सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं । मंगलबार सामान्य घटेको सुनको मूल्य आज बुधबार फेरि नयाँ उच्च विन्दुमा पुगेको छ । 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा पनि एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको हो । 

अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढेर आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । 

यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो । सोमबार फेरि उच्च विन्दुमा पुग्दै १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि आज भने बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

देशमा आर्थिक मन्दी छैन, व्यावसायिक आत्मबल कमजोर भएको हो  : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा अहिले आर्थिक मन्दी नरहेको बताएका छन्। लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसमा गभर्नर अधिकारीले व्यवसायीहरूमा आत्मबल कमजोर भएको बताएका हुन् । अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले बताउँदै उनले देशमा बाहिर चर्चामा भएजस्तो मन्दी नरहेको बताए । “अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन् । हाम्रो चालु खाता बचतमा छ,” उनले भने, “विदेशी मुद्रा सञ्चिति झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।” उनले भुइँचालो, कोभिडजस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रमा धेरै समस्या नआएको बताए । अप्ठेरो अवस्थालाई पनि बैंकिङ क्षेत्रले धान्दै आएको भन्दै गभर्नर अधिकारीले अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या नरहेको बताए ।   “अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,” उनले भने, “कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुन सक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँसम्म आएका हौँ ।” अहिलेको अवस्थामा माग घटेकोले केही दबाब सिर्जनाको अवस्था रहेको बताए ।

नेप्से १५.६२ अंकले घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको हो। यस दिन दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भयो। ६२ कम्पनीको सेयर मूल्य बढेको छ। १७७ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता एक हजार १६४ रुपैयाँ ८० पैसाले बढेर कारोबार भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ हजार ६९ रुपैयाँ ८० पैसा कायम भएको छ । पोखरा फाइनान्स र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीले आज २८ प्रतिशत लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता आकर्षित भएर कारोबार बढेको हो । यो कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ मध्ये विकास बैंक समूहबाहेक सबै घटेका छन् । विकास बैंक समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ ।

प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह हस्पिटलमा छुट

ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।  एक समारोहबिच सेन्टरका अध्यक्ष दीपक प्रकाश बास्कोटा र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सेन्टरमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौँ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गरे । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यापार अभिवृद्धिका लागि अन्तरआबद्धता, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए। “कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिमा सङ्कुचन पैदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।”  सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए । नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले  पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी आउने वातावरण बनाउन एडिबीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने विश्वास आफूहरुले गरेको उल्लेख गरे। एसियाली विकास बैँकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै सचिव मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो।रासस  

लोकप्रिय