कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?

कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?

डा. बालकृष्ण साह । गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ । हिजोआज विस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै छ । फलस्वरूप मातृ मृत्युदरमा कमी आएको छ ।

गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ । अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो । त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन् । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स–रे गर्ने सल्लाह दिए । आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स–रे गर्न उपयुक्त मानिनन् तर दुईदिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ । त्यो फुटेर समस्या देखिएको रहेछ । यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ ।

पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी हुने कारण धेरै भएपनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमै भिडियो एक्स–रे गरेर इक्टोपिक प्रिग्नेन्सी रहेको थाहा पाउन सकिन्छ । इक्टोपिक प्रिग्नेन्सी भएको थाहा पाउने बित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ । इक्टोपिक प्रिग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिएपनि आमाको ज्यान बचाउन सकिन्छ ।

गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०–९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुईपटक रक्तचाप नाप्दा १४०–९० हुनु (पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन् ।

उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोश हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्यु समेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ । गर्भवती महिलामा देखापर्ने यस किसिमको समस्यालाई प्रि– इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा प्रिइक्लाम्पसिया हुन्छ । प्रि–इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटकमात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ।

गेस्टेसलन हाइपर टेन्सन, प्रि इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन् । यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन ।

त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ । यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ । गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ । यद्यपि कसै–कसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ ।

गर्भावस्थामा सामान्यभन्दा बढी वान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण (रगत, पिसाब, भिडियो एक्स–रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ।

पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ । सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ । यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ ।

करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको ४ महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ । कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो । यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नशाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ । यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ । गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनुपर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नेभन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू (डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ ।

त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ । मुखमा अमिलो पानी आउने, उल्टी (बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन् । नियमितरूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ । गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनावमात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ ।

अस्पतालको छनोट कसरी गर्ने ?

साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं । त्यसो त आपतकालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं । अस्पताल छनोट गर्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ ।

त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ । अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छः

० सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ।

० नजिकको अस्पतालले मात्र हुँदैन । आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ।

० अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ।

० अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्‍याउनु आवश्यक हुन्छ।

० अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ।

० अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्‍याउनुपर्छ।

महमा ऊर्जा

एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ।

नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ।

महमा कुनै बाहिरी तत्व मिसिएको हुनुहुँदैन । राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ । महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्‍याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ ।

जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणित भैसकेको छ ।

निद्रामा पनि क्रियाशील

मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन् । दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ । त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ । मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन् । कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग–धब्बामा टुथपेस्ट लगाएर सुत्छन् ।

छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भइरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ । निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने–फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भइरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ । एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन ।

जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ । यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ । छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ । करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ । छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ । त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ।

रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ । सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन । सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ । सुत्नुअघिको सहवास पनि प्रकृति प्रदत्त व्यायाम हो । यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन् ।

दीपकलाल श्रेष्ठ

गर्मीका लागि स्वास्थ्य टिप्स

बिहानै पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ।

बिहान–बेलुका हल्का खाना खानु राम्रो हुन्छ।

खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ।

भोक लागेको बेला मात्र खाना खानुपर्छ

कम चिल्लो भएका खानेकुरा खानुपर्छ।

पानी पर्याप्त मात्रामा पिउनुपर्छ।

तरबुजाको जुस पिउनुपर्छ।

बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ।

राति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ।

भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ।

खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन।

खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ।

दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ।

वजन कम गर्ने सरल उपाय

डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ।

निर्धारित समयमा खाना खानुपर्छ।

खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन।

दिनहुँ बिहान व्यायाम गर्नुपर्छ।

बाहिरको खाना कम खानुपर्छ।

प्रत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ।

सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ।

मस्तिष्कलाई कसरी सक्रिय बनाउने ?

मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ ।

बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ ।

बाधा–अड्चनको समाधान गर्नुपर्छ ।

अफिस जाने नयाँ बाटो रोज्नुपर्छ ।

श्रीमान्–श्रीमती प्रेमपूर्वक बस्नुपर्छ । यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ।

भरसक दिनहुँ नयाँ(नयाँ प्रयोग गर्नुपर्छ ।

जीवनमा तनावलाई स्थान दिनु हुँदैन।

रक्त अल्पताका लागि भोजन

पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ।

अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ।

हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ।

अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ।

मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ।

गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ।

चोकर सहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ।

माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्‍याउँछ । शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ ।

सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ।

पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ।

अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ।

राति किन बाउँडिन्छ गोडा

राति कसै–कसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु, धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । अल्कोहल तथा कफिन सेवन गर्नुहुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ ।

डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान

डा.आदर्श प्रधान

वर्तमान युग तीव्रगतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक–अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ ।

डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दुःख आदि मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ । डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् ।

डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ ।

जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई प्रि(क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ ।

एलरोन हर्बडका पुस्तकहरूः एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ ।

नेपालमा डाइनेटिक्सः नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्‍याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ । एजेन्सी

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

कोरोनापछि मंकिपक्स संक्रमणको आतंक, के हुन यसका लक्षण ?

काठमाडौं । कोरोना महामारीको त्रास कायमै रहेको बेला एउटा अर्को महामारीले विश्वलाई त्रसित पारेको छ । अहिलेसम्म १४ भन्दा बढी देशमा देखा परेको मंकिपक्स नामक संक्रमण चिन्ताको विषय बनेको हो । अफ्रिकामा देखा पर्ने यो भाइरस यसपटक भने यूरोप र बेलायतमा समेत देखा परेको हो । मङ्कीपक्स के हो ? बिफर रोग लाग्ने भाइरसकै प्रजातिको मङ्कीपक्स भाइरसबाट यो सङ्क्रमण हुन्छ। यद्यपि मङ्कीपक्स सङ्क्रमण हुने सम्भावना कम हुन्छ र यसले गम्भीर बिरामी बनाउँदैन। यसको धेरैजसो सङ्क्रमण मध्य र पश्चिम अफ्रिकाको जङ्गलनजिकै बस्तीमा देखिएका थिए। यो भाइरसका दुई मुख्य भेरिअन्ट छन्स् मध्य अफ्रिकी भेरिअन्ट र पश्चिम अफ्रिकी भेरिअन्ट। पश्चिम अफ्रिकी भाइरसको सङ्क्रमण अर्को भाइरसको सङ्क्रमणभन्दा कम जोखिमपूर्ण हुन्छ। यसका लक्षणहरू के के हुन ? सङ्क्रमण भएपछि सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने लक्षण देखा पर्छन्। केही दिनपछि शरीर बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र गोडाका पैतालामा बढी देखिन्छ। बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। कसरी सर्छ? मङ्कीपक्स सङ्क्रमितको नजिक रहँदा यो सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ। सङ्क्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो सर्न सक्छ वा सङ्क्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्छ। यो कति खतरनाक छ ? धेरैजसो सङ्क्रमण गम्भीर हुँदैन। यो बिफरजस्तै हुन्छ र सङ्क्रमणको केही सातापछि आफै निको हुन्छ। तर कहिलेकाहीँ यो गम्भीर हुन सक्छ र पश्चिम अफ्रिकामा यसका कारणले मानिसको मृत्यु भएको तथ्याङ्क छ। मङ्कीपक्स फैलिनु कति असामान्य हो ? थुनिएको बाँदरमा पहिलो पटक पहिचान गरिएको यो भाइरसको सङ्क्रमण सन् १९७० यता १० अफ्रिकी देशहरूमा कहिलेकाहीँ देखिने गरेको छ। सन् २००३ मा यो अमेरिकामा पहिलो पटक देखिएको थियो। अफ्रिका बाहिर मङ्कीपक्स देखिएको नै यो पहिलो अवसर थियो। त्यति बेला विदेशबाट ल्याइएका साना जनावरको सम्पर्कमा रहेका कुकुरबाट मानिसमा सरेको यो रोग ८१ जनामा देखिएको थियो र कसैको पनि मृत्यु भएको थिएन। सन् २०१७ मा नाइजीरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्क्रमण देखिएको थियो र त्यहाँ १७२ जनालाई सङ्क्रमण भएको आकलन गरिएको थियो। सङ्क्रमितमध्ये तीनचौथाइ २१ देखि ४० वर्षका पुरुष थिए। मङ्कीपक्सको उपचार के हो ? सङ्क्रमण नियन्त्रण गरेर यो रोगलाई रोकिन्छ। बिफरको खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ। भाइरसविरोधी औषधिहरू पनि उपयोगी हुन सक्छन्। के महामारी बन्ला ? यूकेका स्वास्थ्य अधिकारीहरूले मङ्कीपक्स यूकेमै मात्रै पनि महामारी बन्ने सम्भावना निकै न्यून रहेको बताएका छन्। नटिङ्घम विश्वविद्यालयका प्राध्यापक जोनाथन बल भन्छन्स् ूसङ्क्रमितको सम्पर्कमा आएका ५० मध्ये एक जना मात्रै सङ्क्रमित हुनुले यो अति कम सङ्क्रामक रहेको देखाउँछ।ू ूयो महामारीको रूपमा फैलिन्छ भनेर सोच्नु गलत हुन्छ।ू नेपालको अवस्था के छ ? अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन्। परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन। यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ। नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए। “सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन”, लालले भने। लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन्। “अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ” उनले भने। बिबिसीबाट

औषधिबिना उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने त ?

काठमाडौं, २९ पुषस् नेपालमा करिव ३० प्रतिसत मानिसहरुमा कुनै न कुनै प्रकारको रक्तचापको समस्या छ । ती मध्ये आधा जतिले रक्तचापको औषधि सेवन गरिरहेको चिकित्सकहरुको अनुमान छ । उच्च रक्तचापले अरु रोगहरु पनि निम्त्याउने गर्दछ । यसले हृदयघात, पक्षघात, मिर्गौला फेल तथा अरु जोखिमयुक्त रोगहरु पनि निम्त्याउन सक्छ । उच्च रक्तचापले मानिसको ज्यान पनि लिन सक्छ । तर धेरै जस्तो अवस्थामा महंगो औषधिको प्रयोग गर्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गरेर पनि यसलाई सन्तुलनमा राख्न सकिन्छ। उच्च रक्तचापबाट पीडित आधाभन्दा बढी मानिसहरुले जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राखेका हुन्छन् । विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ । यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली परिवर्तन गरेर ३ महिनामै लाभ पाउन सक्छन् । औषधिको प्रयोग नगरिकनै उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छु भनेर दृढ रहेकाहरुले यसबाट लाभ प्राप्त पनि गरेका छन्। औषधिबिना उच्चरक्तचाप कसरी नियन्त्रण गर्ने त ? शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम गर्न आजैदेखि सुरु गर्नुस्। यसले बिस्तारै व्यायाम गर्ने बानी बढ्न थाल्छ । व्यायामले शरीरको स्फूर्ति बढाउनुका साथै रक्तचाप नियन्त्रणमा सहयोग गर्दछ । जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ स्वास्थ्य आहारविहार शरीरका लागि राम्रो हो। सकेसम्म प्रशोधित खानेकुराहरुको सेवनबाट टाढै रहनुपर्छ । जस्तै प्रशोधित चिनी तथा अन्न। त्यसमाथि तपाईंले नुनको सेवन कत्तिको गर्नुहुन्छ त्यसमापनि फरक पर्छ। धेरै जसो नुनको मात्रा रेष्टुरेन्टको खाना तथा प्रशोधित खानामा पाइने गर्दछ।त्यसलै त्यसको सेवन सकेसम्म नगरेकै राम्रो । तपाईंले आफ्नो तौलको ५ प्रतिशतमात्र घटाउनु भयो भने पनि रक्तचाप नियन्त्रणमा पनि धेरै सघाउ पुर्याउँछ। दीर्घकालिन रुपमा आफ्नो तौल नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। छोटो समयको लागि डाइटमा ध्यान दिएर तौल घटाउने अनि पछि जथाभावी खानेकुरा खानाले पछिसम्म राम्रो गर्दैन। मद्यपान कम गर्ने अध्ययनका अनुसार जसले हप्तामा ७ देखि १३ पेगसम्म रक्सी खाने गरेको छ उसलाई ५३ प्रतिशत उच्च रक्तचाप हुने सम्भावना हुन्छ। त्यसैगरी जसले १४ भन्दा बढी पेग रक्सी खान गरेको छ उसलाई ६९ प्रतिशतसम्म उच्च रक्तचाप हुने सम्भावना हुन्छ। धुमपान त्याग्नाले रक्तचाप कम गर्न मद्धत गर्छ र मुटु रोगका समस्या पनि घटाउँछ।जीवनशैली परिवर्तनले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने गर्दछ । चिकित्सकहरुले पेनकिलरहरु पनि नियमित रुपमा प्रयोग गर्न नहुने सुझाएका छन्। त्यसैगरी निद्राको समस्या छ भने पनि त्यसलाई उपचार गराउनुपर्छ । अनिद्राले अरु पनि धेरै रोगहरु निम्त्याउन सक्छ ।

यी ५ लक्षण देखिए हुनसक्छ ओमिक्रोन– डा. पुन

डेल्टासँगै ओमिक्रोनको सरप्राइज उपस्थिति हुँदा संक्रमणको तीब्रतामा बुस्ट-अप भएको छ। यी दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ (सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको) र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलँदै गरेको देखिन्छ। यद्यपि यी दुई भेरियन्टहरुको उपस्थितिको अनुपातमा आगामी दिनमा के कति फरक हुनेछ भनेर हेर्न भने अर्को विज्ञप्ति कुर्नु पर्ने हुन्छ। अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्। १) घाँटी दुख्ने/असहज हुने। २) थकान महसुस हुने। ३) टाउको र शरीरका मांशपेशी दुख्ने। ४) हल्का शरीर तातिएको महसुस हुने। ५) नाकबाट पानी आउने/बन्द हुने। तर यी माथि उल्लेखित लक्षणहरु सामान्यतय खोप लगाएकाहरुमा नै देखिएका थिए। यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद/गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन। खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुन् अति जरुरी देखिन्छ। -स्वास्थ्यखबरबाट

लोकप्रिय