एभरेष्ट दैनिक

इस्तानबुल रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ

इस्तानबुल (टर्की),पुस १९। इस्तानबुल आतङ्वादविरोधी प्रहरी बलले विदेशीसहित ३९ जनाको ज्यान जाने गरी एउटा रात्रिक्लबमा आक्रमण गर्ने आठ जना आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको उक्त घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइते भएका थिए । इस्तानबुल प्रहरीले रात्रिकालीन रैना क्लब आक्रमणमा संलग्न रहेको आशङ्कामा आठ जनालाई पहिलो पटक सुरक्षा नियन्त्रणमा लिएपछि थप कारबाही अघि बढाएको बताएको टर्कीको डोगान नयुज एजेन्सीले जनाएको छ । यसैबीच इस्तानबुल आक्रमणमा परी मृत्यु हुने अधिकांश विदेशी नागरिक भएको बताइएको छ । मृतकमध्ये २७ जना विदेशी घटनामा मृत्यु भएकामध्ये ११ जना टर्कीका नागरिक रहेको पुष्टि भएको छ भने बाँकी २७ जना विभिन्न देशबाट टर्की पुगेका विदेशी पर्यटक रहेको थाहा भएको छ । एक जनाको अझै परिचय खुल्न नसकेको बताइएको छ । पछिल्लो जानकारीअनुसार घटनामा दुई महिलासहित पाँच जना साउदी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको इस्तानुबलस्थित साउदी अरबका वाणिज्यदूतलाई उद्धृत गर्दै एक साउदी पत्रिका असरत अल असलले जनाएको छ । घटनामा जोर्डनका दुई, इराकका तीन, लेबनानका तीन, ट्युनिसियाका दुई, भारतका दुई, मोरक्कोका दुई र एक जर्मन नागरिकको मृत्यु भएको बताइएको छ । उक्त घटनामा क्यानाडा, रसिया, कुवेत, बेल्जियम र लिबियाका पनि एक÷एक जनाको मृत्यु भएको सूचना सम्बन्धित देशका कूटनीतिक अधिकारीले जनाएका छन् । रासस÷एएफपी