संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच छलफल

काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबिच बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी छन् ।

त्यस्तै, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी छन् ।

प्रधानमन्त्रीले शनिबार बिहान पनि कांग्रेस नेताहरूसँग छलफल गरेका थिए । सो बैठक सकारात्मक रहेको कांग्रेस नेताहरुको प्रतिक्रिया थियो । त्यस्तै, सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

राजनीतिक गत्यावरोधले भोलिसम्ममा निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्। नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । “प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने “भोलिसम्म सदनको अवरोध हट्ने छ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।” सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए।   “सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने  र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेट बोक्नै पर्छ ।” कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनुपर्ने बताए।  “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ। लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरेका हुन् ।  

चितवनमा अब गर्मीमा पङ्खा रोकिदैन : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना विस्तार र स्तरोन्नतिसँगै चितवनवासीले पङ्खा चलाउन पाएको बताएकी छिन्‌ ।चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३र११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन क्रममा दाहालले चितवनमा विद्युत आपूर्तिमा रहेको समस्या समाधान भएको दाबी गरिन्‌ । विद्युत् आपूर्तिमा रहेको रहेको न्यून भोल्टेजका कारण उद्योग व्यवसाय र पङ्खा नचलेको भन्ने उपभोक्ताहरूबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन भएको दाहालले बताइन्‌।सबस्टेसन तथा प्रसारण लाइन उद्घाटन महानगरप्रमुख दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा गरेका हुन्‌। चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै दाहालले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्न पनि आग्रह गरिन्‌। भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन निर्माण भरतपुर महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए।चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्रजंग थापाले सबस्टेसन निर्माणबाट त्यस क्षेत्रबाट आउने विद्युत् आपूर्तिको गुनासो सम्बोधन र उद्योग कलकारखाना स्थापनाका लागि आधार तयार भएको बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा भरतपुर महानगरपालिका हुने विद्युत भागमा प्रक्षेपण गरी चौबीसै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको जानकारी दिए । भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनले बताए । देवनगर सबस्टेसनबाट नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिका ५, ६,८, ९,१३,१४,१५,२२ र २३ नम्बर वडाहरुमा विद्युत् प्रवाह गरेको छ । सबस्टेसनमा २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको जसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी,सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ। गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरू निकालिएका छन्। देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गितानगर, पटिहानी र सीतामाई क्षेत्रका उपभोक्ताले ब्यहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको प्राधिकरणको दाबी छ। नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो। गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब १० करोड रुपैयाँ रहेको आयोजना निर्देशक÷संयोजक अच्युत घिमिरेले जानकारी दिए । सबस्टेसन तयार भएतापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो । कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानुपर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको प्राधिकरणले जनाएको छ ।

कांग्रेसले भन्यो -'समिति गठन गरी निकास दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ'

काठमाडौँ। सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । रातोपाटीसँग कुराकानी गर्दै लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ। राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यसबारे थप छलफल हुने बताए। लेखकका अनुसार आजको बैठक धेरै लामो समय बसेन । बैठक करिब आधा घण्टा मात्र बसेको थियो। बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए। त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए। कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।

अवरुद्ध संसद् खुलाउने प्रयास : सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे हुने छलफल अवरुद्ध सदन खुलाउने विषयमा केन्द्रित हुने सभामुखको सचिवालयले जनाएको छ।  आजै समय व्यवस्थापन भए सभामुख घिमिरेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसको अवरोधका कारण लगातार संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सदन खुलाउने पहल गर्दै आएका छन् ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने कांग्रेसले बैठक अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ । 

गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको हो : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताएका हुन् । उनले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनेलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए। सांसद महतले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताए। उनले सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ । ‘गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ। त्यसो हुनाले छानबिनको दायरामा सबै आउनुप¥यो उहाँ लगायत। उहाँको पनि आउनुप¥यो। जति पनि सहकारी पीडित छन् त्यसको पनि छानबिन गर्नुस्।यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरि पनि राखेको छ। अब त्यो विषय पनि संसदीय छानबिन समितिले नै हेरोस्। रविजी शक्तिमा पनि हुनुहुन्छ।जिम्मेवारीमा पनि हुनुहुन्छ। त्यसकारण यो छानबिन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ। त्यसो हुनाले हामीले संसदीय छानबिन समितिको माग ग¥यौँ। होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो। त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुप¥यो।’ सांसद महतले भने। सांसद महतले गिरिबन्धु टि-स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै काँग्रेसको कुनै संलग्नता नरहेको जिकिर गरे। उनले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताए।

कांग्रेसको कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन नसकेको बताएका छन् । शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले संसदीय समिति गठनका लागि टिओआरमा सहमति जुटिसकेको अवस्था कांग्रेसले एकपक्षीय रूपमा विभिन्न सर्तहरु थपेर पठाएको आरोप लगाए ।  उनले आफूहरूले सदनमा जवाफ दिन पाउनुपर्ने र सबै समस्याको एकमुष्ट समाधान खोज्नुपर्ने रास्वपाको अडान रहेको बताए ।  समिति गठनका लागि टिओआरमा आफ्ना नेताहरू समेत सहभागी भएको अवस्थामा रास्वपा संसदीय समितिका लागि तयार छैन भनेर भन्न नमिल्ने उनको भनाइ छ ।   सांसद झाले विगतको ३४ वर्षमा कांग्रेसले के के गर्‍यो भन्ने सबै जानकारी रहेको भन्दै रास्वपामाथि लागेको दाग राजनीतिक विषय नभएको बताए । 

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । जेठ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका पछिल्ला निर्णयको बारेमा जानकारी दिइन् । हेर्नुहोस् यस्ता छन् निर्णय 

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरी स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो। सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ।  प्रतिनिधिसभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।  गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नजुट्दा आजको बैठक पनि प्रभावित भएको हो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बेलुका ६ बजे कांग्रेस नेताहरुलाई बोलाएका हुन् । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सो विषयमा सत्ता पक्ष र विपक्षी कांग्रेसबीच सहमति हुन सकेको छैन्। यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ । यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो।शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिका माथि समेत प्रश्न उठाएको छ।

कांग्रेसले उत्ताउलोपन देखायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन् । उनले आफू बसेको ठाउँमा कांग्रेस सांसदहरू आएर अनेक अपशब्दहरू बोलेको र असभ्य व्यवहार देखाएको आरोप लगाए।उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे । बिहीबारको प्रतिनिधि सभा बैठकमा धकेलाधकेल भएको थियो ।कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको हो ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध , जेठ ६ गतेसम्मकालागि बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदहरूले सभा अवरुद्ध गरेका हुन् । बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रियाहरू अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे । उनले समस्या राष्ट्रियसभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गरे । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरू समेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेगरी स्थगित भएको छ । 

विपक्षीको संयुक्त बैठक : सभामुखलाई चेतावनी- सदनमा जबर्जस्ती नहोस् !

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुको बैठकपछि सभामुखलाई भेटेर यस्तो ध्यानाकर्षण गराइएको थियो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार वेल विपक्षको भएको र प्रतिपक्षले आवाज उठाउँदा र माग राख्दा सदनमा जबर्जस्ती सदन चलाउने काम हुनुहुँदैन भनेर सभामुखलाई भनिएको छ । उनका अनुसार हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ । विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरुसँगको छलफलमा छन् ।

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।  उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ ।  नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ । रासस

तीन सिडिओको सरुवा तथा पदस्थापन

काठमाडौँ ।सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ। गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्माको प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्ला प्रशासन कार्यालय पर्वत र सहसचिव नेत्र प्रसाद सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ । यसैगरी, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ। कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्। साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ। त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ। नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।