सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । नेपाल(इटाली चेम्बर अफ कमर्शको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण गरेको पनि स्पष्ट गरिन्।

‘हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं’– मन्त्री शर्माले भनिन्– ‘नागरिक र राज्यका डाटा सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा बैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं ।’

लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा बैदेशिक लगानीको सीमा हटाएको,  दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिंद उनले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताइन्।

 ‘सरकारी तवरबाट संख्या एकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सिप र सेवा विभिन्न मुलुकमा निर्यात गररहेको अवस्था छ’– उनले भनिन्– ‘लगानीमैत्री  नीति र कानुन तथा  दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।’

मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल(इटाली चेम्बर अफ कमर्शलाई आग्रह गरिन्। ‘यहाँहरु जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ । अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ’– उनले भनिन्– ‘यसमा धेरै भन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ ।’ लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरु तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिइन्। 

सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उनले भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैं आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने विश्वास पनि व्यक्ति गरिन् ।
 
पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो संभावना बढ्दै गएको उल्लेख गर्दै उहाँले निर्यात बढाउँदै ब्यापार सन्तुलन कायम गर्नुपर्ने बताइन्। नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, साँस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रुपमा रहेको नेपालमा पर्यटकको संख्या गुणात्मकरुपमा बढाउन आवश्यक रहेको बताइन् ।

पार्टी विभाजनबारे पत्रकार सम्मेलन गर्दै जसपा नेपाल, अदालत जाने तयारी

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ।पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले बैठकले सो बार् निर्णय लिनेछ। अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको प्रवक्ता मनिष सुमनले बताए । पार्टी विभाजनको विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता सुमनले बताए । उनका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ।दल विभाजन सम्बन्धी कानूननै नभएको बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएको भन्दै अदालत जानलेको हो । अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो। हिजो बसेको बैठकले पार्टी विभाजनबारे कानूनी उपचार खोज्ने निष्कर्ष निकालेको थियो।

प्रधानमन्त्रीद्धारा सुनकोशी मरिण डाइभर्सनको सुरुङ  ‘ब्रेक थ्रु’ गरिदै

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिने भएको छ। औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् । उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुली पुगेका छन् । १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङको शपथ आज

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन्।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन्। गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक/दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लोकप्रिय