शहीद शुक्र माविद्धारा ललितकला विषयको अध्यापन सुरु

शहीद शुक्र माविद्धारा ललितकला विषयको अध्यापन सुरु

काठमाडौं । सीप, सिर्जना र उद्यमशीलतासँग जोडिएको ललितकला विषयको अध्यापन शहीद शुक्र मावि बागबजारले यस वर्षदेखि सुरु गरेको छ । आइतबार कक्षा सञ्चालन बारेमा जानकारी दिँदै विद्यालयले ‘ललितकला विषय अध्यापन शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम’ आयोजना ग¥यो । सो अवसरमा अग्रज कलाकार राधेश्याम मुल्मीले कला जानेको मानिसले सहजै रोजगारसँग जोडिन सक्ने बताए । उनले कलाका विविध आयाम र महत्वबारे चर्चा गर्दै ललितककला विषय सीप र सिर्जनासँग जोडिएकाले समाज र देशका लागि आवश्यक रहेको विचार व्यक्त गरे ।

मुल्मीले कला पढ्दै विभिन्न अवसरसँग जोडिन सकिने भएकाले यसको महत्व पछिल्लो समय निकै बढेर गएको सुनाए । उनले भने, ‘प्रत्यक्ष रोजगारीसँग जोडिएर कला विषय आएको छ । यसको मानिससँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएका विभिन्न दिनदैनिकीमा उपभोग गर्ने सामानमा पनि आवश्यकता रहेको हुन्छ । अर्थात् डिजाइनको आवश्यकता उत्पादन गरिएका सामानमा विशेष रहेको हुन्छ । कलाविनाको कुनै सामान नै हुँदैन । कलाकै कारण मानिसले त्यस्ता सामान राम्रो या नराम्रो भनेर छुट्टयाउन सक्छन् ।’ अग्रज कलाकार मुल्मीले कलाको प्रत्यक्ष प्रभावकै कारण विश्वबजारमा डिजाइनको महत्व पछिल्लो समय निकै बढेर गएको बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला विषयको अध्यापन सुरु गरेर विद्यालयले उदाहरणीय काम गरेको सुनाए । सीप र सिर्जनासँग जोडिएको यो विषयले विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने बताउँदै उनले भने, ‘कलाको प्रभाव संसारमा सबै चीजमा परेको छ । कलाविनाको संसार समृद्ध बन्न सक्दैन ।’ खनालले अहिले चित्रकला, मूर्तिकला तथा प्रायोगिक कलाको ११ कक्षामा अध्यापन सुरु गरेर विद्यालयले कलाको महत्वलाई स्थापित गर्दै सीपलाई बजारसम्म पु¥याउने काममा मद्दत गरेको सुनाए ।

सो कार्यक्रममा नेपाल व्यवसायिक कलाकार संघका महासचिव भोलानाथ पौड्यालले कलालाई उद्यमशीलतासँग जोडेर यसको महत्वलाई समाजमा स्थापित गर्ने लक्ष्यका साथ विद्यालयले कला अध्यापन गरेको बताए । उनले कलामार्फत नेपालको संस्कृति जर्गेना गर्ने तथा प्रत्यक्ष रुपमा उत्पादनमा जोडेर सहज ढंगले रोजीरोटीमा लाग्न सक्ने बनाउने उद्देश्य राखिएको विचार व्यक्त गरे । महासचिव पौड्णलले संघको प्राविधिक सहयोगमा विद्यालयमा कलाका विविध शिल्पगत विषयलाई समेत रोजगारीसँग जोडेर सिकाउने लक्ष्य राखिएको जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद खड्गीले व्यवसायिक कलाको केन्द्र बागबजारमा कलाको शिक्षण सुरु गरिएको बताए । उनले कला शिक्षामार्फत सीपलाई रोजगारीमा बदल्दै समाजका लागि दक्ष र सिर्जनशील नागरिक बनाउने विद्यालयको लक्ष्य रहेको धारणा व्यक्त गरे । यस्तै, कलाकार विष्णुप्रसाद श्रेष्ठले कलाशिक्षणको महत्वका बारेमा प्रकाश पार्दै शहीद शुक्र माविले ललितकला विषय अध्यापन सुरु गरेर राम्रो काम गरेको बताए । उनले कलाशिक्षालाई आमनागरिकको पहुँचमा पु¥याउन विद्यालयले सर्वसुलभ ढंगले कामको सुरुवात् गरेको भन्दै यसलाई प्रभावकारी रुपले लैजानु पर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले गुणात्मक शिक्षामार्फत देशका लागि आफूहरुले काम गर्ने भनाइ राखे । उनले कलाशिक्षाको आवश्यकता बोध गरेर यस वर्षदेखि कक्षा ११ मा ललितकला विषयको अध्यापन सुरु गरेको जानकारी दिए । उनले भने, ‘कला सीप र सिर्जनासँग जोडिएको विषय हो । यसले रोजगारसँगै संस्कृतिको जर्गेना र महत्वलाई समाजमा स्थापित गर्न मद्दत गर्ने विश्वासका साथ अध्यापन सुरु गरेका हौं ।’

सो कार्यक्रममा काठमाडौं महानगरपालिका बागबजारक्षेत्रका वडाध्यक्ष भाइराम खड्गी, नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष विष्णु सिग्देल, केन्द्रीय सदस्य विजय कार्की ढली, कलाकार श्रवणकुमार चौधरी, किरण मगर, विद्यालय व्यवस्थापन समिति सदस्य राजेश श्रेष्ठ, विद्यालयका सहप्रधानाध्यापक रोसन शाह, मावि इञ्चार्ज ज्ञान ब. अधिकारी शिक्षक शैलीसिंह राठौर, विजयाकुमारी ढकाल, शकुन्तला सुवेदी, सविना जिसी लगायतको उपस्थिति रहेको थियो ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय