एभरेष्ट दैनिक

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो । गत कात्तिक २३ गते जारी गरिएको यो ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख भए बमोजिम प्रदेश सरकार अघि बढेको हो । प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताए । संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरूमा लागु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा अब सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषा उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पनि गरेको छ ।