एमाले सुर्खेतको अधिवेशन आजदेखि

एमाले सुर्खेतको अधिवेशन आजदेखि

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए।

बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ ।

अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । 

अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।

सांसदको शपथ लिए सुहाङले

काठमाडौं । उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले पद तथा गोपनियताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथपछि उनलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सदस्यको लोगो पनि लगाइदिएका छन्। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन र नियमका सामग्री प्रदान गरेका छन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायतको उपस्थिति थियो ।  सुहाङ नेम्वाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्बाङका छोरा हुन् । इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनी एमालेकै तर्फबाट निर्वाचित भएका हुन्। चुनावमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका हुन्।   

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ। छलफलमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए।

विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान

काठमाडौँ। विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचना जारी गर्दै  विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष एक र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागिएको हो।  आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५  दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ।  आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।     

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन्। संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताउ। प्रधान सेनापती शर्माले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए। उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे। त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाई छ। प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए। उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए। त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ । प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताउनुभयो । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताइन्। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ । उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए।

लोकप्रिय