एभरेष्ट दैनिक

अखिल क्रान्तिकारीले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने

काठमाडौं । विद्यार्थी दिवसको अवसर आगामी जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।  अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीका अनुसार वक्तृत्वकला प्रतियोगिताको समन्वयको जिम्मेवारी संगठनका उपाध्यक्ष पवन कार्कीलाइ दिइएको छ।  प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.केशव भुसाल, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत निर्णायक समितिमा रहने भएका छन्। प्रतियोगितामा प्रथम हुने लाई ५९ हजार, दोस्रो हुनेलाई ३९ हजार र तृतीय हुनेलाई १९ पुरस्कार पाउने व्यवस्था गरिएको छ भने चौथो हुनेले सान्तवना पुरस्कार स्वरुप रु ९ हजार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनेले ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ शीर्षकमा अधिकतम ५ मिनेटको भिडियो बनाउनु पर्ने छ। प्रतियोगीले उभिएर शरीरको पूर्ण भाग देखिनेगरी आफ्नो विषय प्रस्तुत गर्नु पर्ने नियम बनाइएको छ । एभरेष्ट दैनिकसँगको कुराकानीमा उपाध्यक्ष रेग्मीले प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिए। उनका अनुसार सहभागीले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल [email protected] मा यही वैशाख २५ गते बेलुका सात बजेसम्म पठाइ सक्नु पर्नेछ। प्राप्त भिडियोहरु वैशाख २६ गतेदेखि संगठनको अफिसियल पेजबाट प्रशारित गरिने र प्रसारित भएका भिडियोमा वैशाख ३० गते बेलुका ११ बजेसम्म आएका लाईक, शेयर, भिउज र अनलाइन भोटिङको परिणामलाई समेत आधार मानी निर्णय गरिने अखिन क्रान्तिकारीले जनाएको छ। नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेष्ठ १ गते विद्यार्थी दिवसको अवसरमा प्रतियोगिताको नतिजा सार्वजनिक र पुरस्कार वितरण गरिने नेता रेग्मीले बताए । सोही दिन विद्यार्थी आन्दोलनको इतिहास झल्किने डकुमेन्ट्री पनि सार्बजनिक गरिने उनले बताए ।  उपाध्यक्ष रेग्मीका अनुसार यस्तो डकुमेन्ट्री उपाध्यक्ष क्षितिस सापकोटाले निर्माण गरेका छन् ।