अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

अमेरिकाको तल्लो सदनबाट युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पारित

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । अब यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ । प्रस्ताव केही दिनभित्रै सिनेटबाट पारित हुने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।

कंग्रेसमा लामो समयदेखि सहयोग प्रस्ताव अड्किएर बसेको थियो। सिनेटबाट पनि पारित भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरेर सहयोग विधेयकलाई कानुनको रूपमा मान्यता दिनेछन्।यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौंको ज्यान जोगाउन सकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकोमा खुसी व्यक्त गरेका छन्। विश्वस्तरमा लोकतन्त्र र स्वतन्त्रताको सधैं महत्त्व रहने र यसको रक्षाको लागि अमेरिका रहेसम्म यिनीहरू कहिल्यै असफल नहुने उनको भनाई छ । यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ ।गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेज पनि छुट्टाइएको छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे गण्डकी प्रदेशसभाको बैठक बस्न लागेको गण्डकी प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सरकारमा दाबी गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको हो। सर्वोच्च अदालतले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै सो रिट खारेज गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । संवैधानिक व्यवस्था अनुसार पक्ष विपक्षमा बराबर मत भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउने छन् ।

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए। वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए । पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

आगलागी पिडीतलाई राहत उपलब्ध गराउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्डले  आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पार्टी अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा(एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।  यसअघि प्रधानमन्त्री प्रचण्डले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमुना मा.वि.को नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

सहकारी समस्या समाधानकाे ठोस योजना ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताउँदै अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन्।   शनिबार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताएका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार  यसबारेमा विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको प्रचण्डको भनाई छ।   बैठकमा उनले भने–‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु। विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन।केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु।’ सरकारले महत्त्वपूर्ण विधेयक संसद्मा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरेका छन् ।   टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन्।संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरेका छन्।

लोकप्रिय