विद्युत् किन्नेबाट बेच्ने मुलुक बन्नु गौरवः राष्ट्रपति

विद्युत् किन्नेबाट बेच्ने मुलुक बन्नु गौरवः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन समारोहमा उनले यो सबैका लागि गौरव र खुसीको विषय भएको बताए ।

भृकुटीमण्डपमा आयोजित एक्स्पोको उद्घाटन समारोहमा  राष्ट्रपति पौडेलले नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको बताए । 

यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनका लागि राखिएका लक्ष्य हासिल हुन सम्भव रहेको बताए ।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने उनको भनाई छ । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न पनि आह्वान गरे ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए ।

उनले आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्त्वाकाङ्‍क्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको बताए ।

लगानीका लागि देशभित्रको स्रोतमात्र नभई वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकतामा जोड दिदै उनले अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विद्येयक चाँडोभन्दा चाँडो पारित भइ कार्यान्वयनमा आउने बताए ।

जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनको विश्वास छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको जानकारी दिए ।

उनले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको पनि बताए ।

कार्कीले सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।


नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडियो सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको बताए ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबारसम्म चल्नेछ ।

जापानी विदेशमन्त्री काठमाडौंमा

काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी मध्यान्नमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका अधिकारीहरूले स्वागत गरे। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्। विदेशमन्त्री कामिकावाले आइतबार उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी आजै  फर्कने मन्त्रालयले जनाएको छ। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।” गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० शैया निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस्ता कामहरूले स्वास्थ्य क्षेत्रका अधिकार ब्यावहरमा कार्यान्वयन गर्नका लागि आधारभूत अर्थ राख्दछन् ।” संविधानको व्यवस्थाअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आम नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए। आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए। 

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

लोकप्रिय