सुनको सिक्री नदिएको भन्दै विहे रद्द गरेको आरोपमा बेहुला सहित ८ जना पक्राउ

सुनको सिक्री नदिएको भन्दै विहे रद्द गरेको आरोपमा बेहुला सहित ८ जना पक्राउ
बेहुला बच्चालाल साहलाई पक्राउ गर्दै प्रहरी । तस्वीरः सामाजिक सञ्जाल

विरगंज । दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा प्रहरीले पर्साको वीरगन्जबाट बेहुला सहित केही जन्तीलाई पक्राउ गरेको छ। 

बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गरेको आरोपमा बेहुलासहित केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए। 

बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी उमेश साहका छोरा बच्चालाल साहसहितका केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। बच्चालाल बेहुला हुन्। 

‘पीडित (बेहुली) पक्ष जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

पक्राउ पर्ने बच्चालाल (बेहुला) वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी भएको बेहुली पक्षले बताएका छन्। 

साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो। 

सोमबार राति मण्डपमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो। 

त्यसक्रममा बेहुली पक्षले खबर गरेपछि पुगेको प्रहरीले बेहुला, उनका दाइ, भिनाजुसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेको सबै विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। 

जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधिको तयारी भइरहँदा बेहुला सुनको सिक्री नभएको भन्दैमण्डपबाट उठेका थिए। उनी त्यसरी उठ्दा बेहुली पक्षका आफन्तले रोक्ने प्रयास गरेपछि उनले विवाह गर्न अस्वीकार गरेको आरोप छ। 

बेहुलाले यसअघि केटी पक्षबाट दाइजोको रुपमा १२ लाख नगद, ३ लाख २५ हजारको मोटरसाइकल, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेका बेहुली पक्षको दाबी छ। 

दुबै परिवारबीच पहिल्यै दाइजोको विषय टुंगो लागेपछि विवाहको लागि तयार भएको थिए। तर, मण्डपमा बसिसकेपछि बेहुलाले थप दाइजो खोजेपछि विवाद सुरु भएको बेहुली पक्षको आरोप छ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाही अघि बढाइने जनाएको छ।  

क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या

बरहथवा । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले  जानकारी दिए । जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भने, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।” कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ । जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो ।  यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।   कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुने लगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।  

लोकप्रिय