झापामा परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ ।

दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । 


चन्दका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । झापाकै एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।

सांसद आचार्यको पहलमा बुढीगंगाका दुई सामुदायिक विद्यालयमा पुग्यो बस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा दुईवटा बस प्राप्त गरेका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको माइक्रो बस प्राप्त गर्न सफल भएका हुन् । विराटनगर महानगरपालिकाले एउटा बस स्कुल बस प्राप्त गर्दा छिमेकी गाउँपालिकाका दुई वटा विद्यालयले दुई वटा बस प्राप्त गर्नुमा सांसद आचार्यको पहलले काम गरेको कर्मवीर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलभद्र सरदारले बताए । अध्यक्ष सरदारले भने ‘हामीले माननीय आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेका थियौं, उहाँकै पहलबाट बस प्राप्त गर्न हामी सफल भएका छौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यामिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबार विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसमेतले बसको जरुरी रहेको बताएका थिए । अध्यक्ष सरदारले भने ‘अहिले एउटै मात्र भए पनि निकै राहात पुगेको छ, विद्यालयमा अरु पनि बस आवश्यक छ । थप बस ल्याउनका लागि सरकार र दातृ निकायसँग पहल गरिदिन माननीय ज्यूलाई हामीले आग्रह पनि गरिरहेका छौं ।’ नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलास केसीले पनि भारतीय राजदूतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको बताए । विद्यालयमा थप स्कुल बस आवश्यक भएको बेला आफ्नो निर्वाचन क्षेत्रका सांसद तथा पूर्व मन्त्री जीवन आचार्यले बस उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेको उनले बताए । बस हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा अरु प्रतिनिधिहरु पनि काठमाडौं पुगेका थिए । सांसद जिवन आचार्यमार्फत बस प्राप्त गर्न सफल भएपछि दुवै विद्यालयका प्रतिनिधिहरुले आचार्यबाट चाबी हस्तान्तरण गरेको डेमो तस्बिरसमेत खिचाएका थिए । भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि ६६ वटा स्कुल बस र ४५ वटा एम्बुलेन्स वितरण गरेको थियो । भारतीय राजदूतावासले वितरण गरेका बस र एम्बुलेन्सहरु यस पटक पहाडी जिल्ला र पश्चिम नेपालतर्फ धेरै गएको थियो । भारतीय राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रहेका वर्षमान पुनले विभिन्न पालिका र विद्यालयका प्रतिनिधिहरुलाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

सुनसरीका पाँच पालिकामा कर्फ्यु

काठमाडौं । सुनसरीका पाँच पालिकामा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेको हो । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोसी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी भएको जनाइएको छ  । कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।  यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भइ तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्न सूचना जारी गरिएको बताइएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।  श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका १२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जिल्ला न्यायधिश घिमिरे इलाम २ को मुख्य निर्वाचन अधिकृत

इलाम । इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि चैत २२ गते इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मतदाताको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता हुनेछ । इलामको उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको जनाएको छ ।  निर्वाचन कार्यालयका अनुसार इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन गर्ने तय भएको छ । निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

इलाम -२ मा माओवादीका उम्मेदवार धीरेन्द्र शर्मा

विराटनगर ।सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं.२ मा धीरेन्द्र शर्मा तिम्सिना ‘रमण’ उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो।  उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताएका छन् । २०७४ सालको चुनावमा उनी क्षेत्र नं.२ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।  हाल उनी पार्टीमा केन्द्रीय कमिटी सदस्य छन्। इलाम–२ मा नेकपा एमालेले स्व। नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू उम्मेदवार छन्।

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् ।सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे।  कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन गर्नुभयो । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गरेका थिए ।  राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो। खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५/६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो। भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । 

राहत लिएर रंगेलीका अग्नी पिडित वस्तिमा पूर्वमन्त्री आचार्य

काठमाडौं । नेकपा (माओवादी केन्द्रका केन्द्रीय)सदस्य समेत रहेका कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्य राहतसहित मोरंगको रंगेली सन्थालका अग्नी पिडितको वस्तिमा पुगेका छन् ।    बुधबार दिउँसो राहत सामग्री सहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पिडितलाइ राहत वितरण गरे । सो अवसरमा उनले आगलागीबाट पिडित बनेका जनताको बसोवास र खानपानको प्रबन्ध मिलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासो रहेको पिडितलाई जानकारी गराए । साथै उनले आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति र बसोवासका लागि घर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।  चैत्र ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको थियो।  आगलागीबाट पिडित बनेका नागरिकहरुलाई मलम लगाउन गरिएको राहत वितरणमा पूर्वमन्त्री एंव सांसद आचार्यसहित मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, नेपाल प्रहरीका जिल्ला एसपी, सशस्त्र प्रहरीका जिल्ला एसपी, सिएनआईका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पूर्व सांसदहरु, पत्रकारहरु र नागरिक समाजका अगुवाहरु सहभागी थिए। 

रंगेलीको वस्तीमा  २० घर जल्दा २३ परिवारको बिचल्ली

विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा रहेको गरिब वस्तीमा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले बताए । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले जानकारी दिएको छ । अधिकांश आगलागी पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले बताए ।  बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर भएको यस वस्तीमा बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसेका छन् । वडा अध्यक्ष प्रसाईंले आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुई मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाइकल र को ३७ प १८४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको र विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। त्यसैगरी दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको उनले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिएको अभियोगमा बा ४० प १७९ नम्बरको मोटरसाइकलका चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।  

अनलाइनबाट ठग्ने बंगलादेशीसँग नेपाली नागरिकता र राहदानी

विराटनगर । सर्वसाधारणको सम्पूर्ण व्यक्तिगत विवरण लगेर ठग्दै हिँड्ने बंगलादेशी नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ। मोरङ प्रहरीको पक्राउ गरेको बंगलादेशी नागरिकसँग नेपाली नागरिकताको प्रमाणपत्र र त्यसैका आधारमा बनेको राहदानी फेला परेको हो । प्रहरीका अनुसार उनीहरुले गाउँ–गाउँमा गएर पैसा बाँड्दै नेपालीहरुको नागरिकताको फोटो खिच्ने, अन्य कागजातहरुको फोटो खिच्ने र त्यसको बदलामा पैसा दिने अनि त्यही कागजातको फोटोको आधारमा अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो समूहले गएको फागुन २८ मा मोरङको सुन्दरहरैंचा –८ स्थित सलकपुरमा स्थानीयबासीलाई भेला गरेर रकम बाँड्दै गरेको थियो। त्यही बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा पक्राउ परेकामध्ये एक वंगलादेशी नागरिकसँग नेपालको नागरिकता र राहदानी फेला परेको प्रहरीले जनाएको छ । काडमाडौ नयाँ बजारकी २३ वर्षीया सुनिता खत्रीलाई २९ गते मोरङको सलकपुरबाटै प्रहरीले पक्राउ गरेको थियो। खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्रेको हो। तानवीरको साथबाट ‘तानवीर  मिया दर्जी’ नामको नागरिकता र राहदानी फेला परेको हो । २०६३ सालमा रौतहट जिल्लाबाट बनाएको नागरिकता भएकाले वंगलादेशी नागरिककै हो होइन भन्ने थप प्रमाणको खोजीमा लागिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक तेजबहादुर दाहालले बताए । वंगलादेशी नागरिकले नेपाली युवतीको प्रयोग गरी नेपालीहरुको नागरिकताको प्रतिलिपि संकलन गरेर अनलाइन ठगीको कारोबार गरेको प्रहरीको अनुमान छ। उनीहरुले आफूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्थाको प्रतिनिधि बताउँदै ग्रामीण भेगका बासिन्दालाई रकम दिएर नागरिकताको फोटो खिचेर लगेका थिए। गिरोहले ब्यक्तिगत पहिचानको  परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुले रकम दिएर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड पनि फेला पारेको छ।

सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख पनि हुन् । कार्यालय परिसरमा रहेको क्वाटरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । ‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

धनकुटामा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

हिले । धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।  मृतकको नाम खुलेको छैन । हिलेबाट चुङमाङ्ग जाँदैगरेको को २ च १६१९ नम्बरको पिकअप गाडि पाख्रिवास नगरपालिका –१० चुङमाङ्गमास्थित भारती माबि छेउमा दुर्घटना भएको हो । गाडिमा १७ जना सवार रहेको बताइएको छ । घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकवाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिए ।

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् ।  यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।