एमालेको निष्कर्ष : सत्ता समीकरणमा आएको परिवर्तन जनतामा उत्साह जगाउन सकारात्मक

एमालेको निष्कर्ष : सत्ता समीकरणमा आएको परिवर्तन जनतामा उत्साह जगाउन सकारात्मक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योग्दान दिने निचोडमा पुगिएको बैठक पछि सञ्चारकर्मिहरुसँग बताए ।
 
महासचिव पोख्रेलले भने “आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ । त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट सकारात्मक योगदान गनुपर्छ भन्ने निष्कर्षमा हामी रहेका छौँ,”
 
पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाएर अगाडि लानुपर्ने बताए ।उनले भने “जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ । त्यसले अनुकूलता सिर्जना गरेको छ ।”
 
उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा एमाले लगायत गठबन्धन दलले राखेको बताए । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अन्य दललाई पनि आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।

एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय सातौं केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।

भव्य समारोह आयोजना गरेर पार्टी स्थापना दिवस मनाउने निर्णय भएको पनि पोखरेलले बताए।

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित भएको हो । संविधानसभा सदस्य समेत रहेका गुरुङको यही वैशाख २५ गते निधन भएको थियो । गुरुङको अन्त्येष्टि संस्कार आज हुने भएपछि कांग्रेसले शुक्रबार बिहान ८ः३० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको नेपाली कांग्रेस संसदीय दल सचिवालयले जानकारी दिएको छ ।

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।’’ प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको समेत बताए । उनले भने, ‘‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो। समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो।’’ कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले समेत सम्बोधन गरेका थिए ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी आज

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ। प्रदेश सरकारले पाएको विश्वासको मत पाएको सभामुखको घोषणाविरुद्ध नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ। गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए।  संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

लोकप्रिय