कङ्गोमा झडप हुँदा तेइसको मृत्यु

किन्सासा (कङ्गो),  मङ्सिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताएका छन् ।

मध्य कङ्गोमा शुक्रबारदेखि सुरु भई आइतबारसम्म भएको झडपमा प्रहरीतर्फ १३ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उप–गभर्नर हुवर्ट विङ्घो नोवलाले सोमबार सरकारी टेलिभिजनलाई बताएका छन् ।

त्यसैगरी झडपमा १० जना मिलिसिया (लडाकू) को मृत्यु भएको पनि उनले जानकारी गराए । रासस

‘रसियाली हवाई आक्रमण’बाट सिरियामा छ्यालिसको मृत्यु

बेरुत (लेवनान), मङ्सिर २० । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको छ । मानवअधिकारवादी संस्थाले घटनामा रसियाली पक्षको हात रहेको हुनसक्ने जनाएकोे छ । इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको पनि बताइएको छ । रासस÷एएफपी

उत्तरी चीनमा कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

होहोट,  मङ्सिर १९। चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङगोलियामा रहेको कोइलाखानीमा विस्फोट हुँदा शनिबार १७ जनाको मृत्यु भएको छ । घटनास्थलमा अरु केही व्यक्तिहरु पनि खानीभित्र च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । बाओमा मिनिङमा मध्यान्नको समयमा विस्फोट भएको बताइएको छ । स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको छ । साथै घटनाको बारेमा अनुसन्धान भइरहेको पनि बताइएको छ । यसअघि शुक्रबार राती चीनकै हेइलोङजीआङमा रहेको कोइलाखानीमा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो । रासस  

तालमा मिनीबस खस्दा १८ जनाको मृत्यु

मंसिर १७ । चीनमा एक मिनीबस तालमा खस्दा त्यसमा रहेका १८ जनाको ज्यान गएको छ । करिब २० यात्री सवार रहेका उक्त मिनिबस चीनको मध्यप्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र शुक्रबार नजिकै रहेको एक तालमा खस्दा उनीहरुको मृत्यु भएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनापश्चात तत्कालै त्यहाँको राज्यद्वारा सन्चालित सीसीटीभीले घटनाबारे जानकारी दिएको थियो । सडक–किनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनिबस निकालेको सीसीटीभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको जनाइएको छ ।

आफ्नो सवै व्यवसायबाट अलग हुने ट्रम्पको घोषणा

वासिङटन,  मङ्सिर १७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गरेका हुन् । ट्विटमा लेखिएको छ, ’डिसेम्बर १५का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ ।’ उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन्। केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरे । आउँदो जनवरी २० तारिखदेखि उहाँले राष्ट्रपतिको जिम्मेबारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेबारीमा रहने बताएका छन् । रासस

सुन ८ महिनाकै सस्तो

काठमाडौं , मंसिर १७।  पछिल्लो समय निरन्तर मूल्य घट्दै गएको सुन ८ महिनायताकै सस्तो भएको छ । विहीबारका लागि तोकिएको छापनवाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य चैतयताको सबभन्दा कम हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ । यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

नयाँ दिल्ली, मङ्सिर १६ । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस