दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपालको जित

दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपालको जित

काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । यो सँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ ।

जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र कुशल मल्लले ३ ३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १ १ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले । नेपालले ओपनर आसिफ शेखलाई ११ रनमा गुमाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ तथा तेस्रो नम्बरका ब्याटर अनिल शाह १२ रनमा क्याच आउट भए ।

सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।

आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो ।

यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी २० सिरिज खेल्न जानेछ ।

प्रकाश दाहालको स्मृतिमा १२ लाख पुरस्कार राशीको अन्तरपालिका भलिबल हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ ।  समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् ।  प्रतियोगिताका लागि जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको छ । यस्तै, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।  प्रतियोगितामा प्रदेशका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिने छ ।  साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानाले जानकारी दिए ।  वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान आयोजकले छ ।  महाकाल माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकले बताएको छ ।

कुराँश च्याम्पियनसिपमा २ स्वर्ण, ३ रजतसहित नेपाल दोस्रो

काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो हुन सफल भएको छ । हिजो वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यस्तै, परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ । अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरे । दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको थियो।

सेमिफाइनलमै रोकियो नेपालः युएईसँग ६ विकेटले पराजित

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को सेमिफाइनलमा रोकिएको छ । टस हारेर व्याटिङ गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ गरेको युएईले १७ बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएपनि त्यो पर्याप्त भएन । त्यसअघि नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन मात्रै बनाउन सक्यो ।   नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन (तस्बिरहरु)

काठमाडौं। चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।

लोकप्रिय