नर्सिङ क्षेत्रका समस्या समाधन गर्न प्रधानमन्त्रीको निर्देशन

नर्सिङ क्षेत्रका समस्या समाधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन्।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिए । उनले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताए।

“वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री प्रचण्डले भने, “शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु।” प्रविधिको प्रयोगबाट आयोगले परीक्षा प्रणालीलाई थप विश्वसनीय बनाउन चाहेको आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले परीक्षा सञ्चालन, व्यवस्थापन, अनुगमन, नियमन, पठनपाठन लगायतका क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग अपरिहार्य हुँदै गएको बताए।

सबै मिलेर चिकित्सा शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधारहरू क्रमशः अगाडि बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा उपयुक्त मार्ग पहिल्याउनुपर्नेमा जोड दिए।

“चिकित्सा शिक्षा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यो मानव समुदायको स्वास्थ्यसँग जोडिएको र सबैको चासोको क्षेत्र हो, यस क्षेत्रको नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।”

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए। वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए । पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

आगलागी पिडीतलाई राहत उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले  आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।  यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

लोकप्रिय