लोकसंगित सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री

लोकसंगित सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताए । 

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए ।

“हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान, महत्त्व र कार्य हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ । विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।” 

हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गरे । उनले भने, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।”

लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिए । सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उनले  आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गरे ।
 

भरतपुर मेयर कप फुटबल लिगको तयारी पुरा

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको तयारी पुरा भएको छ ।  मेयर कपको सह आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तयारी पुरा भएको जानकारी दिएको हो । मेयर कप फुटबल भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको शुक्रबार भरतपुर ७ कृष्णपुरस्थित मिनी रंगशालामा भव्य कार्यक्रमका बीच उद्घाटन हुँदैछ । कृष्णपुरमा अस्थायी प्याराफिट पनि थप गरिएको छ ।     जेठ १९ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ ।  सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।   लिगको उद्घाटन खेलमा समूह ए का स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् । खेल दिउँसो दिउँसो ४ः३० बजे सुरु हुनेछ । कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । लोगो अनावरण तथा खेल सामग्री वितरण भरतपुर मेयर कप फुटबल लिगको लोगो अनावरण गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो अनावरण गरिएको हो । सोही कार्यक्रमकाबीच प्रतियोगितामा सहभागी हुने विद्याल्य तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजले महानगरपालिकासँग भएको सम्झौता अनुसार नै खेल सामग्री सहयोग गरेको हो । महानगर प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले संयुक्त रुपमा स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री हस्तान्तरण गरे ।  यस्तै भरतपुर महानगरपालिका र एफसी चितवनबीच पनि बुधवार सम्झौता भएको छ । एफसी चितवनले लिगमा सहभागी हुने खेलाडीहरुको बीमा गरिदिने सम्झौतामा उल्लेख छ ।    सो मेयर दाहालले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् । खेलाडि उत्पादनका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । यस्तै उनले आगामी वर्ष भलिवललगायत अन्य खेललाई पनि समेट्ने बताईन् ।  चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको उनको भनाइ थियो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनले विश्वास व्यक्त गरे ।        

जसपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं ।अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराह्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केही दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख २७ गते बिहीबार सन् २०२४ मे ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय