वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका ३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका ५  घर भई काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।   

पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 
 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  युके पठाउने भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन् ।  सोमबार प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

कैलालीको सुधारगृहमा युवकको मृत्यु

कैलाली । कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका २ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो। भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। उनका अनुसार छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव अहिले घोडाघोडी अस्पतालमा नै राखिएको छ।  मृतकका परिवारका अनुसार शाहीको निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए । मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गौरीगंगा नगरपालिका २ घर भई ललितपुर, ललितपुर महानगरपालिका ७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्या एकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुर्यााई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

सहकारीका कर्मचारीबाट ८० लाख लुटपाट

जनकपुरधाम । दुई जना हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो ।  प्रहरीका अनुसार महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा लुटपाटमा परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

लोकप्रिय