रूद्रकली र खगेन्द्रप्रसाद गएनन् कतार

रूद्रकली र खगेन्द्रप्रसाद गएनन् कतार

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको उपहार स्वरुप लाने भनिएको दुई वटा हात्ती तत्काललाई कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती तत्काल कतार नजाने भएका हुन् ।

कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग ती हात्ती पठाउन सम्भव नभएको हो । 

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस)को अनुसूचीमा सूचीकृत छ। सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ। कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन। साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन 

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए। वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए । पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

आगलागी पिडीतलाई राहत उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले  आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।  यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

लोकप्रिय