछिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयुक्त काम गर्दै आएका छन् । यो मजदुरी गर्नु उनीहरूका लागि रहर नभई बाध्यता बन्दै आएको छ । खलासी काम गर्ने यी दुवै बालकलाई गाडी लाइन सास्ती हुन्छ भन्ने राम्रोसँग थाहा छ । यात्रुको रुखो बचन, राम्ररी खान, आराम गर्न र सुत्न नपाउनु, गाडी मर्मतमा हुने कठिनाइले कहिलेकाहीँ उनीहरूलाई दिक्क बनाउँछ र यो लाइन नै छोडुँ जस्तो लाग्छ । तर फर्केर जानु नै कहाँ छ र उनीहरूलाई ? आमाबुबा नभएका उनीहरूका लागि गाडी गाँस, बास दुवै भएको छ । पढ्ने रहर मनभरि भए तापनि जीवन धान्नका लागि खाने गाँस, लगाउने कपाससमेत आफ}+ले जोहो गर्नुपर्ने बाध्यताले अब पढ्ने मोह पनि घटिसकेको छ, उनीहरूको । खलासी काम गर्ने दुवै बालक बुढा र थापाले भने– “दिनभर गाडीको ढोका ठोक्दै हाम्रा दिन बित्छन् । गाडीमा यात्रुले गर्ने दुर्व्यवहारले मन दुखेर घरको याद झलझली आउँछ, यस्तो दुःख किन गरौँ जस्तो मनमा विचार आउँछ । आखिर घरमा जाउँ संरक्षण गर्ने पनि त कोही छैन । भोको पेटको आगो निभाउन सहेरै काम गर्दै आएका छौँ ।” फोहाेर शरीर, थाकेको ज्यान, भोको पेटले पढ्ने कुरालाई सोच्नै नसकेको र यो असम्भव भइसकेको उनीहरूको भनाइ थियो । पेटकै लागि गाली खाएर काम गर्दै आएको र सके गाडी चालक बनेर देखाउने उनीहरूले बताए । जोखिमपूर्ण काम गर्ने बुढा र थापा त प्रतिनिधि बालक मात्र हुन् । दर्जनौँ बालबालिका कठिन श्रममा संलग्न छन् । यसरी श्रममा संलग्न अधिकांश बालक आफ्नो सही उमेर दिन पनि चाहँदैनन् । १८ वर्षभन्दा मुनिकालाई कानुनले कुनै पनि श्रम गर्न दिँदैन भन्ने कुरा सामान्यतः उनीहरूलाई थाहा छ । ११ वर्ष उमेर भएका बालबालिकाले पनि १६ वर्ष उमेर पुगेको भनेर ढाँट्छन् । बालश्रम शोषण र अधिकार हनन भयो भन्दै अधिकारकर्मीहरूले कामबाट छुटाउने तर आफ्नो जीवनका लागि राज्यले अर्को व्यवस्था नगर्दा समस्यामा पर्ने गरेकाले ढाँट्नु परेको उनीहरूको दुखेसो छ । नेपालको संविधान–२०७३, भाग ३ को मौलिक हकको धारा ३९ को उपधारा -४ मा भनिएको छ,…कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन पाइने छैन । संविधानमा उल्लेख गरिएका यी यस्तै व्यवस्थाका विषयमा निश्चित नागरिकबाहेक अरूलाई राम्रोसँग थाहा हुँदैन, ग्रामीण भेकमा । संविधानले दिएको अधिकारका बारेमा न उनीहरूलाई जानकारी छ न त उनीहरूको अधिकार राज्यले सुनिश्चित गर्न त्यस्तो कुनै स्पष्ट मापदण्ड तयार गरेको पाइन्छ । अधिकारबाट वञ्चित भएका बालबालिकाको बालअधिकार सुनिश्चितताका सवालमा अधिकारकर्मीहरूले आवाज निकालेको त पाइन्छ । यद्यपि पेस गरिएका प्रतिवेदनको कार्यान्वयन सरकारले गर्न नसक्दा अधिकारकर्मीहरू आफ्नो प्रयास लत्याइएको बताउँछन् ।