संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन्।

साथै, कांग्रेसले सहकारीको रकम ठगी गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी समेत दिएको छ।

त्यसैगरी कांग्रेसले बिहिबार संसद्‌मा भएको घटनाको जिम्मेवारी सभामुखको भएको निष्कर्ष निकालेको छ। सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित कार्य गरेको कांग्रेसले आरोप लगाएको छ। कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रह समेत गरेको छ।

नेता लेखकले बिहीबार प्रतिपक्ष संसदमा उभिएको बेला सत्ता पक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरीतको गतिविधि भएको बताए।

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभा बैठक नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला अचानक सत्तापक्षले विश्वासको मत लिने भएको हो। गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहानलाई संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।  कांग्रेसले शुक्रबार बिहान ८ः ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‍मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्को अवरोध जारी राखेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजे बैठक बस्नेगरी स्थगित गरिएको थियो।  बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ।  हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो।सत्तापक्षसँग प्रतिनिधिसभा बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भएपछि गत चैत ६ गतेदेखि गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा रहेको संलग्नता छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको कांग्रेस र सत्तापक्षबीचको दूरी झन् बढेर गएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संंसद् अवरोध गर्दै आएको छ।सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए। यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।  पछिल्लो समय संसद्को विवादमा दलहरूबीच सहमति हुन नसकेपछि यसले झनै उग्र रूप लिन लागेको छ । 

रोकियो लाइसेन्सको ट्रायल, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आजबाट ट्रायल रोकिएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र राधेराधे भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिल, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र एकान्तकुनाका ट्रायल सेन्टरहरुमा ट्रायल रोकिएको हो ।रोकिएको ट्रायल कहिले खुल्छ भन्नेबारे भने अनिश्चित रहेको छ । यातायात व्यवस्था कार्यालयले आजबाट एक्कासी कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले हैरानी पाएका छन् । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले आज अबेर सूचना निकालेका थिए । उक्त सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट परिएको छैन् । राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेर र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते निर्देशन जारी गरेको थियो । सो निर्देशनमा काठमांडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु संचालनगर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको भनेको छ। साथै, टोकन र मेडिकलको नाममा मनोमानी शुल्क लिएको भन्ने उजुरी आएको बताएको छ । ट्रायल सेन्टरहरुलाई बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नियमन गर्ने हो । सूचनामा ट्रायल कहिले खुल्छ भन्ने स्पष्ट नभएको भए पनि मन्त्रालयले आइतबारसम्म राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने बताइएको छ ।

प्रतिनिधि सभामा धकेलाधकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख घिमिरेले नाराबाजीमै राष्ट्रपति कार्यालयको पत्र पढ्दै कार्यसूचीमा प्रवेश गरेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको हो। सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधनका निम्ति बोलाएपछि आक्रमक बनेका विपक्षी कांग्रेसका सांसदहरुले एमाले अध्यक्ष केपी ओली, एमाले प्रमुख सचेतक महेश बर्तौला लगायतलाई धकेलेका थिए। ओली लगायत एमाले नेताहरु रविलाई रोष्ट्रमसम्म जाने बाटो बनाउन अघि सरेका थिए । कांग्रेसका उपसभापति तथा पूर्व मन्त्री धनराज गुरुङलगायतले लामिछानेलाई छेकेरा बाटो बन्द गरे।   सो लगत्तै सभामुख देवराज घिमिरेले संसद्को आजको बेठक स्थगित भएको घोषणा गरेका छन् ।

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ । डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।  डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ  : अध्यक्ष ओली

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संवर्द्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन(आश्रितको ३१ औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए। आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गरे। अध्यक्ष ओलीले भने, “त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने हुनुपर्छ, जसबाट राष्ट्रिय हित संवर्द्धन, सुशासन र तीव्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नाका साथै गरिबी अन्त्य गर्न सकियोस् ।’’ सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद दिवङ्गत नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन(आश्रितका सपना थप पूरा हुने आशा व्यक्त गरे। आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिद्ध्याउन लागि परेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछि लागेकाले विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि गरेको आरोप लगाए। उनले भने, “हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ती सबै पराजित गरियो । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नु परेको छ ।’’ देशमा प्रतिगमन हुँदा वा नाकाबन्दीको अप्ठ्यारो परिस्थितिमा पनि आफूहरूले घुँडा नटेकेको स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाइमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गरे। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू र आश्रितकी धर्मपत्नी माया ज्ञवालीको उपस्थिति थियो । रासस 

कांग्रेसले भन्यो– 'सरकार रबिलाई जोगाउन लाग्यो, सदन चल्दैन'

काठमाडौं । सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयास स्वरुप छलफल गरिरहेका बेला आज संसद्को अवरोध खोल्ने चर्चाकाबीच कांग्रेसले उक्त धारणा सार्वजनिक गरेको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए। उनले सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ भन्दै एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम जोगाउन लागेको समेत आरोप लगाए। आज संसद् खुलाउनका लागि डाकिएको बैठकमा सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने कांग्रेसले अडान राखेको थियो। सत्ता पक्षले भने कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएको छ । आज भएको सहमति प्रयासमा यहि विषयमा कुरा नमिलेपछि संसद् सुचारु अनिश्चित भएको छ ।

यस्ता छन्, आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय

काठमाडौँ । सरकारले आज बसेको बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो । ती निर्णय मध्ये आज प्रमुख निर्णय सार्वजनिक गरिएको छ । संवत २०८१ साल जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनको लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने। २. नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा  लोकनाथ पौडेललाई बढुवा गर्ने । ३. नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा  राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने । ४. नीति तथा अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा  प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने । ५. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने ।

मन्त्रिपरिषद् बैठक : दुई जना सहसचिव सचिवमा बढुवा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गरेको छ ।त्यसैगरी कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए । 

एकीकृत समाजवादीको बैठकले पारित गर्यो १८ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले इजरायलमा अध्ययन गर्न गएका विपीन जोशीलाई सकुशल फिर्ताको पहल गर्न सरकारसँग माग गरेको छ। आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो।  त्यस्तै, बैठकले रुसी सेनामा भर्ती भएका युवालाई स्वदेश फिर्ता गर्न पनि माग गरेको छ । “यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैरकानुनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गर्दछ,” बैठकले पारित गरेको १८ बुँदे प्रस्तावमा उल्लेख छ ।  यस्ता छन् बैठकले पारित गरेको प्रस्ताव

संसद् खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीलाई बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए।  तर आज (बिहीबार) शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको हो।गृहमन्त्रीले बोलेपछि आफूहरूले बोल्ने सांसद खतिवडाले बताए। अन्य कार्यसूचीमा पनि अघि बढाउने दिने नदिने भन्नेबारे भने गृहमन्त्रीको तर्क सुनेपछि अवस्था हेरेर निर्णय हुने पनि कांग्रेस सांसद खतिवडाले बताए।    योसँगै अब अपरान्ह ४ बजेका लागि सरेको प्रतिनिधिसभा बैठक चल्ने भएको छ। दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो। 

सदनको अवरोध हटाउने प्रयास : छलफलमा शीर्ष नेताहरू

काठमाडौं । संसद्‍मा जारी अवरोध हटाउन शीर्ष नेताहरू अन्तिम कसरतमा जुटेका छन्। बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलहरूबीच सदनको अवरोध हटाउनेबारे छलफल भइरहेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै सदन अवरोध गर्दै आएको छ। तर संसदीय छानबिनका लागि सत्तारूढ दलहरू तयार नहुँदा सदन चल्न सकेको छैन।  जारी छलफललाई निष्कर्षमा पुर्याउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन्। उनले सहमति हुने चरणमा छलफल अघि बढेकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयासका लागि ४ बजेका लागि सार्न सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर भनेका छन् । सोही अनुसार संसद् बैठक सरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली काँग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच भएको विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरे। काँग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिएका थिए। लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे। त्यसपछि काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गए ।सत्ता पक्षका सांसदहरु मात्र बाँकी रहेको बैठकमा सभामुखले मतदान प्रक्रिया पूरा गराए। विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएका सभामुख भण्डारीले जानकारी गराएका छन् ।