विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् । 

यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो ।

विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।

व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए ।

व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो ।

बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।

फोटो पत्रकार वन्त सम्मानित

इटहरी, फागुन ७ ।राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित भएका छन्। वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट नगद रु ११,१११   सहीत सम्मानित भएका हुन् । उनी राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार हुन् ।  प्रजातन्त्र दिवस तथा प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो। काठमाडौंमा रहेर व्यावसायिक फोटो पत्रकारिता तथा फोटो पत्रकारिताको प्रशिक्षकको भूमिका निर्वाह गर्दै वन्तले पत्रकारितामा फोटोको माध्यमबाट पु¥याएको कामको उच्च मूल्याङ्कन गरी कोशी प्रदेशको उत्कृष्ट अनलाइन पत्रिकाको वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।  फोटो पत्रकार वन्तलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानपत्र र पुरस्कार प्रदान गरेको उक्त कार्यक्रम आयोजक नयन एड्भरटाइजिङ मिडियाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । वन्त काठमाडौंमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्छन् । उनी गोरखा पत्रकार समाजका अध्यक्ष पनि हुन् ।

बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

विराटनगर, ४ फागुन । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बिहीबार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ । पीडित महिला बिहीबार साँझ हरैचामा रहेको प्रहरी कार्यालय पुगेकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको  दाहालले बताए । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।