आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन

काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ। 

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहि आएको छ। 

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका छन् ।  मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ । 
 

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ.श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर। वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।  क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।   भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा सक्रिय थिए । उनका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् । स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

कथाकार परशु प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् । सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।  त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

विश्वव्यापीकरणसँगै विश्वमञ्चमा नेपालीहरूको राम्रो प्रगति छ : प्रधानमन्त्री

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।शनिबार बिहान काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, 'विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा.सूर्य सुवेदी पनि हो।' उनले थपे 'प्राडा.सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ।' लोकार्पणमा प्राडा.सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे।

जनयुद्दकालीन डायरीहरुले सम्झायो युद्धका दिनहरु

नेपालगञ्ज । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा संबाद कार्यक्रम भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो सात वटा पुस्तकमाथि नेपालगञ्जमा संबाद कार्यक्रम बुधबार सम्पन्न भएको हो । सो क्रममा फेरि पनि जनयुद्धका दिनहरुको स्मरण भएको छ । प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा भएको सम्बाद कार्यक्रममा पत्रकार धिताललाई सम्मान पनि गरिएको छ ।  कार्यक्रममा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गरेका छन् ।  धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गरेका छन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गरेका छन् ।  यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गरेका छन् ।  नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा भएको कार्यक्रममा समिक्षकहरुले पत्रकार धितालले लेखेका पुस्तकले जनयुद्धको दस्तावेजको काम गरेको बताएका थिए । उनीहरुले यो डायरीहरुबाट सत्यकथामा आधारित उपन्यास बनाउन पनि सकिने बताए । समिक्षकहरुले कृति यथार्थपरक रहेको पनि बताए ।उनीहरुले एकैपटक यति धेरै डायरीहरु प्रकाशन गर्नु ऐतिहासिक काम भएको समेत बताए ।  समिक्षकहरुले जनयुद्धमा भएका वास्तविक घटनाक्रमहरुलाई जस्ताको तस्तै उतार्न पुस्तक सफल भएको टिप्पणी पनि गरे । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए । 

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

भन्ज्याङ र चौतारी

मलाई प्रकृति सँग बोल्न र खेल्न सिकाउने भन्ज्याङ अनि चौतारी आज एक्लै बसी सम्झनाको पानामा आफूले लेखेका ती स्वर्ण अक्षरहरु हेर्दै छन। मेरो स्पर्शमा सारा दुःख भुलाई मन्द मुस्कानमा सधैँ आफूलाई सजाई राख्ने भन्ज्याङ अनि चौतारी आज दुःखको बोध गरी करुडा ध्वनीमा मलाई डाक्दै छन्। बालापनमा मेरो मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ अनि चौतारी आज जीवन अनि मरणको दोसाधमा धट्पट्टी रहेका छन्। तर म कहीँ दुर बसी सम्झनाको पानामा रहेका ती स्वर्ण अक्षरहरुलाई मेटाउने कार्यमा तल्लिन छु विगतमा मलाई आफ्नो भनि आश्रय दिने अनि मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ र चौतारीलाई अब अनविदको यात्रामा पठाई आफू कृतिम वस्तुको भरिया बन्ने योजना बनाउनमा व्यस्त छु। यी सबै गर्नलाई आखिर म त्यहीँ मनुवा नै त हुँ जो आधुनिकताको दुनियाँमा संरचना बिहिन चैतन्यको आडमा खोक्रोपनाको प्रर्दशन गर्न र सारा मनुवहारुको मगजमा खोक्रोपनाको चैतन्यको जन्म गराउन दमनताको खेती गर्नमा नै त पोक्त छु।भन्ज्याङ र चौतारी    

‘कथा खरर, मन हरर‍…’ अब युट्युब च्यानलमा

काठमाडौंः  थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर’ सुरू गर्ने भएका छन् । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेका यी नाट्य संस्थाले ‘बालबालिका पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबुवा-हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’, थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ ।’ ‘कथा खरर, मन हरर’ बालकोसेली युट्युब च्यानलमा भोलिदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुने कार्यक्रमका सह-निर्माता प्रशुन सिन्धुलियले बताए । बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन पनि उनले अनुरोध गरे ।

आज नवरात्रीको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् । सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् । आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ ।

सुदूरपश्चिम गजल मञ्चको पाँचौ सम्मेलन सम्पन्न, अध्यक्षमा धीरज त्रिवेणी

कैलालीः सुदूरपश्चिम गजल मञ्च कैलालीको पाँचौ सम्मेलनले नयाँ कार्यसमिति बनाएको छ । धनगढीमा भएको सम्मेलनले धीरज त्रिवेणीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो । सम्मेलनले उपाध्यक्षमा रघुनाथ कडरिया, तारा पल्लवी, महासचिवमा तपेन्द्र भावातीत, सचिवमा दीपक क्षितिज, कोषाध्यक्षमा दीपिका विवशलाई चयन गरेको छ । यस्तै मञ्चको सदस्यमा सेत राज संगम, तिलक समर्पण, माधव घर्तीमगर, तीर्थराज भट्ट, चन्द्र थापा, भूपिसिंह धामी र दिवा प्रयासी चयन भएका छन् ।

१२ प्रकारका हुन्छन् श्राद्ध, अलग अलग समय र कार्यका लागि गरिन्छ पिण्डदान

एभरेष्ट डेस्कः हिन्दु धर्ममा पितृहरुलाई पिण्डदान गर्ने परम्परा अर्थात् श्राद्धको विशेष महत्व छ । हामीले सामान्तः एउटै प्रकारको श्राद्धका बारेमा थाहा पाएका हुन्छौं । त्यो हो पितृ पक्षका लागि गरिने श्राद्ध, मांगलिक कार् अघि गरिने श्राद्ध या कुण्डलिमा पितृदोष हटाउन गरिने श्राद्ध । तर हिन्दुहरुको पवित्र ग्रन्थ निर्णय सिन्धुमा १२ प्कारका श्राद्धहरुको वर्णन गरिएको छ । के के हुन त ? नित्य श्राद्धस् कुनैपनि व्यक्तिले अन्न, जल, कुश, पुयुष्प र फलबाट प्रतिदिन श्राद्ध गरेर आफ्ना पितृलाई प्रसन्न गर्नसक्छन् । नैमित्तक श्राद्ब यो श्राद्ध विशेष अवसरमा गरिन्छ । जस्तो कि पिता आदिको मृत्यु तिथिको दिन यिलाई एकोदिष्ट भनिन्छ । यसमा विश्वदेवको पुजागरिन्न । यिमा खाली एक पिण्डदान दिईन्छ । काम्य श्राद्ध कुनै कामना विशेषका लागि यो श्राद्ध गरिन्छ । जस्तोः पुत्र, धनादी आखि प्राप्तिका लागि । वृद्धि श्राद्ध यो श्राद्ध सौभाग्य वृद्धिका लागि गरिन्छ । । सपिण्डन श्राद्ध मृत व्यक्तिको १२ औं दिन पितृहरुलाइ मिलनका लागि यो गरिन्छ । यसलाई महिलाहरुले पनि गर्न सक्छन् । पार्वण श्राद्ध पिता, बाजेबज्यै, सपत्नीक र बज्यै आदिका लागि यो गरिन्छ । यिमा दुई विश्वदेवको पुजा हुन्छ । गोष्ठी श्राद्ध यो परिवारका सबै मानिसहरु एक ठाउँ जमा भएको बेला गरिन्छ । कर्माङ्ग श्राद्ध यो कुनै संस्कारको अवसरमा गरिन्छ । शुद्धयर्थ श्राद्ध यो श्राद्ध परिवारको शेद्धताका लागि गरिन्छ । तीर्थ श्राद्ध यो श्राद्ध तीर्थ जाँदा गरिन्छ । यात्रार्थ श्राद्ध यो श्राद्ध यात्राको सफलताका लागि गरिन्छ । पुष्टयर्थ श्राद्ध शरीरको स्वास्थ्य र सुख समृद्धिका लागित्रयोदश तिथि, मघा नक्षत्र, वर्षा ऋतु र आश्विन महिनाको कृष्ण पक्षमन यो श्राद्ध उत्तम मानिन्छ।

जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि, रोकियो थिमिको जात्रा

काठमाडौं । थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ । जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो । २५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन् । पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए । कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे । अर्को साल उनको बुबाको निधन भयो । जिब्रो छेडाउन सकेनन् । गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बाल बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए । यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन । यो समाचार कान्तिपुर दैनिकमा छ ।