यस्तो रहनेछ आजको मौसम, शनिवारबाट नयाँ प्रणाली भित्रने

यस्तो रहनेछ आजको मौसम, शनिवारबाट नयाँ प्रणाली भित्रने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिबारबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिने छ । जसका कारण शनिबारबाट मौसममा बदली हुने सम्भावना रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

रोकियो लाइसेन्सको ट्रायल, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आजबाट ट्रायल रोकिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।रोकिएको ट्रायल कहिले खुल्छ भन्नेबारे भने अनिश्चित रहेको छ । यातायात व्यवस्था कार्यालयले आजबाट एक्कासी कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले हैरानी पाएका छन् । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले आज अबेर सूचना निकालेका थिए । उक्त सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट परिएको छैन् । राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेर र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ। साथै, टोकन र मेडिकलको नाममा मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ । ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट नभएको भए पनि मन्त्रालयले आइतबारसम्म राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने बताइएको छ ।

लोकप्रिय