बढेको इन्टरनेटको मूल्य घट्ने

काठमाडौं, साउन १० । मागबमोजिम दूरसञ्चार नियमावलीमा संशोधन भएपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् । यससँगै विगत एकवर्ष अघिदेखि इन्टरनेटको मूल्य बढाउने र फिर्ता लिने प्रवृत्ति पनि अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को यही साउन ६ गतेको बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य घटाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)का निवर्तमान अध्यक्ष विनय बोहराले जानकारी दिए । नियमावली संशोधन भएपछि इन्टरनेटको मूल्यवृद्धि फिर्ता लिने भएका छौँ, उनले भने ।

गत आवको बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लगाउने निर्णय गरेपछि सङ्घले गत वर्षको साउन १ गते नै मूल्य बढाउने घोषणा गरेको थियो । यद्यपि सरकारले तत्काल वार्ता गरी दूरसञ्चार नियमावलीमा आवश्यक संशोधन गर्ने र राउटरलगायत उपकरणको बिक्रीमा छुट्टै बिलिङ गर्न सक्ने र सो शुल्कमा दूरसञ्चार सेवा शुल्क नलाग्ने सम्झौता गरेपछि उक्त निर्णयबाट सङ्घ पछाडि हटेको थियो । यद्यपि सम्झौताअनुसार कार्यान्वयन नभएको भन्दै सङ्घले गत पुसमा पनि फेरि इन्टरनेटको मूल्य बढाउने घोषणा गरेको थियो । चालू आर्थिक वर्षको बजेटमा पनि इन्टरनेटमा सेवा शुल्क कायम भएपछि सङ्घले असार अन्तिम हप्ता मागबमोजिम नियमावली संशोधन नभएकाले फेरि इन्टरनेटमा उक्त १३ प्रतिशत सेवा शुल्क जोडेर मूल्य बढाउने निर्णय गरेको थियो ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ज० मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिगे्रमा प्राधिकरणले तोकिदिएको स्तरअनुरूप निःशुल्क मर्मतसम्भार गर्नुपर्ने’ व्यवस्था भएकोले सरकारसँगको अघिल्लो वर्षको सम्झौताअनुसार बिलिङ गर्न पाउने र सो कुरा नियमावली संशोधन गरेर सम्बोधन हुनुपर्ने सङ्घको माग थियो । सोही माग बमोजिम साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।

संशोधनपछि सेवा शुल्कबापतको ५० प्रतिशतमा भ्याट र कुनै कर लाग्ने छैन । सेवा शुल्कबापत बढ्ने १३ प्रतिशत मूल्य भने इन्टरनेट सेवा प्रदायकले हालकै मूल्यमा समायोजन गर्नुपर्ने छ । सरकारले पछिल्लोपटक जेठ ३० गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राउटरसहित इन्टरनेट लिज लाइन, डाटा कनेक्टिभिटी र मर्मत शुल्कमा समेत लगाइँदै आएको दूरसञ्चार सेवा शुल्क छुट गर्ने निर्णय गरेको थियो । घटेको मूल्य घरेलु इन्टरनेट प्रयोगकर्ता अर्थात् फिक्स्ड वायर प्रयोगकर्तालाई लागू हुनेछ । मोबाइल प्रयोगकर्ताको हकमा यो लागू हुने छैन। गोरखापत्रदैनिकबाट

नेपालमै अब मोबाइल निर्माण

काठमाडौं, बैशाख १५ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका उपनिर्देशक विनो चन्द्र श्रेष्ठ भने, ‘नेपालमै मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस्ड गर्न सकिन्छ वा सकिँदैन भनेर अध्ययन गर्ने तयारी भएको हो ।’ रिफर्बिस्ड अर्थात् पुराना स्मार्टफोनलाई विभिन्न कम्पनीले प्रमाणीकरण गरेर पुनः नयाँ जस्तै बनाएर बजारमा बेच्ने कार्य हो। त्यसका लागि प्राधिकरणले एभरेस्ट टेलिकम सर्कल प्रालिलाई परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन गर्न दिएको निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मोबाइल आयातलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ कि भन्ने उद्देश्यले अध्ययन सुरु गरिएको हो । मोबाइल वर्षेनी करिब ५० आयात भइरहेको छ। पछिल्लो तीन वर्ष ९०७३, ०७४, ०७५० मा क्रमसः ५० लाख, ४८ लाख र ४५ लाखको हाराहारीमा मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

4G सेवा देशभर विस्तार गरिने

काठमाण्डौ, बैशाख ०६ । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए। प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ । कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ (२०१७ जनवरी १) मा काठमाण्डौ उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । “आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको छ, आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने छ”, उनले भने । टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ । टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ । यो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । देशभर सातै प्रदेशमा सेवा विस्तारका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको छ । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटिइ कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङ्कङको सिसीएसआइले जिम्मेवारी टेलिकमले पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन् । सम्झौताअनुसार १२ महीनामा कार्य सम्पन्न गर्नका लागि साइट सर्भेको काम शुरु भइसकेको टेलिकमले जनाएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिइएको छ । सो आयोजनाका लागि पाँचमध्ये चार वटा सम्झौता सम्पन्न भइसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए । टेलिकमले गएको मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएको सम्झौताअनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेल्वेको ज्वाइन्ट भेञ्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरका लागि हङ्कङको सिसीएसआइसँग सम्झौता गरेको छ । टेलिकमले अहिले एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेकामा विद्यमान एडीएसएलका ग्राहकलाई एफटिटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटिटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य देशभर गरिरहेको छ । इन्टरनेटको साथसाथै आइपिटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको छ । हाल देशभर ४० हजार ९६० लाइन एफटिटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको छ । मोबाइल गुणस्तर अभिवृद्धि नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वीराजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो रहेको पाइएको छ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आश्विन ११ देखि २५, २०७५ सम्म काठमाडौँमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो भएको उल्लेख छ । रासस

मलेसियामा बस दुर्घटना : २ नेपालीको मृत्यु, १० जना घाइते

काठमाडौं, चैत २५ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ । विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने कामदारहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो नेपाल जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । यस्तै, बस दुर्घटनामा परी १० जना नेपालीहरु घाइते भएका छन् । घाइतेहरुको पुत्राजया र सेर्डाङलगायत अस्पतालमा उपचार भइरहेको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार घाइतेमध्ये २ नेपालीको अवस्था गम्भिर र उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । घाइतेहरुको अवस्था बुझ्न दूतावास टोली अस्पताल जाँदै गरेको बताइएको छ ।

बुहारीलाई फेसबुक चलाउन बन्देज, कारण यस्तो छ

लमजुङ, चैत १० । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ । फेसबुकमा के हुँदो रहेछ भन्ने उनलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ । परिवारको कुरा काट्न नसकेपछि उनले फेसबुक चलाएकी छैन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भने, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’ १९ महिनाअघि कामको सिलसिलामा दुबईमा गएका श्रीमान फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताइन् । ‘खोई किन हो । फेसबुक चलाउँछु भन्न खोज्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो भन्छन्’ कक्षा ८ सम्म अध्ययन गर्नुभएका कृपाले भने, ‘आफ्नो श्रीमानले भनेको मान्नै पर्यो । फेसबुकमा देशभरका गतिविधि थाहा पाउँछन् भनिन्छ । मलाई पनि कुरा बुझ्न मन छ। म बुहारी भएकै कारण चलाउन पाउँदिन ।’ कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् । गाउँकै आइतकुमारी विकले पनि फेसबुक चलाउनुहुन्न । गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर बस्ने गरेको उनले बताइन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँकी जस्तो लाग्छ’ उनले भने, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’ एक वर्षअघि साउदी गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताए । गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसंग कुराकानीका लागि मोबाइल लिएका छन् । उनले पनि अरु बुहारीले जस्तै इमोमा कुराकानी गर्छन् । ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । उनले भने, ‘फेसबुककै कारण कति महिला विग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै प¥यो ।’ गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका घरपिच्छे जस्तो युवा विदेश गएका छन् । कतिका श्रीमती बजार झरेका छन् । कति गाउँमै छन् । सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन् । कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेको छ । उनले भने– ‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’ बजार झरेका श्रीमतीहरु फेसबुकबाटै मायामा परी परिवारलाई विचल्ली पार्ने खबर आइरहेकाले श्रीमानले रोक लगाएको हुन सक्ने उनले बताइन् । गोरखापत्रबाट

सामाजिक सञ्जालः १० हजार लाइक गराउनुस्, ६० हजार कमाउनुस् !

काठमाडौं, चैत १० । अभिनेतृ स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन आग्रह आउँछन्। उनले केही दिनअघि मात्र आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउण्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रसाधनको विज्ञापन गरिदिइन्। उनले ‘माई लभ माई च्यालेन्ज’ का लागि पोस्ट गरेकी छिन्। विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ। यसमा स्वस्तिमा जस्ता सेलिब्रेटीदेखि आम प्रयोगमार्फत वस्तु तथा सेवाको प्रचार गरिन्छ। यसवापत विज्ञापनदाताले इन्फ्लुएन्सर (जसले आफ्नो एकाउण्टमार्फत विज्ञापन गरिदिन्छन्) लाई पारिश्रमिक दिन्छन्। ‘ब्राण्डहरू सोसल मिडिया फोकस्ड भएक छन्’, स्वस्तिमाले भनिन्, ‘त्यसको पहुँच पनि ठूला भएकाले यसैबाट विज्ञापन गर्न थालिएको होला। यसमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई दुई वर्गमा राखिएको छ। एकथरी ‘माइक्रो इन्फ्लुएन्सर’ हुन्छन् भने अर्का म्याक्रो इन्फ्लुएन्सर। माइक्रोमा सामाजिक सञ्जालका आम प्रयोगकर्ता पर्छन्, जसका साथी वाफलोअर्स धेरै हुन्छन्। ब्राण्डहरूले चाहनाअनुसार इन्फ्लुएन्सर छान्न सक्छन्। विदेशमा इन्फ्लुएन्सर जुटाइदिने कम्पनी हुन्छन्। हाल ब्राण्डहरूले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलेब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँ दिने गरेको बबवट्रेण्ड्लीकी वरिष्ठ ब्राण्ड सहायक लसता महर्जनले जानकारी दिइन्।

कसरी बढाउने सवारीसाधनको माइलेज? जान्नुहोस् तरिका

काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको मूल्य चर्को छ । हामीले इन्धनका लागि दैनिक धेरै पैसा खर्च गरिहेका छौँ । यद्यपि, केही होसियारी अपनाउन सकेमा इन्धनमा लाग्ने खर्च हामीले केही कम गर्न सक्छौँ । यसका लागि हामीले हाँक्ने कार, मोटरसाइकल वा स्कुटरजस्ता सवारीसाधनको माइलेज बढाउने तरिका जान्न आवश्यक छ । बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनुहुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेम्प्रेचर गेज हेर्नुपर्छ । टेम्प्रेचर गेजको सुइ थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ । यसरी सवारीसाधन गुडाएमा ५ किलोमिटरसम्म दौडिँदा दुईगुणा इन्धन बचत हुन्छ । इन्जिनको नियमित परीक्षण गरी ठीक अवस्थामा राखे ६ प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ। इन्जिनबाट कालो धुवाँ निस्कन्छ भने तेल बढी खपत भइरहेको छ भन्ने बुझ्नुपर्छ । र, तत्कालै परीक्षण गर्नुपर्छ  । सही गियरमा सवारीसाधन चलाउँदा २० प्रतिशतसम्म राम्रो माइलेज पाउन सकिन्छ । कच्ची र अप्ठ्यारो बाटोमा दौडिँदा तल्लो गियर र सहरी क्षेत्रमा दौडिँदा माथिल्लो गियर प्रयोग गर्नुपर्छ । सवारीसाधनलाई नियमित रूपमा ४० देखि ५५ किलोमिटर प्रतिघन्टाको औसतमा दौडाइरहने हो भने ४० प्रतिशतसम्म राम्रो माइलेज पाइन्छ । ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा दौडाउन थालियो भने इन्धन अनावश्यक बर्बाद हुन थाल्छ । यो सामग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भारतमा किन सबैभन्दा सस्तो मोबाइल डेटा ?

काठमाडौँ (बिबिसी) । भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे बिबिसीमा प्रकाशित प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख। मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ। तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन्। अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्। अन्तभन्दा धेरै सस्तो वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ। तर त्यो सधैँका लागि नहुन पनि सक्छ। केही भन्छन्- मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ। लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन्। त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन्। सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन। सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो। आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ। दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन्। असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन्। त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन्। त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ। यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो। निःशुल्क परीक्षण सेवा मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र निःशुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ। जियो सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो। ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो। दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन्। उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ। भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन्। एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन्। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्। देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो। दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए। जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ। के बजारमा यो मूल्य कायम रहन सक्छ? विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ। जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा चारवटा छन्। ‘डेटाको मूल्य बढ्नेछ‘ सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो। “यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।” जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्। जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, “हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ।” तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा। अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ। पाह्वा भन्छन्, “जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन्।” जियो निकटस्थ एउटा स्रोतका अनुसार सो कम्पनीले तोकेको मूल्यमा सहुलियत दिइएको होइन, बरु आर्थिक रूपमा सम्भव कुरा नै हो। हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ। भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ। भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ। सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ। प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा।  

सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, चैत ४ । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्तर्गत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उनले आग्रह गरे । पछौटेपन उन्मूलन समाज (बेस) नेपालअन्तर्गत सञ्चालित सुआहाराको सहयोगमा सीम कार्ड वितरण गरिएको हो । बच्चा गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्मका आमाहरुबीच निःशुल्क मोबाइलमा कुरा गरी स्वास्थ्य र पोषणसम्बन्धी सूचनामूलक सन्देश पनि पाउन सकिने सहजकर्ता भगीसरा सुनारीले बताए । सीम कार्डमा रु २० को बोनस र एक सय मेगाबाइट डाटा रहेको छ । यसैगरी पूर्वखोला गाउँपालिका–२ जल्पामा पनि २४ जना सुनौलौ हजार दिनका आमाहरुलाई स्मार्ट सीमकार्ड वितरण गरिएको छ ।

इमेलबाट जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना

काठमाडौं, माघ ६ । अनुमति नलिएरै जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाएमा जरिवाना भोग्नु पर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था गरिएको हो । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ । उक्त व्यवस्थाअनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित ब्यक्तिको मन्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नर्पर्ने उपदफा (२) मा भनिएको छ ।

नयाँ ‘स्मार्टफोन’ किन्दा कस्ता कुरामा ख्याल गर्ने ? जान्नुहोस्

यदि तपाई स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने यी ६ वटा कुरा ख्याल गर्नुस् । जसले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ । १ . बजेट स्मार्टफोन किन्नु भन्दा पहिले त तपाईंले अनुकूल बजेट छुट्टाउनु आवश्यक छ। कति सम्मको स्मार्टफोन फोन किन्दा ठीक होला त ? तपाईंले आवश्यकभन्दा बढी पैसा खर्च गर्दै त हुनुहुन्न? महँगो फोनमा भएको सबै फिचरहरु प्रयोग गर्नुहोला त? एकपटक बिचार गर्नुहोस् । तपाईंको बजेट ५००० होस् या १०००००, नेपाली बजारमा सबै मुल्यका र सबै किसिमका स्मार्टफोन फोनहरु पाईन्छन । नयाँ र फ्लागसिप स्मार्टफोनहरु महँगो र धेरै सुविधा सम्पन्न हुने गर्दछन तर तपाईंलाई उक्त महँगो फोनमा भएका सबै कुराहरु काम नलाग्न सक्छ । सायोमी, हुवावे, अप्पो आदि जस्ता चाइनिज कम्पनीले थोरै मुल्यमा पनि राम्रो र धेरै फिचर भएका स्मार्टफोनहरु बजारमा उपलब्ध गराएका छन् । तपाईंको आवश्यकता १५-२० हजारको स्मार्टफोनले नै पुरा गर्छ भने प्रयोग नहुने फिचरका लागि भनेर बढी पैसा खर्च गर्नु उचित नहुन सक्छ। २. ओपरेटिङ्ग सिस्टम (Operating System) आइफोन को सरलता कि एन्ड्रोइडको सहजता ? तपाईं आज स्मार्टफोन खरिद गर्न जानुहुन्छ भने तपाईंसँग मुख्यत: २ वटा विकल्प छन् , आइ-ओएस (iOS) र एन्ड्रोइड(Android) । आइफोनमा आइ-ओएस हुन्छ भने बाँकी मुख्य कम्पनीका स्मार्टफोनहरुमा Android हुने गर्दछ । iOS को नयाँ संस्करण iOS 12 हो भने एन्ड्रोइड को नयाँ संस्करण Android 9 (Pie) हो । एप्पलले आइफोन रिलिज भएको ४ बर्षसम्म सफ्टवेयर अपडेट दिने गर्दछ तर एन्ड्रोइड मा भने अपडेट ढिलो प्रदान हुने र बजेट स्मार्टफोनहरुले अपडेट नै नपाउने समस्या छ । यो समस्यालाई चाहिँ गुगलले आफ्नो एन्ड्रोइड वान प्रोग्राम मार्फत समाधान गर्न खोज्दै छ | “आइफोन प्रयोग गर्न सजिलो तर खरिद गर्दा महँगो हुन्छ” “एन्ड्रोइडमा विकल्प धेरै छ र आफूले चाहे जस्तै स्मार्टफोन किन्न सकिन्छ” यदि तपाईंको बजेट औसतभन्दा माथि छ र तपाईंलाई भरपर्दो र धेरै टिक्ने स्मार्टफोन फोन चाहिएको छ भने निर्धक्क साथ आइफोन लिनुहोस् । तर यदि तपाईंलाई नयाँ र धेरै फिचरहरु चाहिएको छ र तपाईंलाई ढिलो अपडेटले फरक पर्दैन भने आफ्नो बजेट अनुकुल एन्ड्रोइड फोन लिनु राम्रो हुन्छ । ३. क्यामरा स्मार्टफोनको आगमनसँगै डिजिटल क्यामराहरु हराउदै गए र आज डिजिटल क्यामराभन्दा बढी स्मार्टफोनको क्यामराबाट फोटो खिचिन्छ । स्मार्टफोन खरिद गरेपछी तपाईंले फोटो खिच्ने र सेल्फी लिने सोच त पक्कै पनि बनाउनु भएको होला र याद राख्नुहोस्, फोटो राम्रो आउनका लागि तपाईंको फोनको क्यामरा राम्रो हुनुपर्छ , मेगापिक्सल धेरै भएर हुँदैन । मेगापिक्सलको पछाडि नलागौं !!! मेगापिक्सल धेरै हुँदैमा फोटो राम्रो आउने होइन । फोटोको गुणस्तर क्यामराको लेन्स क्वालिटि, सेन्सर बनोट र सफ्टवेयरमा निर्भर हुन्छ । अत: स्मार्टफोन फोन किन्नु अगाडि नै क्यामरा क्वालिटि चेक जाचँ गरी लिनु राम्रो हुन्छ। सिंगल क्यामराभन्दा डबल क्यामरा भएको स्मार्टफोनले अलिक राम्रो तस्बिर खिच्न सक्ने र थप फिचर – जस्तै व्होके इफेक्ट, ब्लर आदि- हरु पनि हुने भएकाले यसको चर्चा बढ्दै गएको छ | आज भोलि मिडरेन्ज स्मार्टफोनमा पनि दुईवटा क्यामरा भेटिन थालेको छ | स्मार्टफोनको क्यामराले फोटो मात्र नभइ, भिडियो पनि खिच्दछ । भिडियोको गुणस्तर चाँही रिजोलुसनमा (Resolution) मापन गरिन्छ । मुख्यत स्मार्टफोन क्यामराहरुले 1080p भिडियो खिच्ने गर्छन तर नयाँ स्मार्टफोनहरुले त्यो भन्दा बढी रिजोलुसन, जस्तै 1440p, 2160p मा, भिडियो खिच्न सक्छन । कुनै कुनै प्रिमियम स्मार्टफोनले स्लो मोसन (Slow Motion) भिडियो पनि खिच्न सक्छ । यी सबै बिशेषता तपाईंलाई आवश्यक छ या छैन, यो चाँही तपाईंको आफ्नै रोजाइको बिषय हो । ४. ब्याट्री स्मार्टफोनको मज्जा स्मार्टफोन चलाउनुमा छ, दिन मै पटक पटक चार्ज गर्नुमा होइन । तपाईंको स्मार्टफोनको कम्तीमा पनि एक दिन पुरै टिक्नुपर्छ । विहान एक पटक चार्ज गरिसके पछी फेरि मध्यदिनमै चार्ज गर्नुपर्ने खालको स्मार्टफोन बाट टाढा रहनुहोस् । स्मार्टफोनको ब्याट्री लाईफ ब्याट्रीको साइजमा मात्र निर्भर नभइ ओपरेटिङ्ग सिस्टम, डिस्प्ले क्वालिटी, हालै संचालनमा रहेको एप र थुप्रै अरु कारकहरुमा निर्भर हुन्छ । कुनै कुनै स्मार्टफोनको ब्याट्री निकाल्न पनि मिल्छ तर त्यस्तो स्मार्टफोन २०१६ यता लोप हुँदै गएकाछन् । त्यसैले स्मार्टफोन खरिद गर्नु अगाडि नै सो स्मार्टफोनको ब्याट्री लाईफ र ब्याट्री साइजको बारेमा बुझ्नुपर्छ । सामसंग ग्यालेक्सी एस ९ , वानप्लस 6T , हुवावे पी २० जस्ता स्मार्टफोनहरुले छिट्टै चार्ज हुने फिचर अर्थात क्विक चार्ज (Quick Charge) सपोर्ट गर्छन जसबाट स्मार्टफोन आधा घण्टामा ६०% सम्म चार्ज हुन्छ । एप्पल आइफोनमा भने फास्ट चार्जका लागि छुट्टै चार्जर किन्नु पर्ने हुन्छ | थुप्रै मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि फास्ट चार्जको विशेषताहरु आएको छ | ५. स्टोरेज, मेमोरी र प्रोसेसर मेमोरी कार्ड लाग्नेमा न्यूनतम ३२ GB र मेमोरी कार्ड नलाग्नेमा न्यूनतम ६४ GB आन्तरिक स्टोरेज भएको स्मार्टफोन किन्नु उचित हुन्छ । स्टोरज भन्नाले स्मार्टफोनको भन्डारण क्षमतालाई जनाउछ । स्मार्टफोनको स्टोरज जति धेरै भयो तपाईंले तेती नै धेरै एप, गीत, भिडियो, गेम, फोटो आदी राख्न सक्नुहुन्छ। कुनै स्मार्टफोनमा मेमोरी कार्डबाट स्टोरेज बढाउन मिल्छ, कुनैमा मिल्दैन । सामसुङका धेरैजसो सबै फोनमा मेमोरी कार्ड हाल्न मिल्छ भने एप्पल र गूगलको कुनै पनि फोनमा मेमोरी कार्ड लाग्दैन । मेमोरी कार्ड नलाग्ने स्मार्टफोन खरिद गर्दा सुरु मै आफूलाई आवश्यक पर्ने जति स्टोरेज भएको मोडेल लिनु पर्छ। धेरै स्टोरेज भएको फोन केही हदसम्म महँगो पनि हुन्छ । धेरै प्रयोगकर्तालाई स्मार्टफोनमा ३ GB र्‍याम (RAM) नै काफी छ तर बजारमा ८ GB र्‍याम भएका स्मार्टफोनहरु पनि उपलब्ध छन् । सिस्टम मेमोरी भन्नाले RAM लाई बुझिन्छ । जति धेरै RAM , त्यती नै धेरै एपहरु ब्याकग्राउन्डमा स्मार्टफोनलाई स्लो नबनाइ चल्न सक्छ । आजको दिनमा ३ GB वा सो भन्दा बढी RAM भएको स्मार्टफोन किन्नु राम्रो हुन्छ । प्रोसेसर स्मार्टफोनको मस्तिष्क हो !!! स्मार्टफोनको काम, चाहे भिडियो हेर्ने होस् या गेम खेल्ने, सबै प्रोसेसरले नै गर्दछ । फास्ट प्रोसेसर भएका स्मार्टफोनहरु महँगो हुन्छन् तर आज भोलीका बजेट स्मार्टफोनमा पनि धेरै राम्रो र फास्ट प्रोसेसर हुने गर्दछन् । सामसुङले आफ्नो स्मार्टफोनहरुमा Snapdragon र Exynos प्रोसेसर प्रयोग गर्दछ । हुवावेले चाँही आफ्नो स्मार्टफोनमा HiSilicon Kirin प्रयोग गर्छ भने अन्य कम्पनीले कि त Snapdragon कि त MediaTekको प्रोसेसरहरु प्रयोग गरेको पाईन्छ । राम्रो प्रोसेसरमा गेमहरु राम्रोसंग चल्छन् र धेरै पछिसम्म राम्रोसंग चलिरहन्छ | अहिलेको एन्ड्रोइड जगतमा सबैभन्दा अब्बल प्रोसेसर हो Snapdragon ८४५ | एप्पलले नयाँ आइफोनमा A12 Bionic प्रोसेसर प्रयोग गरेको छ । ६. साइज र डिस्प्ले गुणस्तर उचित साइज भएको स्मार्टफोन लिनु धेरै आवश्यक पर्छ ! हिजोआज सानो भन्नाले ५ इन्च वा कमको डिस्प्ले भएको स्मार्टफोनलाई मान्न सकिन्छ र ठूलो भन्नाले ५.५ इन्च भन्दा माथि । ठूलो साइजको स्मार्टफोनमा ठूलो ब्याट्री, केही थप फिचर अनि ठूलै डिस्प्ले हुन्छ तर सानो हात भएकालाई भने ठूलो साइजको स्मार्टफोन चलाउन अप्ठ्यारो हुन सक्छ । सानो साइजको स्मार्टफोन चलाउन र ह्यान्डल गर्न सहज हुन्छ तर ठूलो स्मार्टफोनको तुलनामा केहि फिचरहरु कटौदी गरिएको हुन सक्छ । डिस्प्ले ठूलो भए पनि बेजेल कम भएका कारणले आजभोलिका स्मार्टफोनहरु साना पनि भएका छन् | डिस्प्लेको क्वालिटीमा रिजोलुसनले ठूलो भूमिका खेल्छ ! हिजोआजका स्मार्टफोनहरुमा मुख्यत एच.डि. (HD, 720p) , फुल एच.डि. (FHD,1080p) र क्वाड एच.डि. (QHD,1440p) रिजोलुसन हुने गर्छ । डिस्प्ले रिजोलुसन जति धेरै भयो सो डिस्प्लेको गुण्स्तर त्यती नै राम्रो हुन्छ। डिस्प्ले पनि एमोलेड (AMOLED) , TFT, IPS LCD, POLED आदि किसिमका हुन्छन । सबैका आफ्ना फाईदा र बेफाईदाहरु छन् । एमोलेड डिस्प्ले हेर्दामा राम्रो देखिन्छ र ब्याट्री पनि बचत गर्छ तर यसमा धेरै बर्न इन (Burn-in) समस्या देखिने गर्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुँदैनन । धेरैजसो सस्तो स्मार्टफोनहरुमा TFT डिस्प्ले पाईन्छ र यिनीहरु एमोलेड जत्तिको राम्रा नभए पनि ब्याट्री बचत गर्छ । IPS LCD हेर्दामा राम्रो हुन्छ र यसले देखाउने रङ्गहरु प्राकृतिक हुन्छन तर यसले ब्याट्री चाँही अली बढी खपत गर्दछ । सामसुङले आफ्नो प्रिमियम स्मार्टफोनहरुमा AMOLED डिस्प्ले र बजेट स्मार्टफोनमा TFT डिस्प्ले प्रयोग गर्छ । आइफोन XR मा र सोभन्दा पहिलेका आइफोनमा IPS LCD डिस्प्ले छ । नयाँ आइफोन X र XS चाहिँ एमोलेड डिस्प्ले प्रयोग हुने पहिलो आइफोन हो । निष्कर्ष: सबैभन्दा राम्रोको सट्टा तपाईंको आवश्यकता अनुसारको स्मार्टफोन किन्नु राम्रो ठहरिन्छ माथि दिइएको सबै कुराहरु ख्याल गरेर तपाईंले खरिद गर्ने जुनकुनै स्मार्टफोनबाट तपाईं सन्तुष्ट हुनुहुनेछ । तर यस लगायत पनि अन्य थुप्रै साना-साना कुराहरुले असर गर्न सक्छ। जस्तै: वाएरलेस चार्जिङ्ग (Wireless Charging), दुई वटा क्यामरा (Dual Camera), वाटर प्रूफ (Water Proof/Resistant) , स्टेरिओ स्पीकर (Stereo Speakers) , हेडफोन ज्याक (Headphone Jack) आदि । यी सबै बिशेषता भएको स्मार्टफोन झन् राम्रो हुन्छन् । यो सामग्री नागरिक दैनिकबाट लिइएको हो ।

सामाजिक सञ्जालले बढायो मानसिक तनाव, शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास

वासिङ्टन डिसी, पुस २५ । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ। आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल सहयोगी भए पनि किशोरकिशोरीहरूमा नकारात्मक प्रभाव पारेको पाइएको छ। लण्डन विश्वविद्यालयका विद्यार्थीहरूले गरेको सो अध्ययन ुइक्लिनिकल मेडिसिनु नामक जर्नलमा प्रकाशित भएको छ। अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरूलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ। प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरूको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ। तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ। ‘हामीले एउटा खतरनाक तथ्य फेला पार्‍यौँ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरूलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो’ अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने । यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ। सामाजिक सञ्जालमा धेरै भुल्नेहरूमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ। सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ। अध्ययनले सामाजिक सञ्जालको प्रयोग गर्नेहरू कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुर्व्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरूले बताएका छन् । रासस

मोबाइल सिरानीमुन्तिर राखेर सुते यस्ता जोखिम

मोबाइल फोन आधुनिक जीवनको अभिन्न अङ्ग हो यसमा कुनै शङ्का छैन । धेरै मानिसले त एक मिनेट पनि आफूलाई मोबाइलबाट टाढा राख्न नसक्ने लत लगाइसकेका छन् । यस्ता मानिस राति समेत सिरानीमुन्तिर फोन राखेर सुत्ने गर्छन् । तर यदि तपाईं पनि रति फोन सिरानीमुन्तिर राखेर सुत्ने गर्नुहुन्छ भने बेलैमा बानी सुधारिहाल्नुस किनभने यसले तपाईंमा गम्भीर रोग निम्त्याउन सक्छ । ब्रिटेनको एक्जिटर विश्वविद्यालय लगायत अन्य थुप्रै संस्थानहरूमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने मोबाइलबाट निस्किने विकिरण क्यान्सरदेखि नपुंसकतासम्मको कारक बन्न सक्दछ । त्यस्तै अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले मोबाइल फोनबाट उत्सर्जित हुने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई संभावित कार्सिनोजन अथवा क्यान्सरकारक तत्वको श्रेणीमा राखेको छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी- आइसीआरएले स्मार्टफोनको अत्यधिक प्रयोगले कान र मस्तिष्कमा ट्युमर गराउन सक्ने चेतावनी दिएको छ । यस्तो ट्युमर क्यान्सरको कारण बन्न सक्ने समेत उक्त एजेन्सीले चेतावनी दिएको छ । सन् २०१४ मा ब्रिटेनको एक्सटर विश्वविद्यालयले एउटा रिपोर्ट सार्वजनिक गर्दै न्मोबैल विकिरणले नपुंसकता हुनसक्ने बताएको थियो । यस शोधमा वैज्ञानिकहरूले मोबाइलको अत्यधिक प्रयोगले पुरुषहरूको शुक्रकीटको संख्या कम हुँदै गैराखेको र बाँकीकोक्षमतामा पनि ह्रास आइरहेको निष्कर्ष निकालेका थिए । वैज्ञानिकहरूले पाइन्टको गोजीमा फोन राख्ने गर्नाले नपुंसकताको जोखिम अझै बढ्ने जनाएको थियो । साथै वैज्ञानिकहरूले मोबाइललाई सिरानीमुन्तिर राखेर सुत्नुको अर्को खतरा पनि बताएका छन् । उनीहरूका अनुसार मोबाइल कुनै पनिबेला विष्फोट हुनसक्ने भएकाले पनि यो काम राम्रो होइन ।

सुबिसु भयंकर अफरः भाग्यशाली ग्राहकलाई स्मार्ट टिभी उपहार

काठमाडौं, पुस १८ । सुबिसु केबलनेट प्रालि नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारी आफ्नो ग्राहक सदस्यहरुसँग खुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ, जसमा रिटेल ग्राहक सदस्यहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभी–प्रिमियम प्याक अफर क्लियर टिभि सेवाअन्तर्गत मात्र रू.९९९ ।–(कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवाप्राप्तगर्न सकिने छ । सुविसु इन्टरनेट फास्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीए अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै म।ेडेम र जडान सेवा मात्र रू १५००।– (कर सहित)मा प्राप्त गर्न सकिने छ । सुविसु इन्टरनेट एण्ड क्लियर टिभी–कोम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगतमात्र रू.२३००।– (कर सहित) मा १महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ । त्यतिमात्र होइन, सम्पुर्ण ग्राहकहरुमध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निःशुल्क सबक्रिप्स प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी प्राप्त गर्न सकिने छ । बिजेताको घोषणा www.subisu.net.np र 18 anniversary  मा गरिने छ । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुनेछन् । सुबिसुका बारेमाः सुबिसु केबलनेट प्रालिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यान एथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ । क्लियर टिभीका बारेमा क्लियर टिभी सुबिसु केबलनेट प्रालि, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टिभी सेवा हो जसले एमपीईजी४ स्ट्याण्डडं डेफिनेशन र हाई डेफिनेशन च्यानलहरु केबल मार्फत, कन्डिस्नल एक्सिस प्रणालीको प्रयोग गरी सेटअप बक्सको माध्यमबाट प्रसारण गर्दछ ।

सुबिसुले ल्यायो ग्राहकका लागि भयंकर अफर, हेर्नुस् विस्तृतमा

काठमाडौं । सुबिसु केवल नेट प्रालिले आफ्नो १८औं वार्षिकोत्सको अवसमा ग्राहकका लागि भयंकर प्रस्ताव प्रस्तुत गरेको छ ।  यस अन्तर्गत हरेक हप्ता १० जनाले ३ महिनाको निःशुल्क सेवादेखि स्मार्ट टिभि बम्पर उपहारसमेत पाउने भएका छन् । पढ्नुस् सुबिसुको बिज्ञप्ति

संयुक्त राज्य अमेरिकामा साइबर आक्रमण !

वासिङ्गटन, पुस १५ । संयुक्त राज्य अमेरिकाका थुप्रै समाचारपत्रहरूमा भएको साइबर आक्रमणले त्यहाँका अखबारहरूको प्रकाशन एवं वितरणमा समस्या आएको बताइएको छ । अमेरिकी मिडियाका अनुसार त्यहाँको ट्रिब्युन प्रकाशन समूहका थुप्रै प्रकाशनहरूमा भएको साइबर आक्रमणले द लस एन्जेल्स टाइम्स, सिकागो ट्रिब्युन, बाल्टिमोर सन लगायतका प्रकाशनहरू प्रभावित भएका छन् । उक्त प्रकाशन समूहका अनुसार शुक्रवार पहिलो पटक त्यहाँको कम्प्युटर प्रणालीमा एउटा मलवेयर फेला परेको थियो जसले उक्त कम्पनीको छापाखानाबाट निस्किने अन्य अखबारहरूको छपाईमा समेत असर परको थियो । लस एन्जेल्स टाइम्सले उक्त आक्रमण अमेरिका बाहिर कुनियो अन्य देशबाट गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ । ब्याक-अप सिस्टमलाई बनायो निसाना यस आक्रमणको शिकार लस एन्जेल्सस्थित उक्त छापाखानाबाट छापिने वाल स्ट्रीट जर्नल र न्युयोर्क टाइम्सका वेस्ट कोस्ट संस्करणहरू समेत भएका छन् । यस आक्रमणलाई नजिकबाट नियालिरहेका एक जनाले उक्त आक्रमणको उद्देश्य सूचना छोरि गर्नु नभई आधारभूत संरचना ध्वस्त पार्नु र सर्भरहरूलाई निष्क्रिय पर्नु रहेको बताए । ट्रिब्युन प्रकाशनकी प्रवक्ता म्यारिसा कोलियासले यस कुराको पुष्टि गर्दै उनका समाचारपत्र प्रकाशित गर्ने ब्याकअप सिस्टममा भाइरस आक्रमण भएको स्वीकार गरेकी छिन् । घटनाको हुँदैछ जाँच यस प्रकाशनबाट छापिने अन्य समाचारपत्रहरूमा न्युयोर्क  डेली न्यूज, अरल्यान्डो सेंटिनल र ऐनापोलिस कैपिचल ग्याजेटका कार्यालयहरूमा गत वर्ष बन्दुक आक्रमण भएको थियो । एउटा अर्को प्रकाशन फोर्ट लडरडेल सन सेंटिनलको वेबसाइटमा उनीहरूकोमा पनि यस सप्ताहान्त सिस्टम ठप्प भएको जानकारी राखिएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेंटले जारी गरेको एउटा बयानमा विभाग केही अखबारहरूमा हुनसक्ने सम्भवावित आक्रमणबारे अवगत रहेको र सरकार र अन्य सहयोगी संस्थाहरूको सहायताले स्थिति नियन्त्रण गर्ने प्रयासमा रहेको बताएको छ । एजेन्सी