अर्थतन्त्रका संरचनात्मक समस्याको समाधानका लागि सरकारको अपिल

अर्थतन्त्रका संरचनात्मक समस्याको समाधानका लागि सरकारको अपिल

काठमाडौँ । सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाट सम्भव नभएको भन्दै सहयोगको अपिल गरेको छ ।

देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले जारी गर्नुभएको श्वेतपत्रबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको अपेक्षा गरिएको हो।

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा लामो समयदेखि विद्यमान संरचनात्मक समस्याको समाधान एउटै निकाय, संस्था वा तहबाट मात्र सम्भव छैन, राज्यका सबै जिम्मेवार तह, संस्था, पदाधिकारी र आम नागरिकको सहकार्यबाट समस्या एवं चुनौतीको सामना गर्न सकिन्छ, यसमा सबैको सहयोगको अपेक्षा सरकारले गरेको छ ।”

नेपालको संविधानको पूर्ण कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहमा सरकार गठनसँगै विकास र सुशासनको कार्यप्रारम्भ भएको उल्लेख गर्दै उहाँले सरकारी, निजी एवं सहकारी बीचको सहकार्यबाट समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मुलुकको समृद्धिका लागि आन्तरिक स्रोत र निकाय मात्र पर्याप्त नभएको बताउँदै अर्थ मन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय लगानी र एवं सहयोगलाई परिचालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

विविध चुनौतीका बाबजुद पनि सुधारका लागि थुप्रै अवसर रहेको भन्दै उहाँले पाँच वर्षसम्म दूरदृष्टि र संकल्प सहितको सुदृढ स्थिर सरकार रहने भएकाले बर्षेनी नीति र प्राथमिकता फेरिने क्रम रोकिएकाले समृद्धिको अवसर रहेको बताउनुभयो ।

आन्तरिक द्वन्द्व र त्यसले पार्ने कुप्रभावको भोगाइबाट सचेत जनता अब शान्ति र विकासका पक्षमा उभिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “आर्थिक समृद्धिको यात्राका लागि आवश्यक स्रोत र साधन परिचालन गर्न सकिनेमा सरकार विश्वस्त रहेको छ ।” सरकार गठन हुँदाको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक वृद्धिसँग प्रत्यक्ष जोडिन सकेको छैन, पुँजी निर्माणका काम सुस्त छन्, राज्यले प्रदान गर्नुपर्ने आधारभूत सेवाको गुणस्तर कमजोर छ र बजेट अनुशासन उल्लंघन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो छ ।”

त्यसैगरी संघीयता कार्यान्वयनका लागि प्रशासनिक खर्च बढेको भन्दै उहाँले लगानीका लागि वातावरण उत्साहजनक नरहेको, सानो अर्थतन्त्र, लगानीका आधार न्यून, राजश्वले चालु खर्च धान्ने अवस्था नहुनु, न्यून आर्थिक वृद्धिदरजस्ता समस्या रहेको बताउनुभयो । आन्तरिक क्षेत्रमा कमजोर पूर्वाधार, कमजोर निजी क्षेत्र, परम्परागत बैंकिङ सेवा, पुँजी बजारको संकुचित अवस्था, सीमित बीमा लगायतका विद्यमान समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले बाह्य क्षेत्र झनै भयावह रहेको, निर्यात संकुचित, आयातमुखी अर्थतन्त्र, विप्रेषण आप्रवाहको वृद्धिदरमा सुस्तताजस्ता समस्या रहेको बताउनुभयो ।

उहाँले सार्वजनिक खर्चको स्थिति बढ्दै गएको, वित्तीय अराजकता निम्तिएको, बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको र कर्मचारीको निवृत्तिभरण लगायतको अवकाश सुविधासम्बन्धी खर्च निरन्तर बढेको बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाका अनुसार राजश्वको दायरा साँघुरो नभएको, राजश्व प्रणाली प्रगतिशील र नतिजामुखी नभएको, करप्रणाली आयातमा आधारित भएको जस्ता समस्या रहेको छ । उहाँले वैदेशिक सहायताको क्षेत्रमा पनि विसंगति बढ्दै गएको बताउनुभयो । रासस

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ७ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ ९ईयू० का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन्। उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे। सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो । २०७९ फागुनमा इयुले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयुको टोली नेपाल अनुगमनमा आएको थिएन । यस वर्ष गत साउन र भदौमा इयुको हवाई सुरक्षा कमिटिले नेपाली वायू सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासो मै थियो । हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधिक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोली सँग आग्रह गरेका हुन् । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।

महालेखाको प्रतिवेदन : प्रदेश र स्थानीय तहमा जथाभाबी खर्च गर्ने बेथितिकाे विकास (पूर्णपाठ)

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदन सार्वजननिक भएको छ । चैत्र ३० गते बिहिबार महालेखा नियन्त्रक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा नियन्त्रण कार्यालयको तर्फबाट ६० औँ प्रतिवेदन पेश गरेका हुन् । महालेखा परीक्षकको कार्यालयले सङ्घीय, प्रदेश र स्थानीय सरकार अन्तर्गतका निकायहरू तथा समिति, सङ्गठित तथा अन्य संस्थाहरूको लेखापरीक्षण गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार नेपालमा बेरुजु फर्स्यौटको अवस्थामा खासै सुधार आएको छैन। ती सबै निकायमा गरिएको लेखापरीक्षणबाट गएको वर्ष मात्र १ खर्ब १९ अर्ब ७८ करोड बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यसभन्दा अघिल्लो वर्ष यस्तो रकम १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको थियो। महालेखाका अनुसार नेपालमा हालसम्मको बेरुजु रकम भने ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ। त्यो भनेको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम सहितको बेरुजु हो। त्यस्तो रकम गत वर्षको तुलनामा १५.७५ प्रतिशतले वृद्धि भएको महालेखाको विवरणमा जनाइएको छ।त्यस्तै सरकारी खर्चमा चरम लापरबाही गरिएका विवरणहरू पनि प्रतिवेदनमा उल्लेख गरेको छ। त्यस्ता लापरबाहीमा असार अन्तिम सातामा गएर ठूलो मात्रामा खर्च गर्नेदेखि लिएर जथाभाबी रकमान्तर गर्ने जस्ता कार्यलाई उसले औँल्याएको छ। यस्ताखाले बेथिति विशेषगरी प्रदेश र स्थानीय तहमा व्यापक रूपमा पाइएको महालेखाले जनाएको छ। राजस्व बक्यौता बाँकी रहने, सरकारी निकायबाट गर्न सकिने कामका लागि परामर्शदातामार्फत् गराइने, पूर्वाधार क्षेत्रमा सार्वजनिक खरिद ऐन विपरीतका गतिविधि हुने, अनियमित रूपमा खर्च गर्ने, प्रभावकारिता नभएका तथा उपयोगविहीन कार्यक्रमहरू चलाइने लगायतका कैयौँ आर्थिक बेथितिलाई पनि महालेखाले औँल्याएको छ। कैयौँ प्रदेश तथा स्थानीय सरकारहरूले “नियम, कानुनलाई बेवास्ता गर्दै जथाभाबी खर्च गर्ने परिपाटी विकास भएको” पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ। यस्तो छ महालेखाको प्रतिवेदनको पूर्णपाठ

नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत हो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्ने हावा नफैलाउन आग्रह गरेका छन् । आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवमा मन्त्री शर्माले अर्थतन्त्रमा संकट नभएर केही चुनौती रहेको बताए । नेपालको मिश्रित खालको अर्थतन्त्र भएको भन्दै चुनौतीमा छलफल हुनुपर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रका सूचकांक सुधार उन्मुख छन् । हाम्रो अर्थतन्त्र संकटमा छैन,’उनले भने, ‘राजस्व उठ्न केही कमी भएको छ । यसलाई सुधार गर्नु छ । विकास निर्माणका काम घटेका कारण केही चुनौती आएको हो ।’ त्यस्तै, निजी क्षेत्रलाई साथमा लिएर यी चुनौतीको समाधान गर्नुपर्ने उनले बताए । ‘हामीले निजी क्षेत्रका कुरा सुनेका छौँ । तर, अर्थतन्त्र संकटमा छ भनेर अर्थशास्त्री र व्यवसायीले नभन्दिनुस्,’मन्त्री शर्माले भने ।

लोकप्रिय