मेयर कप फुटबलको छनौट खेल शुक्रबार र शनिबार हुने

मेयर कप फुटबलको छनौट खेल शुक्रबार र शनिबार हुने

चितवन। प्रथम अन्तर स्कुल मेयर कप फुटबलको छनौट चरण शुक्रबार र शनिबार हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक भएको हो ।

प्रतियोगिताका लागि कुल ३९ विद्यालयले नाम दर्ता गराएका छन् । जसमध्ये ९ टोली बाइ पाउँदै लिग चरणका लागि छनौट भइसकेका छन् । तालिका अनुसार छनौट चरणमा ३० टोली सहभागी हुनेछन् । सामुदायिक विद्यालयबाट २४ टोली छनौट चरणमा सहभागी हुनेछन् । जसबाट १२ टोली लिगका लागि छनौट हुने सह-आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए ।

संस्थागत विद्यालयबाट सहभागी भएका १५ मध्ये ९ विद्यालय बाइ पाउँदै लिग चरणका लागि छनौट भएका छन् । बाँकी ६ टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गरेर तीन टोलीले लिगमा स्थान बनाउनेछन् । लिगका लागि सामुदायिक र संस्थागतबाट १२/१२ गरी २४ टोली छनौट हुनेछन् ।

छनौट चरणका खेलहरु अमर मावि पटिहानी, गौरीगञ्ज चौर र शारदानगर खेल मैदानमा हुनेछ । पहिलो चरण सम्पन्न भएपछि लिगका लागि २४ टोलीको खेल तालिका सार्वजनिक गरिने घलेले बताए । प्रतियोगिता बैशाख अन्तिम सातादेखि सुरु हुनेछ । लिग करिब दुई महिना चल्नेछ ।

भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला फुटबल संघको सह(आयोजनामा पहिलो पटक अन्तर विद्यालय फुटबल लिग हुन लागेको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।  

काठमाडौंका यी स्थानमा ३ बजेसम्म विद्युत बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार यी स्थानमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

ग्वार्कोमा आगलागी नियन्त्रणमा : एकै परिवारका पाँचजना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको एसपी सुवेदीले बताए ।

सिटिईभिटिमा आन्दोलनरत कर्मचारी र परिषद् कार्यालयबीच छ बुँदे सहमति

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कार्यालयमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी संगठन र परिषद् कार्यालयबीच सहमति भएको छ । परिषद् कार्यालय र नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रतिनिधिहरुबीच भएको छलफल पश्चात छ बुँदे सहमति भएको हो । कर्मचारीहरुले मिति २०८००/०९।२६ गते विभिन्न माग पेश गरेर आन्दोलन गरेका थिए ।  यी हुन् सहमतिका बुँदा १. पदपूर्तिको कार्यलाई यथाशीघ्र अघि बढाउने सम्बन्धमा परिषद व्यवस्थापनले आवश्यक प्रक्रिया पूरा गरी १५ दिनभित्र विज्ञापन प्रकाशन गरिनेछ । २.परिषद् सेवामा लामो समयसम्म एउटै कार्यालयरमहाशाखामा कार्यरत कर्मचारीहरुलाई आवश्यकताका आधारमा अन्य महाशाखाहरुमा सरुवा गर्ने कार्यको शुरुवात गरिएको र परिषद् कार्यालयबाट तयार गरिएको कर्मचारी सरुवा तथा जिम्मेवारी सम्बन्धी मापदण्ड २०८१ अनुसार कार्यहरु १० दिनभित्र शुरु गरी कार्यान्वयनमा ल्याउने । ३.सेवा करारमा कार्यरत कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सम्बन्धमा आगामी परिषद्‌को बैठकमा प्रस्ताव पेश गरिने र सेवा करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्बन्धमा गठित कार्यटोलीले दिएको सुझाव अनुरुप कार्य प्रक्रिया अगाडि बढाइने । ४.आगामी शैक्षिक सत्रबाट परिषदका आआंगिक शिक्षालयमा स्वास्थ्य तर्फका नर्सिङ्ग, मिडवाइफरी, फार्मेसी लगायतका कार्यक्रमहरु संचालनको लागि आ.व. २०८१/०८२ को परिषद्‌को बजेट निर्माणमा समावेश भई पेश भएको र शिक्षालयहरुमा नचलेका कार्यक्रमहरु बन्द गरी स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्नका लागि कार्यटोली बनाई असार मसान्तभित्र कार्य सम्पन्न गर्ने । ५. स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा पेश भएका प्रस्तावहरुका सम्बन्धमा सो महाशाखाले हालसम्म गरेका कार्यहरुको तालिका सहितको विवरण निर्देशक बैठकमा प्रस्तुत गर्ने र प्रस्तावहरुको दर्ता प्रक्रिया अनुसार कार्य सम्पन्न गर्ने । ६. नेपाल राष्ट्रिय कर्मचारी संगठनले जारी राखेका सबै कार्यक्रमहरु हाललाई स्थगन गर्ने ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी रोहबरमा गरिएको सहमतिपत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठन तर्फबाट नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रा.शि. तथा व्या.ता.परिषद्का अध्यक्ष तेजबहादुर खत्रीले र कार्यालयको तर्फबाट सदस्य सचिव महेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

सुनको मूल्य स्थिर, कति छ नेपाली बजारमा मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार कारोबार भएको थियो। त्यसैगरी,  आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय