२ हजार अंकमा रोकियो सेयर बजार

उत्पादन र ब्यापारमा उच्च वृद्धि

२ हजार अंकमा रोकियो सेयर बजार

काठमाडौं, १६ फागुन  ।  बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंकले घटेको हो । १२ः२० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ः३५ बजे २००९ अंकसम्म पुगेको थियो ।

बुधबार कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब ८६ करोडको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । ब्यापार र उत्पादन समूह उच्च दरमा बढे ।

ब्यापार ५.५१ र उत्पादन समूह ४.९६ प्रतिशत बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत घट्यो । बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स १७, हाइड्रोपावर २१, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३७ अंक घटे ।

ब्यापार १५०, अन्य २, उत्पादन ३१७ र होटल तथा पर्यटन समूह २ अंक बढे । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.६, नेस्डो लघुवित्तको ६.८, युनिलिभरको ५ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ६.६, गुराँस लघुवित्तको ५.९, मिडसोलु हाइड्रोपावरको ५.२, जाल्पा सामुदायिक लघुवित्तको ३.७ र सामुदायिक लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । यसैगरी शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकोमा दुई विकास बैंकलाई पनि विभागले कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लंघन गर्ने लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही भएको हो ।  राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गर्ने लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई पनि कारबाही गरेको छ । राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ । बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गरी गराइ उपयोग गरेको देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गराई भुक्तानी भएकाले राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशनमा भएको व्यवस्था उल्लंघन भएको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० बमोजिम राजेन्द्रकुमार खेतानलाई १० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्थाअनुसार कायम नगरेपछि बैंक सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ । बैंकले ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएको समेत देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै, नियामकीय व्यवस्था उल्लंघन गर्ने प्राइम बैंकका सीईओलाई उक्त ऐनको दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ । प्रचलित कानुन र केन्द्रीय बैंकबाट जारी नीति, निर्देशन तथा नियमन परिपालना भए नभएका सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको भन्दै प्राइम बैंक सञ्चालक समितिलाई उक्त दफाबमोजिम सचेत गराइएको हो । त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई पनि नियामकीय व्यवस्था उल्लंघन गरेपछि बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ । त्यसैगरी लुम्बिनी विकास बैंकमा राष्ट्र बैंकको निर्देशनअनुसार वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र सोही निर्देशनमा उल्लेख भएबमोजिम शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरूपमा लागु हुन नसकेको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । त्यस्तै एक्सल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेकाले सोही बुँदाअनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

भारतले उपहार दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

काठमाडौं । भारतले उपहारस्वरूप नेपालका विभिन्न जिल्लालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आइतबार एक कार्यक्रमको आयोजना गरी ती एम्बुलेन्स र स्कुल बस सम्बन्धित संघ–संस्थालाई हस्तान्तरण गरेको हो । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरे । उपहारस्वरूप कुल १०१ सवारीसाधन हस्तान्तरण गरिएको हो । तीमध्ये दुई एम्बुलेन्स भारतीय दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला प्रमुख अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए । भारतले तीन दशकदेखि आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको दूतावासले जनाएको छ । “यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ,” दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र विकास गर्ने मुद्दा उठाउन व्यवसायीलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समग्र अर्थतन्त्रको विकास हुने मुद्दा लिएर आएमा त्यसअनुसार काम गर्न अर्थमन्त्रालय तयार रहेको बताएका छन् । उनले हालसम्म भएका कमजोरीको समाधान खोज्दै अघि बढ्नु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बुधबार उनले भने, “मेरो बिजनेस भनेर व्यक्तिगत रूपमा नआइदिनुस् । समग्र अर्थतन्त्रको विकास हुनेगरी आउनुस्, हामीले के गर्नु पर्छ तयार छौँ ।”  उनले व्यवसायीलाई हेरेर बनेका नीति करेक्सन गरिने बताए । उनले कुनै निश्चित व्यवसायीको हितमा बनेका नीति तथा नियम फेरिने स्पष्ट पारे ।  “व्यवसायीलाई हेरेर पनि नीति बनेका छन्, अब त्यो करेक्सन हुन्छ,” अर्थमन्त्री पुनले अगाडि भने, “गल्ती केही भएका होलान्, व्यवसायिक घरानाबाट पनि भएका होलान्, तर समाधान खोज्नु पर्छ ।”  

बुढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुन्छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजना चाँडै शिलान्यास गर्नेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । जिल्लाका स्थानीय पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलासयुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीब्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिएका हुन्।  जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताए।  “गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।” सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले यसबीचमा सरकारले महत्त्वपूण काम गरेको स्पष्ट पारे।  “आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”

लोकप्रिय