दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्छ

दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो। 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍यो भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए। 

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन बनाएको उनको भनाइ थियो। ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो। तर, देश अप्ठ्यारोमा पर्‍यो भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो। त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ।’ उनले भने
दलका नेता ओलीले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि निर्देशन दिए। उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्ने बताए। 

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ। हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन। देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ।’ 

उनले कांग्रेसको दृष्टि सरकारमा मात्र रहने गरेको चर्चा पनि गरे। ‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन्। उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ।’  

भरतपुर मेयर कप फुटबल लिगको तयारी पुरा

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको तयारी पुरा भएको छ ।  मेयर कपको सह आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तयारी पुरा भएको जानकारी दिएको हो । मेयर कप फुटबल भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको शुक्रबार भरतपुर ७ कृष्णपुरस्थित मिनी रंगशालामा भव्य कार्यक्रमका बीच उद्घाटन हुँदैछ । कृष्णपुरमा अस्थायी प्याराफिट पनि थप गरिएको छ ।     जेठ १९ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ ।  सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।   लिगको उद्घाटन खेलमा समूह ए का स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् । खेल दिउँसो दिउँसो ४ः३० बजे सुरु हुनेछ । कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । लोगो अनावरण तथा खेल सामग्री वितरण भरतपुर मेयर कप फुटबल लिगको लोगो अनावरण गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो अनावरण गरिएको हो । सोही कार्यक्रमकाबीच प्रतियोगितामा सहभागी हुने विद्याल्य तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजले महानगरपालिकासँग भएको सम्झौता अनुसार नै खेल सामग्री सहयोग गरेको हो । महानगर प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले संयुक्त रुपमा स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री हस्तान्तरण गरे ।  यस्तै भरतपुर महानगरपालिका र एफसी चितवनबीच पनि बुधवार सम्झौता भएको छ । एफसी चितवनले लिगमा सहभागी हुने खेलाडीहरुको बीमा गरिदिने सम्झौतामा उल्लेख छ ।    सो मेयर दाहालले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् । खेलाडि उत्पादनका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । यस्तै उनले आगामी वर्ष भलिवललगायत अन्य खेललाई पनि समेट्ने बताईन् ।  चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको उनको भनाइ थियो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनले विश्वास व्यक्त गरे ।        

जसपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं ।अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराह्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केही दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हेर्नुहोस्, बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।आज २०८१ साल वैशाख २७ गते बिहीबार सन् २०२४ मे ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय