एभरेष्ट दैनिक

नेपाली कामदारले मलेसियामा ‘लेबी’ तिर्न नपर्ने

मलेसिया, पुस १६ । मलेसियामा कार्यरत विदेशी कामदारले त्यहाँको सरकारलाई बुझाउँदै आएको लेवि तिर्न नपर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि लागू हुनेगरी यसअघि तिर्दै आएको लेबी रकम तिर्नु नपर्ने निर्णय गरेको हो । मलेसियाले कामदारको लेभी रोजगारदाता कम्पनीलाई तिर्न निर्देशन समेत दिएको छ । यो नयाँ नीति पारित भई पूर्णरुपमा लागू भएमा कानुनी रुपमा रहेका ५ लाखभन्दा बढी नेपाली कामदारहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएका छन् । मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘रोजगारदाता–अनिवार्य प्रतिबद्धता’ अन्तर्गत उक्त निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री समेत रहेका हमिदीले विदेशी कामदार आफ्ना मुलुक नफर्केसम्म रोजगारदाता नै उनीहरुका लागि पूर्णरुपमा जिम्मेवार हुनुपर्ने बताएका छन् । मलेसियाली राष्ट्रिय समाचार संस्था ‘बर्नामा’ का अनुसार परिवर्तित नयाँ नीतिले आफ्ना कामदारको हेरचाहप्रति रोजगारदाता पूर्णरुपमा जिम्मेवार हुने र कामदार भाग्ने, गैरकानुनी भई बेग्लै कम्पनीमा काम गर्ने जस्ता समस्या समेत हट्ने बताए । गृहमन्त्री हमिदीले विदेशी कामदार बस्ने आवासगृहको सुविधा समेत ‘न्यूनतम पारिश्रमिक’ सम्बन्धी मापदण्डअनुरुप रोजगारदाताले नै ब्यहोर्नुपर्नेमा जोड दिँदै सरकारले छिट्टै विदेशी कामदारको रेखदेख तथा अवस्थाको मूल्यांकन गर्न ‘जिम्मेवारी र अवलोकन’ सम्बन्धी नयाँ मापदण्ड ल्याउने बताएका छन् । मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’मा पनि पुनरावलोकन गर्ने जनाइएको छ । ‘अहिले लागू गरिएको दर निकै कम र विदेशी कामदारको करार सकिएपछि रोजगारदाताले उनीहरुलाई फिर्ता पठाउन पनि त्यति प्रभावकारी छैन ।’ गहृमन्त्री हमिदीको भनाइ उद्धृत गर्दै समाचार संस्था बर्नामाले आफ्नो अनलाइनमा उल्लेख गरेको छ ।